सुनसरी। स्वदेशी फूलको उत्पादन तथा बजार प्रर्वद्धन गर्ने उद्देश्यले धरानमा पुष्प मेला आयोजना हुने भएको छ।
धरानमा माघ २५ गतेदेखि २९ गतेसम्म ५ दिने प्रदेश नं. १ स्तरीय पुष्प व्यापार प्रदर्शनी मेला हुन लागेको हो।
प्रदेश १ सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा फ्लोरिकल्चर एशोसियसन नेपालको आयोजनामा हुने पुष्प व्यापार प्रदर्शनी मेलामा ५० वटा स्टल रहने आयोजकले जनाएको छ।
जसमा १ वटा अफिसियल स्टलसँगै, प्रतिस्पर्धाका लागि १ स्टल र ४८ व्यावसायिक स्टल गरी ५० स्टल रहने संयोजक रामकुमार राईले जानकारी दिए।
मेलाका विषयमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो।
मेलामा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, सुनाखरीलगायत ५ सय प्रजातिका फूल राखिने साथै प्रदर्शनीमा कम्पोस्ट मल, बीउ बिजन, कृषि औजार र उपकरण, विषादीका साथै प्रदेशमा उत्पादन र बिक्री हुने फूलहरूका स्टल राखिने आयोजकको भनाइ छ।
‘यस मेलामा पुष्प व्यवसाय गर्न चाहने घर आँगन तथा बगैँचा सजाउन चाहने सबैका निम्ति उपयोगी हुने विश्वास लिएका छाै’ संयोजक राईले भने ‘पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ प्रविधि र उपलब्धि सहितको जानकारी पनि मेला स्थलमा प्राप्त गर्न सकिने छ।’
नेपालमा ०११ सालदेखि पुष्प व्यवसाय सुरु भएको मानिन्छ। ६ सय ९७ नर्सरी स्थापना भएको फ्लोरिकल्चर एशोसियसनको तथ्याङ्क छ। फूलको कारोबार वार्षिक २ अर्बको भइरहेको तथ्याङ्क छ। प्रदेश १ मा ६५ भन्दा बढी पुष्प व्यवसायी रहेको र वार्षिक १३ करोडको कारोबार भइरहेको तथ्याङ्क छ भने व्यवसायमा ४० करोड बढी लगानी रहेको छ।
प्रदेश १ मा २ हजार भन्दा बढी व्यक्तिले प्रत्यक्ष, अप्रत्यक्ष रोजगार प्राप्त गरेको तथ्याङ्क छ। आयोजित मेलामा ५० हजार भन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै ७० लाखको व्यावसायिक कारोबार हुने अपेक्षा लिइएको छ।