धनगढी । नेपाल एक पर्यटकीय गन्तव्य हो । यहाँ राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका घुम्न लायक गन्तव्यहरू छन् । ती मध्ये आन्तिरक पर्यटकका लागि उत्कृष्ट गन्तव्य हो कोइलही ताल ।
कैलारी गाउँपालिका –९ मा रहेको यो ताल आन्तरिक पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य बन्दै गएको हो । जंगलले वरीपरीबाट घेरोको यस तालमा दिनहुँ सयौँ पर्यटकहरू रमाइलो गर्न यहाँ आउने गर्दछन् । सार्वजनिक बिदाका धेरै पर्यटकहरू आउँदछन् भने अन्य दिन पनि यो तालमा घुमफिर गर्न र पिकनिक खानेका लागि गन्तव्य बन्दैगएको छ । आन्तरिक पर्यटकले कोइलही ताल खचाखच हुन थालेको छ ।
‘बिदाको दिन त यहाँ खुट्टा टेक्नै मुस्किल हुन्छ’, ताल क्षेत्रमा फलफूलको व्यापार गर्दै आएकी बनकन्द्री गाउँका बुधराम थारु भन्छन् । ‘अरू दिन पनि घुम्न आउनेको सङ्ख्या कम छैन ।’ दिनहुँ दुई तीन सय मान्छे घुमफिर गर्न र पिकनिक खानका लागि कोइलही ताल आउनेगरेका छन्।’ उनले भने ।
यहाँ घुम्न आउने पर्यटकलाई मध्यनजर गर्दै तालमा जलविहार गर्न डुङ्गा समेत सञ्चालनमा ल्याइएको छ । ताल अवलोकन र घुमफिर गर्न आएकाहरू डुङ्गामा सयर गरेर आनन्द लिनेगरेका छन् । पिकनिक खानका लागि मात्रै नभई शैक्षिक भ्रमणका लागि टाढा–टाढाको विद्यालयका विद्यार्थी, शिक्षक पनि कोइलही ताल पुग्ने गर्छन् ।
चाडपर्वपछि धेरैजसो मान्छे पिकनिक खानका लागि कोइलही ताल आउनेगरेका स्थानीयवासी बताउँछन् । ताल परिसरमा पिकनिक क्षेत्र बनाइएको छ । पिकनिक क्षेत्रमा हरेक दिन घुइँचो लाग्नेगरेको स्थानीयहरु बताउँछन् ।
७२ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताललाई आर्थिक वर्ष २०७३–७४ मा थोरै व्यवस्थित गर्ने कार्य भएको थियो । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको तालतलैया एवम् सिमसार क्षेत्र संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत ९७ लाख ७४ हजार रुपियाँ खर्चेर व्यवस्थापनको साथै केही संरचना बनाउने कार्य भएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दशैं, तिहार सकिएपछि हरेक वर्ष हिउँद यामभरी पर्यटकको घुइँचो लाग्ने गर्छ ।
आन्तरिक पर्यटकको चहलपहल बढेपछि कोइलही ताल क्षेत्रमा व्यापार व्यवसाय पनि फष्टाएको छ । स्थानीय व्यवसायीले पिकनिक क्षेत्रमा नास्ता, मिठाई, फलफूल, पान लगायतको व्यापार गर्दैआएका छन् ।