काठमाडौं । नेपाल वायु सेवा निगमको टिकट बिक्री प्रणालीमा देखिएको समस्या समाधान गर्न निगमले तयारी थालेको छ ।
निगमको टिकट प्रणालीलाई थप प्रभावकारी बनाउन नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) सँग छलफल गर्दै १५ दिनभित्र समस्या समाधान गर्नेगरी कार्यदल गठन गरेको हो ।
व्यवस्थापन प्रभावकारी बनाउन साथै बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउनका लागि कार्यदल गठन गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिईन् ।
आठ सदस्यीय कार्यदलमा निगमको वाणिज्य निर्देशक जनकराज कालाखेती, अर्थ विभाग निर्देशक उमेश पौडेल, साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन निर्देशक अनिल घिमिरे र वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डे रहेका छन् । त्यस्तै नाट्टाको तर्फबाट वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल, महासचिव कुमारमणि थपलिया, कोषाध्यक्ष राजकुमार देवकोटा र कार्यसमिति सदस्य सवला भण्डारी रहेका छन् ।
नव नियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गत माघ ९ गते निगमको निरीक्षणका गर्दै निगमको सेवालाई सुस्त र प्रभावकारी बनाउँदै एक महिनाभित्र अनलाइन टिकटको व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।
निगमकी प्रवक्ता खड्काका अनुसार आन्तरिकतर्फ यसअघि नै अनलाइन टिकट व्यवस्थापन गरिएको छ । अन्तर्राष्ट्रियमा पनि निगमको वेबसाइटमार्फत अन्तर्राष्ट्रिय कार्ड होल्डरले टिकट काट्न सक्छन् । लोकल वालेट मार्फत टिकट काट्न सक्ने गरी यही जनवरी अन्तिमसम्म व्यवस्थापन गरिने निगमले जनाएको छ ।