जनकपुर। नेपालको प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित जनकपुरधाम घुम्ने पर्यटकको संख्या वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंक जनकपुरधाम शाखाले प्रकाशित गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७÷०७८ को तुलना चालु आ.व. मा बढेको हो।
गत आ.व.मा पाँच हजार ८ सय ४७ जना बाह्य पर्यटक आएका थिए। चालू आर्थिक वर्षको छ महिनामा २० हजार ७३३ जना पर्यटक आएका छन्। पर्यटकमध्ये भारतबाट ९०.६९, चीनबाट १.८३ र तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्या ७.४८ प्रतिशत छ।
मिथिलाको प्राचीन राजधानी तथा मधेश प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाममा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भए पनि यहाँ पर्यटक घुमाउने पर्यटक गाइडको कमी छ। जनकपुरधाम र यस वरपर थुप्रै धार्मिक तथा पर्यटन क्षेत्र भए पनि उचित जानकारीको अभावमा पर्यटक जानकी मन्दिरको मात्रै दर्शन गरी फर्कने गरेको स्थानीयहरु बताउँछन्।
यहाँ जानकी मन्दिरबाहेक राममन्दिर, विवाहमण्डप, स्वर्गद्वारी भूतनाथ मन्दिर, गङ्गा आरतीलगायत घुम्ने खालका दर्जनौं मठमन्दिर तथा रमणीय स्थान छन्। तर ती स्थानका बारेमा जानकारी उपलब्ध गराउने पर्यटक गाइडको कमी छ।
यहाँ आउने पर्यटकहरू गाइडका अभावका कारण यहाँका स्थानीय रिक्सा चालकहरुको भर घुम्ने गरेको स्थानीय युवा बलराम साह बताउँछन्।
‘कतिपय पर्यटक अटोरिक्सा चालकका भरमा जनकपुरधामका विभिन्न स्थान घुम्ने गरेका छन्। तर व्यावसायिक पर्यटक गाइडको अभावमा सम्बन्धित ठाउँबारे विस्तृत जानकारी प्राप्त गर्न पाउँदैन र अधुरो जानकारी हासिल गरेर फर्कने गरेका छन्। जसले गर्दा यहाँको इतिहास र जीवनशैलीबारे गलत बुझाई पनि प्रवाह हुनसक्ने खतरा छ,’ उनले भने।
जनकपुरधाममा दुई दर्जनभन्दा बढी टुर्स एण्ड ट्राभल्स कम्पनीहरू छन्। त्यसमध्ये केहीले मात्र पर्यटक गाइडको सेवा उपलब्ध गराउँदै आएका छन्। जनकपुरमा सञ्चालित स्वेन टुर्स एण्ड ट्राभल्स कम्पनीका सञ्चालक रितेश साहका अनुसार जनकपुरमा टुरिस्ट घुमाउने गाइड दुईदेखि चारजनाको हाराहारीमा मात्र छन्।
सीमित पर्यटक गाइड हुँदा अनुसन्धान तथा घुम्न आउने बाह्य पर्यटकलाई यहाँको वस्तु स्थितिबारे बुझाउन समस्या पर्ने गरेको उनी बताउँछन्।
जनकपुरधामका पूर्व पर्यटक गाइड तथा अङ्ग्रेजी विषयका प्राध्यापकसमेत रहेका सुदर्शनलाल कर्णले यहाँ पर्यटक गाइडको सङ्ख्या कम हुनु र घुम्न आउन पर्यटकलाई अटोरिक्सा चालकले गाइड गर्नु दुर्भाग्य भएको बताए।
यहाँ पर्यटक त निकै आउँछन् तर ती रिक्सा चालकलाई कहाँ लैजाने कसरी उनिहरूको सत्कार गर्ने भन्नेबारे थाहा हुँदैन। यसरी पर्यटकलाई घुमाउने रिक्सा चालकले यहाँका ठाउँ चिनाउँदा गलत व्याख्या र अपव्याख्या पनि हुन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे।
यहाँको पर्यटक गाइडको कमीलाई मध्यनजर गर्दै नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम कलेज) बर्दिवास, महोत्तरीले पर्यटक गाइडको प्रशिक्षण सुरु गर्ने भएको छ। जनकपुरधामलगायत मधेश प्रदेशका ऐतिहासिक स्थान तथा पर्यटन क्षेत्रका बारेमा सही सूचना उपलब्ध गराउने उद्देश्यले पर्यटक गाइड प्रशिक्षण सुरु गर्न लागिएको नाथम कलेजका प्रमुख सिवेन्द्र मल्लिकले बताए।