काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हवाई यात्रालाई सुरक्षित बनाउन सरकार तयार रहेको बताएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सरकारसँग पोखराको घटनाको विषयमा जानकारी मागेपछि जवाफ दिदैँ मन्त्री किराँतीले हवाई यात्रालाई सुरक्षित बनाउन सरकार तयार रहेको बताएका हुन् ।
जवाफ दिदैँ उनले काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटना भएको घटनाबारे सदनलाई जानकारी गराएका छन् ।
आगामी दिनमा यस्ता प्रकारको दुर्घटना हुन नदिन सरकारले सोही दिनदेखि आन्तरिक उडान भर्ने जहाजको अनिवार्य प्राविधिक परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ । “आगामी दिनमा यस्ता घटना दोहोरिन् नदिन प्राधिकरणलगायत निकायलाई निर्देशन दिइएको छ”, मन्त्री किराँतीले भने, “हवाई सेवालाई विश्वसनीय तुल्याउन र हवाई सुरक्षाप्रति सरकार गम्भीर छ ।”
प्रतिनिधिसभाको आजको बैठकमा उनले पोखरा विमानस्थल नजिकै बिहान १०ः५० बजे सो विमान दुर्घटना भई सेती नदीको खोजमा खसेको र विमानमा चालक दलसहित ७२ जना सवार रहेको बैठकलाई जानकारी गराएका थिए ।
हालसम्म ७१ यात्रुको शव फेला परेको र उनीहरूको पोखरा र काठमाडौँमा रहेका अस्पतालमा शव परीक्षण गरी आफन्तलाई हस्तान्तरण गर्ने कार्य भइरहेको पनि मन्त्री किराँतीले जानकारी दिए ।
उनले विमान दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयसमेतको सहयोगमा खोज तथा उद्धार कार्य भइरहेको जानकारी दिए । दुर्घटनाबारे सत्यतथ्य पत्ता लगाई आगामी दिनमा यस्ता घटना हुन नदिन गैरसैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७१ अनुसार दुर्घटना जाँच आयोग गठन गरेकोमा आयोगले कार्यसञ्चालन गरिसकेको मन्त्री किरातीले सदनलाई जानकारी गराएका हुन् ।