सिन्धुली। सिन्धुलीमा लाखौँ खर्चेर बनाइएका पदमार्ग प्रयोगमा आउन सकेको छैनन्। यहाँका ऐतिहासिक, धार्मिक र पर्यटकीयस्थलको उचित व्यवस्थापन र विकास नहुँदा ओझेलमा छन्।
हरिहरपुरगढी र सिन्धुलीगढी जोड्न निर्माण गरिएको पदमार्ग, कमलामाई नगरपालिका–२ चियाबारीबाट ऐतिहासिकस्थल सिन्धुलीगढीसम्मको ‘क्याप्टेन किनलोक पदमार्ग’, फिक्कल गाउँपालिका–३ चनौटेमा निर्माण गरिएको पदमार्ग प्रयोगविहीन भएका हुन्।
नेपाल एकीकरणका क्रममा तत्कालीन गोर्खाली सैनिक हिँडेको ऐतिहासिकस्थललाई पर्यटकीय पदमार्गले जोड्ने योजनाअनुसार तीन वर्षअघि हरिहरपुरगढीको घण्टेबाट सिन्धुलीगढीसम्मको ७५ किलोमिटर लामो पदमार्ग निर्माण थालिएको थियो। घण्टेबाट जितपुरसम्मको १५ किमी लामो पदमार्ग निर्माण भए पनि बाँकी निर्माण नहुँदा अलपत्र छ। उक्त पदमार्ग समृद्ध सिन्धुली अभियानको अगुवाइमा निर्वाचन क्षेत्र विकास कोषको रु ४० लाख सहयोगमा निर्माण गरिएको थियो।
जिल्ला समन्वय समितिका प्रमुख कारसाङ लामाका अनुसार अहिले यो पदमार्गसदुपयोगविहीन अवस्थामा छ। यतिबेला दुई गढीलाई जोडेर पर्यटन प्रवर्दन गर्ने उद्देश्यले खनिएको थियो।
नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहकी पत्नी इन्द्रकुमारीले घण्ट चढाएको हरिहरपुरगढी गाँउपालिका–३ घण्टेस्थित महादेवको मन्दिरबाट निर्माण सुरु गरिएको पदमार्ग ऐतिहासिक हरिहरपुरगढी किल्ला, जितपुरगढी हुँदै जितपुरसम्म पुगेको छ। बाँकी सिन्धुलीगढीसम्मको ६० किमी लामो पदमार्ग अलपत्र छ। घण्टेबाट जितपुरसम्मको ठाउँ–ठाउँको बाटोमा चौतारा, प्रतिक्षालय निर्माण भएको छ। पदमार्गमा पर्ने खोरभञ्ज्याङमा काठको कलात्मक प्रतिक्षालय निर्माण गरिएको स्थानीयवासी बताउँछन्।
सिन्धुलीगढीको भन्दा पुरानो इतिहास बोकेको हरिहरपुरगढी किल्ला अझै संरक्षणविहीन जस्तै छ। बाराको सिम्रौनगढमा बङ्गाल मुसलमान भीषण आक्रमणबाट सिम्रौनगढ राज्यको पतन भएपछि बाराका तत्कालीन राजा हरिसिंह देव विसं १३७८ मा सिन्धुली आएर सानो किल्ला बनाएर बसेका थिए। त्यही किल्लाले राज्यको रूप लिएको थियो। यस किल्लालाई राजा हरिसिंह देवकै नामबाट हरिहरपुरगढी भनेर भन्न थालियो भन्ने किंवदन्ती छ। सिन्धुलीगढीमा भारतमा शासन गरिरहेको तत्कालीन अङ्ग्रेज सेनालाई काठमाडौतर्फ आउँदै गर्दा गोर्खाली फौजले पराजित गरेर लखेटेको ऐतिहासिकस्थल हो। पृथ्वीनाराण शाहको नेपाल एकीकरण अभियानलाई रोक्न आएका अंग्रेजी फौजलाई विसं १८२४ मा वीर गोर्खालीले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा लडेर परास्त गरेका थिए।
पर्यटन प्रवद्र्धनका लागि फिक्कल गाउँपालिका–३ चनौटेबाट फिक्कल भ्यूटावरसम्म जान पदमार्ग छ। बागमती प्रदेश सरकार उद्योग, वन तथा पर्यटन मन्त्रालयको रु २८ लाख लागतमा ढुङ्गाको सिँढी बनाएर पाँच सय मिटर लामो पदमार्ग निर्माण भएको थियो। त्यसअघि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सात सय मिटर लामो पदमार्ग निर्माण गरिएको थियो। भ्यूटावर र यहाँको पदमार्ग अहिलेसम्म उद्देश्यअनुसार चलायमान हुन नसकेको स्थानीय शोभा लुइँटेलले बताए।
कमलामाई नगरपालिका–२ चियाबारीबाट ऐतिहासिकस्थल सिन्धुलीगढीसम्मको ‘क्याप्टेन किनलोक पदमार्ग’ नेपाल एकीकरणका बेला विसं १८२४ को सिन्धुलीगढी युद्धमा क्याप्टेन किनलोकको नेतृत्वमा आएको अङ्ग्रेज फौज हिँडेको पैदल बाटोलाई पदमार्गका रूपमा निर्माण गर्ने योजना कमलामाई नगरपालिकाले अघि सारेको थियो।
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रु पाँच लाखको लागतमा चियाबारी, फेदी, सिउरानी, ढुङ्ग्रेभन्ज्याङ हुँदै सिन्धुलीगढीसम्म उक्त पदमार्ग निर्माण भएको थियो। बिपी राजमार्ग निर्माणअघि निकै चहलपहल रहेको यो पदमार्ग अहिले ठप्पजस्तै छ।रासस