काठमाडौं। मनोकामना पुर्याइदिने देवी हुन् दोलखाकी कालिन्चोक। यिनको दर्शनले सबै खाले रोगव्याधिबाट मुक्ति मिल्ने, धनधान्यले पूर्ण हुने, सुखशान्ति मिल्ने, दीर्घ जीवन प्राप्त हुने र मरेपछि स्वर्ग पुगिन्छ भन्ने जनविश्वास छ।
३ हजार ८ सय ४२ मिटर अग्लो डाँडामा बसेकी छिन् कालिन्चोक भगवती। डाँडाको थाप्लोमा कुण्ड, त्रिशूल, घन्ट र देवीका मूर्ति छन्। कुण्ड मात्र प्राचीन हो, बाँकी त्रिशूल, घन्ट र मूर्ति पछि राखिएका।

यो मन्दिरमा बडा दसैं, चैते दसैं, बुद्ध पूर्णिमा र जनै पूर्णिमामा मेला लाग्छ। त्यसो त वर्षैभरि पर्यटकको चहलपहल हुन्छ। भाकल पूरा भएपछि भक्तजन उनको चरणमा आई बोका, कुखुरा, हाँस, नरिवल, त्रिशुल र घन्ट चढाउँछन्।
भगवतीको दर्शन गर्नाले मनोकामना पुरा हुने जनविश्वासका कारण यहाँ तिर्थालुुहरुको घुइँचो लाग्ने गरेको होटल एसोसिएयसन कालिन्चोकका संस्थापक अध्यक्ष सोनम शेर्पा बताउँछन्।

उनले भने,‘यस्तो पर्यटकीय क्षेत्रलाई राज्यले अलि बढी ध्यान दिन प¥यो, सडक, पुर्वाधार, स्वास्थ्यको क्षेत्रमा अलिक बढी ध्यान दिन जरुरी छ।’
बौद्ध धर्मावलम्बी र हिन्दु दुवैको आस्थाको केन्द्रको रुपमा रहेको यस स्थानमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको उनले बताए।

देशकै प्रमुख पर्यटकीय स्थलको रुपमा रहेको यय स्थानको पूर्वाधार विकासमा सरोकारवाला निकायहरुले विषेश ध्यान दिन जरुरी रहेको उति बताँउछन्।

कालिन्चोक भगवतीको महिमा ठूलो छ। हिन्दू धार्मिक ग्रन्थ मार्कण्य पुराणकाअनुसार महिषासुर दैत्यले स्वर्ग कब्जा गरेपछि स्वर्गका राजा इन्द्रले मत्र्यलोकको एउटा डाँडामा बसी ब्रम्हा, विष्णु र महेश्वरलाई आफ्ना सबै कुरा सुनाए। विष्णु क्रोधित भए, उनको वदनबाट एक तेजपुञ्ज निस्किएर नारी स्वरूपमा कालिन्चोक देवी उत्पन्न भइन् र उनैले महिषासुरको वध गरिन्।

यसरी महिषासुरको बध गर्ने कालिन्चोकलाई महाकालीका रूपमा पूजिन्छ।
धार्मिक महत्व त छँदै छ, प्राकृतिक हिसाबले समेत कालिन्चोक चित्ताकर्षक छ। डाँडाबाट अन्नपूर्ण, लाङटाङ, र रोल्वालिङ हिमश्रृङ्खला छर्लङ्ङै देखिन्छन्। दोलखाको पहिचान गौरीशंकर हिमाल आँखैमा टाँसिन आइपुग्छन्।
मौसम उघ्रिएका बेला नीलो आकाश मुन्तिर मोतीझैं चम्केका हिमाल आँखा नझिम्क्याई हेरिरहूँझै लाग्छ।
डाँडाबाट सूर्योदय र सूर्यास्तको दृश्य पनि मनमोहक देखिन्छ।

अचेल हिउँ खेल्ने गन्तव्यका रूपमा समेत कालिन्चोकले ख्याति कमाएको छ। हिउँदमा काठमाडौं देखिका युवा हिउँ खेल्न कालिन्चोक आईपुग्छन्।
घुमन्तेहरूका लागि कालिन्चोकमा खान र बस्न समस्या छैन। कालिन्चोक वेस क्याम्प कुरीसहित सेरोफेरोमा करिब सय ओटा होटल छन्। यहाँ एकै रात ४५ सय जना बास बस्न सक्छन्।

सिजनमा साँझदेखि मध्यरातसम्म होटलका आँगनमा नेपाली, हिन्दी र अंग्रेजी गीत घन्काइन्छ। उफरमा बजेको चर्को गीतमा मदहोसीमा नाच्छन् युवा। संगीत र मदिराको मातले हरेक रात कुरी बजार डिस्कोथेक बन्छ। धार्मिकस्थललाई डिस्कोथेक बनाउनु राम्रो होइन।
अर्को कुरा कालिन्चोकलाई प्लास्टिक र काँचका बोतल निषेधित क्षेत्र बनाउन सके राम्रो हुन्छ।
कालिन्चोकमा केवलकार सुविधा छ। कुरीबाट केवलकारमा ५ मिनेट यात्रा गरेर ओर्लेपछि ७ मिनेट हिँडेमा मन्दिरमा पुगिन्छ। कुरीबाट हिँडेरै कालिन्चोक मन्दिरसम्म जान चाहिँ एक घन्टा लाग्छ।
कालिन्चोकबाट फर्कंदा आशा, उत्साह र ऊर्जाका साथै साथीसंगी र इष्ट मित्रका लागि छुर्पी, चौंरीको घ्यु लगायत स्थानीय उत्पादन कोसेली ल्याउन सकिन्छ।

कालिन्चोक वेस क्याम्प कुरी बजारसम्म सडक सञ्जाल जोडिए सँगै यात्रा सजिलो भएको छ। काठमाडौंबाट १५० किलोमिटर दूरीमा छ कुरी बजार। कुरीसम्मै जिपमा यात्रा गर्न सकिन्छ। पदयात्रा गर्ने हो भने दोलखा सदरमुकाम चरिकोट बजारदेखि कालिन्चोकसम्म पुग्न ७ घन्टा लाग्छ।

कसरी पुग्ने कालिञ्चोक
काठमाडौंदेखि दोलखाको दूरी १ सय ८२ किलोमिटर छ। दोलखाको सदरमुकाम चरिकोटबाट कालिञ्चोक जान थप १७ किलोमिटरको दूरी पूरा गर्नुपर्ने हुन्छ।
कालिञ्चोक समद्री सतहदेखि ३ हजार ८ सय ४२ मिटरको उचाइमा छ। त्यहीँ कालिञ्चोक भगवती मन्दिर अवस्थित छ।
कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती गरी सात भगवती दिदी बहिनीमध्ये एक हुन् भन्ने किम्बदन्ती छ। काठमाडौंबाट चरिकोटसम्म सार्वजनिक सवारी चढेर ४ सय ५० रुपैयाँमा दोलखा पुग्न सकिन्छ।
चरिकोटकबाट कालिञ्चोक जान अर्को लोकल जीप समातेर जानुपर्ने हुन्छ। चरिकोटदेखि कालिञ्चोकको कुरी बजारसम्म कच्ची मोटरबाटो छ, जुन बाटोमा बोलेरो र मोटरसाइकल चलाउन सकिन्छ। यस बाटोमा नियमित सार्वजनिक सवारीसाधन भने उपलब्ध छैन।
तस्बिरहरु






सबै तस्बिरहरु भवानी शिलाकार