धरान। धरानलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न तथा यहाँ पर्यटकको आकर्षण बढाउन भन्दै २३ वर्ष अगाडि निमार्ण थालिएको सप्तरंगी पार्क जीर्ण बन्दै गएको छ।
धरानको पर्यटन क्षेत्रलाई टेवा पुर्याउने उद्देश्यले २३ वर्ष अगाडि निमार्ण थालिएको पार्क अहिले स्थानीय सरकारको बेवास्ताका कारण जीर्ण बन्दै गएको हो।
धरान उपमहानगरपालिकाले संरक्षण गर्न नसक्दा अहिले पार्क झाडीमा परिणत हुनुका साथै लागूपदार्थ दुर्व्यसनीको अखडा बन्दै गएको छ। केही समय अघिसम्म यहाँ घुम्न तथा वनभोज खान आन्तिरक पर्यटकहरू आउने गर्दथे। तर, अहिले पार्कको संरचना जीर्ण बन्दै गएपछि यहाँ पर्यटकहरूको आगमन बन्द भएसँगै पार्क झाडीमा परिणत भएको छ।
पार्क जीर्ण बनेपछि यहाँ घुम्न आउने पर्यटक निराश भएर फर्कने गरेको पार्कका कर्मचारी सीताराम राईले बताए।
२३ वर्षअघि बीडीआर नामक संस्थासँग सहकार्य गरेर ६२ बिगाहा जग्गामा सुविधासम्पन्न पार्क (बाल उद्यानसहित) निर्माण गर्ने, खेलकुदका गतिविधि सञ्चालन गर्ने, पर्यटन प्रवर्द्धन गर्नेलगायतको उद्देश्यले साविक धरान नगरपालिकाले संरचना निर्माण थालेको थियो। तत्कालीन अवस्थामा नगरपालिकाले करीब ३ करोड रुपैयाँ लगानी गरेर पार्कको काम शुरू गरेको थियो।
तर बजेटको सुनिश्चितता हुन नसक्दा थप निर्माण हुन सकेको छैन भने बनेका संरचना समेत जीर्ण बनेका छन्। साथै पार्कको जमिन समेत अतिक्रमण हुन थालेको छ। ६२ बिगाहा क्षेत्रफलमा फैलिएको पार्कको जमीन अतिक्रमण हुँदै गएपछि अहिले ९ बिगाहा क्षेत्रफलमा मात्र घेराबारा लगाइएको छ।
कर्मचारी राईले भने, ‘पार्कको जमीन अतिक्रमण हुन थालेपछि त्यसलाई रोक्न घेराबारा गरिएको थियो, त्यही घेराबारा पनि भत्काएर दुव्र्यसनीहरूले अखडा बनाएका छन्।’ २०५५ सालमा पार्क निर्माणको सम्झौता भए पनि यसको काम भने २०६७ सालदेखि शुरू गरिएको थियो।
नेतृत्वको रुचि नभएकाकारण पार्क निमार्णको काम अघि बढ्न नसकेको धरान उपमहानगरपालिकाका १७ वडाध्यक्ष सूर्यबाहदुर ९मनोज० भट्टराई बताउँछन्।
विभिन्न जातजातिहरूलाई जग्गा वर्गिकरण गरेर त्यहाँ उनीहरूको संरचना बनाउन दिने र बहु सांस्कृतिक पार्कका रुपमा यसलाई अघि बढाउने मेयर हर्क राज राईले बताएको विषयमा आपत्ति जनाउँदै उनले त्यसरी जातका नाममा जग्गा वर्गीकरण गर्न नहुने बताए।
विभिन्न तहका सरकारहरुसँग समन्वय गरेर पुरानै योजना अनुसार पार्क निमार्णलाई अगाडि बढाउने पर्ने उनको तर्क रहेको छ।
वडाध्यक्ष भट्टराईले भने, ‘हामी सँग संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार छ, उनिहरुसँग सहकार्य गरेर पहिला बनेको डिपिआर अनुसार नै निमार्ण कार्य अगाडि बढाउनु पर्छ, बरु त्यसका लागि हाम्रो आम्दानीबाट बजेट छुट्टयाउनु पर्छ।’
त्यस्तै, विगतमा नै पर्यटकीय पार्क रुपमा अगाडि सारेर संरचनाहरु निमार्ण तथा डिपिआर सम्पन्न भइसकेकाले त्यस अनुसार नै यसलाई अगाडी बढाइनु पर्ने नगर कार्यपालिकाका सदस्य दिनेश गजमेर बताउँछन्।
उनले भने, ‘विजयपुरमा यस अघि नै बहुसास्कृतिक पार्क निमार्ण पक्रिया अगाडी बढाइएको छ त्यो पनि लथालिङ्ग अवस्थामा रहेको छ, त्यसलाई पनि अगाडी बढाउनु पर्ने र सप्तरंगी पार्कलाई पर्यटकीय पार्ककको रुपमा अगाडि बढाउनु पर्छ।’
राजनीतिक खिचातानी र स्वार्थका कारण पार्क निर्माण हुन नसकेको स्थानीयवासी बताउँछन्। स्थानीय सुरज राईले विकासका नाममा भागबण्डा नमिल्दा पार्क निर्माण प्राथमिकतामा पर्न नसकेको आरोप लगाए। ‘धरानको गौरवको आयोजनाअन्तर्गत रहेको सप्तरंगी पार्क निर्माणमा ढिलाइ भएको छ, बनिसकेका संरचना समेत संरक्षण हुन सकेका छैनन्,’ उनले भने, ‘यसमा उपमहानगरपालिकाले ध्यान दिनुपर्छ, बाँकी संरचना पनि निर्माण गरेर पर्यटकीय गन्तव्य बनाउनुपर्छ।’