लुम्बिनी। रुपन्देहीको कालीदह–ककरहवा नाका पछिल्लो समय भारतीय पर्यटकले वैकल्पिक मार्गका रूपमा बढी प्रयोगमा ल्याउन थालेको देखिएको छ ।
बेलहिया–सुनौली नाकाभन्दा कालीदह–ककरहवा हुँदै लुम्बिनी आउजाउ गर्न सहज भएपछि भारतीय पर्यटकले यही नाका प्रयोग गर्न थालेको लुम्बिनीका पर्यटन व्यबसायीको दावी छ ।
लुम्बिनी होटल सङ्घका अध्यक्ष गोविन्द ज्ञवालीले कालीदह नाका हुँदै लुम्बिनी आउने भारतीयको सङ्ख्या बढ्दो क्रममा रहेको बताए। उनका अनुसार लुम्बिनी आउने भारतीय पर्यटकमध्ये २५–३० प्रतिशतले कालीदह–ककरहवा नाका प्रयोग गरिरहेका छन् । यो नाकाबाट लुम्बिनी १० किलोमिटर दूरीमा पर्छ । सुनौली–बेलहिया नाका हुँदै लुम्बिनी पुग्न २० किलोमिटर दूरी पर्छ ।
समयको बचत र छोटो दूरीका कारण धेरै भारतीयको रोजाइ कालीदह–ककरहवा नाका परेको हो । भारतीयले यो नाका प्रयोग गर्ने क्रम बढे पनि तेस्रो मुलुकका पर्यटकले भने सुनौली–बेलहिया नाका प्रयोग गरेर लुम्बिनी पुग्छन् । कालीदह नाकामा अध्यागमन कार्यालय छैन । अध्यागमन कार्यालयन नहुँदा तेस्रो मुलुकका पर्यटक त्यहाँबाट नेपाल प्रवेश पाउँदैनन् ।
यसैले उनीहरूले सुनौली–बेलहिया नाका प्रयोग गर्ने गर्दछन् । कालीदह–ककरहवा नाकाबाट भारतीय बजार गोरखपुर १०३ किमिको दूरीमा पर्छ । यस्तै वाराणासी ३१८, सिद्धार्थनगर २५, बस्ती ९७ किमि दूरीमा पर्छन् । यी ठाउँबाट लुम्बिनी आउजाउ गर्न नजिक पर्छ, जसले गर्दा भारतीय यो नाका हुँदै बढी मात्रामा लुम्बिनी आउने गरेका छन् । होटल सङ्घलगायत लुम्बिनी क्षेत्रका व्यवसायी सङ्घसंस्था, सामाजिक सङ्घसंस्थाले कालीदह–ककरवा नाकालाई भन्सारका रूपमा खुलाउन पहल गरिरहेका छन् । यहाँ अहिले छोटी भन्सार छ । ठूला मालवाहक गाडी यो नाका प्रयोग गरेर आउजाउ गर्न पाउँदैनन् ।
व्यवसायीले भन्सार र अध्यागमन कार्यालय स्थापना गर्न माग गरिरहेका छन् । “अध्यागमन कार्यालय बन्यो भने तेस्रो मुलुकका पर्यटक पनि यो नाका हुँदै लुम्बिनी आउन पाउँछन् भन्ने हाम्रो माग हो,” अध्यक्ष ज्ञवालीले भने । लुम्बिनी क्षेत्रका व्यवसायीले कालीदह नाका पूर्ण रूपमा सञ्चालन र अध्यागमन कार्यालय स्थापनाको माग गरिरहे पनि भैरहवा क्षेत्रका व्यवसायी भने यसको पक्षमा छैनन् ।
“एक त लुम्बिनीमा पर्यटकको बसाइ लम्बिएन भन्ने चिन्तामा व्यवसायी छौँ, अर्कातर्फ कालीदह नाकामा अध्यागमन राख्यौँ भने पर्यटक लुम्बिनी आएर घुमेर उसै दिन भारततर्फ फर्किन्छन्, यसबाट व्यवसायी झनै समस्यामा हुन्छन्,” सिद्धार्थ होटल सङ्घका वरिष्ठ उपाध्यक्ष किशोर जोशीले भने, “त्यसैले त्यहाँ अध्यागमन कार्यालय राख्नु हुँदैन ।” यो खवर गोरखापत्र अनलाइनमा प्रकाशित छ ।