ताप्लेजुङ। प्रदेश १ का पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले ताप्लेजुङमा पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन् । प्राकृतिक भू–बनावट, अनुपम जैविकतासँगै यहाँको धार्मिक पर्यटकीय स्थललगायतले ताप्लेजुङमा पर्यटनको प्रचुर सम्भावना रहेको मन्त्री आचार्यले बताए।
प्रदेश १ को पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएपछि पहिलो भ्रमणका क्रममा ताप्लेजुङ पुगेका आचार्यले प्रचुर सम्भावना भएर पनि विकास र प्रवर्धनमा भने पछि परेकाप्रति दुःख व्यक्त गरे । आइतबार प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन तथा भ्रमण गर्दै मन्त्री आचार्यले ताप्लेजुङको पर्यटन विकासका लागि आफूले गर्ने पहलमा कमी हुन नदिने बताए।
प्रदेशसभा सदस्य निर्वाचित भएको मोरङ जिल्ला भए पनि मन्त्री प्रदेश १ को भएकाले पर्यटनका लागि जहाँ प्रसस्त सम्भावना तथा स्रोत छ, त्यहाँ आफ्नो ध्यान र पहल रहने उनले बताए । उनले प्रदेश सरकारका तर्फबाट मन्त्री भएको हैसियतले यहाँको पर्यटन विकास र प्रवर्धनका लागि आफूले पहल गर्ने बताए । सम्बन्धित जिल्लाका तर्फबाट स्थानीय सरकार, राजनीतिक दलका नेतृत्वले अलि बढी जोड गर्नुपर्ने बताए ।
सङ्घीय सरकारमा पर्यटन मन्त्रालयको नेतृत्व अर्थात् मन्त्री नेकपा ९माओवादी केन्द्र० कै भएकाले पर्यटन विकासको योजनामा पहल गर्न सहज रहेको उनको भनाइ छ । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री आचार्यले ताप्लेजुङको पर्यटन विकास गर्न सङ्घीय सरकारसँग आफूले समन्वय गर्ने पनि बताए ।
उनले पर्यटनको प्रचुर सम्भावना भएर पनि हालसम्म ओझेलमा परेको पर्यटकीय गन्तव्यहरुको विकास र प्रवर्धन गर्न आवश्यक योजना पेश गर्न स्थानीय सरकार तथा पार्टी नेतृत्वलाई आग्रह गरे। यहाँ अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमालबाहेक असङ्ख्य झरना, तालतलैया, धार्मिक स्थलजस्ता पर्यटकीय गन्तव्य रहेको आफूले सुनेकाले ती गन्तव्यहरुको प्रवर्धन गरी पर्यटन विकास गर्न सकिने उनले बताए।
पर्यटन विकासका लागि विभिन्न पूर्वाधार निर्माण गर्नुपर्ने, संरचना निर्माण गर्नुपर्ने र दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यक हुने भएकाले सबै पक्ष एकजुट भएमा मात्र सम्भव हुने पनि उनले बताए । कुनै निश्चित स्वार्थ, लोभ र प्रलोभनमा परेर विकास योजना तथा पूर्वाधारमाथि अवरोध पु¥याएमा विकासले गति लिन नसक्ने भन्दै यसतर्फ सबै सचेत हुनुपर्ने उनको भनाइ रहेको खवर गोरखापत्र अनलाइनमा प्रकाशित छ।