स्याङ्जा। दक्षिण एसियाको पहिलो नमूना सामुदायिक होमस्टे शिरूबारीले रजत जयन्ती मनाउने तयारी गरेको छ। पहिलो नमूना होमस्टे भएकाले पनि यस गाउँको सुन्दर तस्बिर हुलाक टिकटमा समेत अङ्कित छ।
वि.सं. २०५४ सालमा स्थापना भएको ग्रामीण पर्यटकीय गाउँ सिरुबारी होमस्टेले यहि फागुन ५ गते र ६ गते २५ औँ वर्षगाँठको उपलक्ष्यमा रजत वर्ष मनाउने तयारी गरेको शिरुबारी पर्यटन विकास समितिका अध्यक्ष जितेन्द्र गुरुङले बताए।
रजत जयन्तीमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुधन किराती, गण्डकी प्रदेश सरकारका मन्त्रीलगायत रजत वर्षमा आमन्त्रण गरिएको पर्यटन समितिले जानकारी दिएको छ।
स्वदेशी तथा विदेशी पाहुनालाई गाउँमा भित्राएर गुरुङ सभ्यता तथा संस्कृति विश्वभर प्रचारप्रसार गर्नुको साथै गाउँलाई आर्थिकरुपमा समृद्ध बनाउने सोचमा क्याप्टेन स्व. रुद्रमान गुरुङले स्थापना गरेका थिए।
२०३५ सालमा होमस्टेको अवधाारण अगाडि सार्नुभएका स्व. गुरुङले सबै पूर्वाधार बनाएर १९ वर्षपछि विधिवत रुपमा सञ्चालनमा आएको थियो।
प्रकृतिको सुन्दरताले भरिएको सिरुबारी समुद्र सतहबाट एक हजार छ सय मिटरको उचाइमा रहेको भने पोखराबाट सिद्धार्थ राजमार्ग हँुदै २० किलोमिटर दक्षिण नागडाडाँबाट १५ किलोमिटर पश्चिमतिर यात्रा गरेपछि पुगिन्छ।
पवित्र तीर्थस्थल डहरे देउराली पहाड र स्याङ्जा जिल्लाकै अग्लो थुम्रो पहाडको काखमा सिबरुबारी गाउँ रहेको छ भने थुम्रोमा पर्यटक भित्राउनका लागि भ्यूटावर पनि निर्माण गरिएको छ।
टावरबाट अन्नपूर्ण, धवलागिरि, माछापुच्छ्रे जस्ता हिमाल र पोखरा, पाल्पाको श्रीनगर डाँडाको मनमोहक दृश्य देखिने गर्दछ। यहाँ पाहुना वा लाहुरे घर बिदामा आउँदा, विवाह, व्रतबन्धमा फूलमालाले स्वागत गर्दै बाजा बजाएर रमाइलो गर्ने प्रचलन छ।
यहाँ पाहुनालाई सिरुबारी गाउँको बारेमा जानकारी गराएर राति घाटु, सोरठी, सालैजो, झोडा, भ्याउरे, भदौरे भाका, भजन चुड्का जस्ता सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्ने प्रचलन छ।
गुचुमुच्च परेका ढुंगाले छाएको घर, ढुंगाको आँगन, ढुंगाको पर्खालको कलात्मकताले सिरुबारी जाने हरेक पर्यटकलाई लोभ्याउने गर्दछ।
यहाँ बुद्ध धर्म मान्नेको बाहुल्यता रहे पनि हिन्दु धर्मप्रति समान आस्था रहेको छ। गाउँको मुख्य पेसा कृषि र पशुपालन भए तापनि अधिकांश युवा भारतीय र बेलायती सेना तथा वैदेशिक रोजगारका लागि खाडी तथा युरोपमा रहेका छन्।
आँधीखोला गाउँपालिका १ पञ्चमूलमा ४३ घरहरुबाट शुरुवात भएको होमस्टेमा अहिले अहिले २२ घरधुरीले सेवा दिइरहेको समितिका अध्यक्ष गुरुङले बताए।
सिरुबारीले राष्ट्रिय घरेलु उद्यमी पुरस्कार २०४७, राष्ट्रिय युवा वन पुरस्कार २०५०, राष्ट्रिय वन पुरस्कार २०५२, पहाडी क्षेत्र विकास पुरस्कार (एक लाख) २०६२ जस्ता सम्मान तथा पुरस्कार पाएको खवर गोरखापत्र अनलाइनमा प्रकाशित भएको छ।