माथिमाथि सैलुङ्गेमा चौरी डुलाउनेलाई
हत्केलामा मायाको गुराँस फुलाउनेलाई
भन्दिनु है भन्दिनु, मेरो चुल्ठो खाली छ
उनको त्यो मनै जाली छ ।
दशकौं अघि कवि श्रवण मुकारूङले एउटा सुन्दर गीत रचना गरेका थिए, ‘माथिमाथि शैलुङ्गेमा चौरी डुलाउनेलाई, हत्केलामा मायाको गुराँस फुलाउनेलाई....।’ गीतमा शैलुङ डाँडामा चौंरी चरेको, मायाको गुराँस फुलाएको सौन्दर्य वर्णन गरिएको छ। अझ गायिका कुन्ति मोक्तानको सुरिलो स्वरमा यो गीत सजिएपछि शैलुङ आम नेपाली माझ चिनियो।
कवि मुकारूङले पूर्वी नेपालको शैलुङ सम्झेर गीत लेखेका हुन् कि, रामेछाप र दोलखाको साँधमा रहेको शैलुङ सम्झेर, जे होस् शैलुङलाई चर्चित बनाउन यसले ठूलो योगदान गरेको छ।
प्रकृति र अध्यात्मको संगम हो–शैलुङ। धर्तिकै स्वर्ग शैलुङमा पुग्दा तन र मनमा ऊर्जा भरिन्छ। ३१५० मिटर उचाईको डाँडामा सूर्योदय, सूर्यास्त र हिमाली सौन्दर्यको मिठास पाइन्छ ।
दोलखाको शैलुङ गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकामा पर्छ शैलुङ डाँडा।
तामाङ भाषाको शब्द ‘शैलुङ’ को नेपाली अर्थ हुन्छ–सय थुम्का। धानको थुप्रो जस्ता थुम्काहरू छन् यहाँ । कुनै अग्ला त कुनै होचा । जुन थुम्कामा चढेर हेरे पनि सेताम्मे हिमाल देखिन्छन् । हिमाल पनि कति हुन् कति! पश्चिमको अन्नपूर्ण, मनास्लु, लमजुङदेखि गणेश हिमाल, लाङटाङ, गौरीशंकर, सगरमाथा र नुम्बुरसम्म दर्जनौं हिमालहरू।
हिउँले ढपक्कै ढाकिएको, शैलुङ । वाऊ शैलुङ! यतिबेला डाँडामा पुग्दा थुम्काहरु हिउँले सेताम्मे हुन्छन्। उदाउँदो सूर्यको किरणमा टल्किएको डाँडामा छुट्टै रौनक हुन्छ।
घाम विस्तारै छिप्पिँदै जाँदा उत्तरतिर हिमाल खुल्दै जान्छन्। बर्खामा हरियाली, हिउँदमा हिउँ र हिमाल अनि चैत वैशाखमा लालीगुराँसको सौन्दर्यमा शैलुङ झलमल्ल हुन्छ।
मंसिर, पुस र माघ हिउँले ढकमक्क हुन्छ। फागुन, चैत र वैशाख लालिगुँरास र चिमालले ढकमक्क हुने शैंलुङ जेठ, असार, साउन र भदौमा हरियाली र लेकाली फूल सजिएको हुन्छ।
आकाश खुलेको बेला हिमालको लर्कन देखिन्छ।
२२० डिग्रीमा मुस्कुराउँदै गरेको हिमालको लर्कनले लजाएकी शैलुङ देख्दा मनमस्तिक आनन्दित हुन्छ। पूर्वको नुम्बुर, सगरमाथा, दोर्जे लाक्पा, तासी लाप्चा, दोर्जे लाक्पा, जुगल हिमाल, लाङताङ, गणेश हिमाल, मनास्लु र अन्नपूर्णको हिमश्रृंखलाको लामो लर्कन अघाउञ्जेल हेर्न पाइन्छ।
शैलुङ प्राकृतिक र धार्मिक विषेशता बोकेको स्थलमा १०८ थुम्का छन्। त्यहाँ गुफा, मन्दिर र चैत्य छन्। हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थ मानिन्छ शैलुङ। रामेछाप र दोलखाको संगम शैलुङमा बाघढुंगा, गाइढुंगा, पृथ्वीको नाइटो, जारकाटे, गुरू रिम्पोचेका पाइला, शैलुङेश्वर महादेव लगायत सम्पदा छन्।
जैविक विविधताका हिसाबले हेर्दा वनजंगल, जडीबुटी, जंगली जनाबर र चराचुरुङीको भण्डारै हो शैलुङ ।
शैलुङ प्रकृतिको सुन्दर सृजना मात्र होइन, हिन्दू र बौद्धमार्गीको साझा तिर्थ पनि हो । डाँडामा गुरु पद्मसंभवका पाइला, माने र चैत्य छन् । त्यस्तै शैलुङेश्वर महादेव र गोदावरी गुफा पनि छ । यो पावन भूमिमा जनैपूर्णेमा ठूलो मेला लाग्छ ।
फेदिमा वरी परी सुन्दर गाउँ वस्ति छन्। यहा तामाङ, शेर्पा, क्षेत्रि , ब्राहमण, नेवार , तामाङ, मगर र दलितको बसोबास गर्छन्, तिनका संस्कृति र रहन सहन पनि हेर्न पाईन्छ।
शैलुङ वेस क्याम्प खोलाखर्कमा सामान्य खाना र बास सुविधा पाइन्छ। होटलवालासँग बिहानै थर्मसमा तातोपानी, कफी र चिनी लिएर उकालो चढेमा हिमाल हेर्दै सुरूप सुरूप पार्न पाइन्छ । डाँडामा कुनै रेष्टुराँ छैनन् । पानी र खाजा विस्कुट लान भुल्न हुँदैन ।
एउटा कुरा हिउँ पर्ने याममा डाँडातिर घुम्न जाँदा हिँड्न सजिलो जुत्ता, न्याना कपडा, माकल टोपीलगायत जरूरी हुन्छ है!
कसरी पुग्नेः
काठमाडौं–धुलिखेल–नेपालथोक– खाँडादेवि- शैलुङ १२१ किमि, जिपमा ५ घन्टा । अर्को रुट, काठमाडौं–धुलिखेल–खाडीचौर–मुढे–शैलुङ १४१ किमि, जिपमा ७ घन्टा।
सम्पर्कः
दाबा साङ्बो शेर्पा-९७४१११२९३३
लाल वहादुर तामाङ- ९८८६२१८३१८