गतसाता देशभर नै भारी हिमपात भयो । उपत्यकाका अग्ला–अग्ला चन्द्रागिरी, फूल्चोकीलगायत डाँडामा समेत हिउँ परेको थियो । कहिल्यै हिउँसँग खेल्न नपाएका उपत्यकावासीका लागि यो हिउँसँग खेल्ने उपयुक्त मौसम पनि हो । तर, उपत्यकाका अग्ला डाँडाको हिउँ पग्लिइसकेको छ ।
हिउँसँग खेल्ने, रमाइलो गर्ने उपत्यकावासीको रहर भने अझै मरेको छैन । त्यसैले उपत्यकावासीका लागि हिउँ खेल्न जाने नजिकको गन्तव्य दोलखाको कालिञ्चोक बनेको छ । उसो त कालिञ्चोक धार्मिक महत्त्व बोकेको ठाउँसमेत भएका कारण धेरैको पहिलो रोजाइमा कालिञ्चोक पर्ने गरेको हो ।
कालिञ्चोक भगवती मन्दिरको दर्शनसँगै हिउँ पनि खेल्न पाइने भएकाले धेरैको रोजाइमा दोलखाको कालिञ्चोक पर्ने गरेको कालिञ्चोक कुरी बजारका होटल व्यवसायी ग्याल्बो तामाङको भनाइ छ ।
‘हिउँ परेको मौसममा कुरी बजारमा बस्नलाई समेत ठाउँ नपुग्ने गरेर स्थानीयदेखि बाह्य पर्यटक आउने गरेका छन्,’ ग्याल्बोले थपे, ‘भ्रमण वर्ष सन् २०२० सुरुवातसँगै हिउँ खेल्न र मन्दिरको दर्शन गर्न भन्दै कालिञ्चोकमा हजारौं पर्यटक आइसकेका छन् ।’
कसरी पुग्ने कालिञ्चोक
काठमाडौंदेखि दोलखाको दूरी १ सय ८२ किलोमिटर छ । दोलखाको सदरमुकाम चरिकोटबाट कालिञ्चोक जान थप १७ किलोमिटरको दूरी पूरा गर्नुपर्ने हुन्छ ।
कालिञ्चोक समद्री सतहदेखि ३ हजार ८ सय ४२ मिटरको उचाइमा छ । त्यहीँ कालिञ्चोक भगवती मन्दिर अवस्थित छ।
कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती गरी सात भगवती दिदी बहिनीमध्ये एक हुन् भन्ने किम्बदन्ती छ । काठमाडौंबाट चरिकोटसम्म सार्वजनिक सवारी चढेर ४ सय ५० रुपैयाँमा दोलखा पुग्न सकिन्छ ।
चरिकोटकबाट कालिञ्चोक जान अर्को लोकल जीप समातेर जानुपर्ने हुन्छ । चरिकोटदेखि कालिञ्चोकको कुरी बजारसम्म कच्ची मोटरबाटो छ, जुन बाटोमा बोलेरो र मोटरसाइकल चलाउन सकिन्छ । यस बाटोमा नियमित सार्वजनिक सवारीसाधन भने उपलब्ध छैन ।
सबै तस्बिरहरू निकेश फोटोग्राफी