तनहुँ। तनहुँको व्यास नगरपालिका–१३ मा आँपस्वारा सामुदायिक दलित होमस्टे छ। दलित समुदायद्वारा सञ्चालित नेपालकै पहिलो एकमात्र सामुदायिक होमस्टे हो। यहाँका दलितका १८ घरधुरीमा घरबास सुविधा छ। दलित बाहुल्य गाउँमा मगर, गुरुङ, क्षेत्री र बाहुन समुदायको बसोबास छ।
समून्द्र सतहदेखि ८१५ मिटरमा अवस्थित होमस्टेमा दलित समुदायको जीवनशैली , रहन सहन, सांस्कृतिक अनुभव गर्नुको साथै अर्गानिक खाना र राम्रो बासको व्यवस्था छ भने दमौली वजार, नागबेली सेती नदि , मनासलु र अन्नपूर्ण हिमालका दृश्यहरु अवलोकन गर्न सकिन्छ ।
विसं २०७२ जेठमा हयाण्ड्स अन इन्स्टिच्यूटको सहयोगमा होमस्टे सुरु गरिएको हो। थानीमाई मन्दिर, ग्रामीण जीवनशैली, अर्गानिक खानपिन आँपस्वाराका आकर्षण हुन । गाउँबाट अन्नपूर्ण हिमाल, दमौली बजार, छाब्दीबराह, सेती हाइड्रो पावर र सुन्तला बगान देखिन्छ ।
ग्रामिण पर्यटनका माध्यमबाट आर्थिक विकास र छुवाछुत अन्त्य गर्न सामुदायिक होमस्टे सञ्चालन गरिएको हो । पर्यटनको अभ्यास भएसँगै छुवाछुत मेटिंदै गएको छ ।
हालसम्म अमेरिका, फ्रान्स, जर्मन, स्वीट्जरल्यान्ड, जापान, इन्डोनेसिया, र फिनल्यान्ड, अस्ट्रेलिया लगायत १८ मुलुकका पर्यटकले आँपस्वाँरा दलित होमस्टेमा भ्रमण गरिसकेका छन।
गाउँलेहरु आत्मीय, फरासिला र सहयोगी छन् । पाहुनालाई स्थानिय परिकारसहितको खानेकुरा खुवाइन्छ । आमा समूहका टोलीद्वारा स्थानिय नाचगान देखाईन्छ ।
मकैको खोस्टाबाट बनेको चकटी, डोको, माटाको गहनाहरू जस्तै नौगेडी, कण्ठाको माला, चन्द्रमा र जन्तर लगायतका हस्तकलाका सामाग्री आँपस्वाराको कोसेली हुन।
कसरी पुग्नेः
काठमाडौंदेखि दमौली बजार ९१५० किमि० बसमा ५ घण्टा । दमौलीदेखि आँपस्वारा ६ किमि जीपमा २५ मिनेट।