काठमाडौं। चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र जङ्गल सफारीका लागि नवलपुरको अमलटारीबाट निकुञ्ज प्रवेश र सफारीको अनुमति खुलाइएको छ।
सफारीको अनुमति खुलाएसँगै यहाँ आउने जङ्गल सफारीमा जाने पर्यटकहरुको संख्यामा वृद्धि भएको हाे ।
यसअघि नवलपुरको अमलटारी क्षेत्रबाट टाइगर र थारु भिलेज होटलले मात्रै जङ्गल सफारीको निकुञ्ज प्रवेशको अनुमति पाएका थिए। अन्य स्थानीय होटल र होमस्टेले नजिकको सामुदायिक वनमा मात्रै सफारी गराउन पाउने नियम रहेको थियो।
अन्य होटल व्यवसायी र होमस्टेलाई निकुञ्जभित्र जङ्गल सफारीको अनुमति दिएसँगै एक महिनाको अवधिमा सात सय ७५ नेपाली र दुई सय विदेशीले निकुञ्जभित्र जङ्गल सफारी गरेको नवलपुर पर्यटन समितिका सचिव धनीराम गुरौले जानकारी दिए।
उनका अनुसार निकुञ्जभित्र जङ्गल सफारीका लागि पश्चिम सेक्टरअन्तर्गत रजहरको कुजौली रेन्जपोस्ट र अमलटारीबाट निकुञ्ज प्रवेश गर्ने अनुमति निकुञ्ज प्रशासनले दिएको छ। कुजौलीबाट हरेक दिन दुई जिप र अमलटारीबाट पाँच जिपमा निकुञ्ज प्रवेश गर्न पाउने व्यवस्था छ। निकुञ्जले तोकेकै जिपबाट मात्र जङ्गल सफारी जान पाइन्छ। एउटा जिपमा एक पटकमा १२ जनाले सफारी गर्न सकिने र कम्तीमा एक नेचर गाइड लैजानुपर्ने व्यवस्था छ। एक जना गाइडले रु एक हजार पाँच सयदेखि तीन सय हजारसम्म शुल्क लिने गरेका छन्।
निकुञ्ज प्रवेशका लागि नेपालीले रु एक सय ५०, सार्क क्षेत्रका पर्यटकले रु एक हजार र अन्य देशका पर्यटकले रु दुई हजार शुल्क तिर्नुपर्छ। यो क्षेत्रबाट निकुञ्ज प्रवेश गर्ने हरेक जिपले एक पटक रु पाँच हजार शुल्क तिर्नुपर्छ। सो शुल्क तिरेपछि हरेक जिप प्रवेश गराएबापत निकुञ्जलाई थप रु पाँच हजार शुल्क तिर्नुपर्ने नियम छ।
यहाँको नारायणी नदी फराकिलो क्षेत्रमा फैलिएका कारण डुङ्गा चढेर निकुञ्ज आसपासको दृश्य अवलोकन गर्ने र नदीका चरा हेर्ने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको सचिव गुरौले बताए। पर्यटकको सङ्ख्या बढ्दै गएपछि रोजगारी पनि बढ्दै गएको र निकुञ्ज प्रवेश गर्दा पैदलयात्रीले अनिवार्य दुई नेचर गाइड लैजानुपर्ने भएकाले स्थानीय तहमा रोजगारी बढेको सचिव गुरौको भनाइ छ।