काठमाडौं। आगामी फाल्गुन २७ गते भोजपुरमा ‘५ औं मुन्दुम ट्रेल रेस’ आयोजना हुने भएको छ। पूर्वको मुन्दुम ट्रेललाई प्रवर्दन गर्ने उद्देश्यले वर्षेनी ट्रेल रेस आयोजना गरिदै आएको छ।
नेपाल सरकारको उत्कृष्ट सय गन्तव्य मुन्दुम ट्रेललाई विदेशी र स्वदेशि पर्यटकमाझ प्रवर्द्धन गर्नलाई ट्रेल रेस आयोजना गर्न लागिएको हो। रिमाचुङ एजुकेसन एण्ड स्पोर्टस एकेडेमीका अध्यक्ष पाविहाङ राईले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन।
पुरुष तर्फको ट्रेल रेस विजेतालाई नगद ३५ हजार रूपैयाँ, दोस्रोलाई २५ हजार रूपैयाँ, तेस्रोलाई १५ हजार, चौथोलाई ५ हजार र पाँचौलाई ५ हजार रूपैयाँ पुरस्कार दिइनेछ भने महिला तर्फका विजेताहरुलाई पनि समान पुरस्कार राशिले सम्मान गरिने आयोजकले जनाएको छ। यस वर्षको रेसमा १६ देखि ४० र ४० वर्ष माथिका दुईटा ईभेन्ट राखिएको छ। ४० वर्षमाथिको पहिलो विजेतालाई १० हजार, दोस्रोलाई ८ हजार तेस्रोलाई र ५ हजार नगद पुरस्कार राखिएको छ।
५५ किमी लामो दुरी रहेको दौड भोजपुरको बागखोर (२६२२ मि) बाट सुरू भएर ३१०० मिटरको टेम्के डाडा हुँदै खोटाङको तावाभञ्ज्याङ (१८०० मिटर) मा पुगेर टुंगिनेछ।
मुन्दुम ट्रेल पदमार्ग प्रवर्द्धनका लागि भोजपुरमा दौड प्रतियोगिता आयोजना गरिएको स्पोर्टस एकेडेमीका पविहाङ राईले बताए।
केही वर्षअघि कन्सेप्ट नेपालको टेक्निकल सहयोगमा ‘मैयुङ–टेम्के–साल्पा –सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले पूर्वमा पहिचान गरेको मुन्दुम पदमार्ग सुरू गरिएको थियो। पदमार्गको प्रवर्द्धन नेपाल पर्यटन वोर्डले गरेको थियो भने टेम्के मैयुङ गाउँपालिकाको सहयोग रहेको थियो।
पदमार्गको पूर्वाधार विकासमा प्रदेश सरकार र स्वीस सरकारको विकास सहयोग एजेन्सीले गरेका हुन्।
पदमार्गमा किराती जीवनशैली, दूधकुण्ड (नुम्बुर) देखि सगरमाथा, मकालु, कुम्भकर्णहुँदै कञ्चनजंघालगायत हिमालको लामो लर्कन देखिन्छ।
गत वर्ष चौथौ ट्रेल रेसमा देशका विभिन्न भागबाट १८३ जना धावकले भाग लिएका थिए भने यो वर्ष करिव २०० जनाको सहभागी हुने आयोजकले वताएको छ।
मुन्दुम ट्रेल रेसलाई रिमाचुङ एजुकेसन एण्ड स्पोर्टस एकेडेमीको आयोजनामा भोजपुरले प्रतियोगिता आयोजनामा टेम्के मैयुङ गाउँपालिकाको सहयोग रहनेछ। त्यस्तै ट्रेल रेस अन्तर्गत पर्ने भोजपुरका षडानन्द नगरपालिका, साकेला गाउँपालिका, साल्पासिलिछो गाउँपालिका, भोजपुर नगरपालिका लगायत खोटाङको केपिलासगढी गाउँपालिकाको समेत सहयोग गर्ने आयोजकले वताए।