सुनसरी । सुनसरी जिल्लाको बर्जू गाउँपालिका ६ स्थित चिमडीको बर्जुतालमा आयोजित महोत्सवमा ३ लाख भन्दा बढीले अवलोकन गरेका छन् ।
आयोजकका अनुसार पुस २२ गतेदेखि सुरु भएर माघ ४ गते (आज) सम्पन्न महोत्सव ३ लाख भन्दा बढीले अवलोकन गरेका हुन् ।
महोत्सवमा भारतको बिहार राज्यको भोजपुरी भाषाका फिल्म सुपर स्टार खेसारीलाल यादव सहितको प्रस्तुति रहेकाले महोत्सव अवधिमा तीन लाख बढी आन्तरिक र भारतीय पर्यटकहरूले अवलोकन गरेका थिए ।
स्थानीयस्तरमा पर्यटक प्रबर्द्धन गर्ने उद्देश्यसाथ गरिएको महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनसँगै प्रत्येक दिन विभिन्न कलाकारको प्रस्तुति र विभिन्न खेलकुदको अयोजन गरिएको थियो ।
भोजपुरी कलाकार यादव आउने भएपछि महोत्सव स्थल प्रवेश गर्नको लागि प्रवेश शुल्क पाँच सय रुपियाँ राखिएकोमा केही विवाद समेत भएको थियो ।
महोत्सवमा १० करोड बढीको कारोबार भएको अनुमान आयोजक समितिले गरेको छ । अघिल्ला महोत्सव भन्दा यस वर्ष दर्शक लाखौँको सङ्ख्यामा बढेको आयोजकको भनाइ छ । महोत्सवमा ५० स्टल रहेको थियो । सुनसरी सदरमुकाम इनरुवादेखि १८ किलोमिटर दक्षिण पूर्व र मोरङको विराटनगर बरगाछी चोकदेखि करिब ९ किमी पश्चिममा पर्ने बर्जू ताललाई आन्तरिक तथा बाह्य पर्यटक माझ चिनाउन बर्जू महोत्सव आयोजना गरिएको बर्जू सामुदायिक विकास केन्द्रका अध्यक्ष समेत रहेका महोत्सव आयोजक कमिटीका अध्यक्ष बर्जू सामुदायिक विकास केन्द्रका अध्यक्ष श्रवण चौधरीले जानकारी दिए ।
पर्यटकीय सम्भावनाले भरिपूर्ण भए पनि प्रचार– प्रसारको अभावले ओझेलमा परेकाले यस क्षेत्रलाई चिनाउन बर्जुतालमा महोत्सवको आयोजना गरिदै आइएको छ ।
गाउँपालिका भित्र रहेको तालमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गीहरूको अवलोकनका साथै वनभोज खाने र रमाइलोका लागि बोटिङ फनपार्कको प्रचारप्रसार आवश्यक रहेको बताए ।