सुनसरी । कृषि पकेट क्षेत्र तोकिएको धरान उपमहानगरपालिकाको वडा नं. ५ का कृषकहरूले आफ्नो कृषि उत्पादनको मूल्य नपाउने गरेको बताएका छन् ।
आफ्नो मेहेनत अनुसारको उत्पादन गरेको वस्तु मूल्य आफैले तोक्न नपाउने गुनासो गरे । यस क्षेत्रका कृषकहरूले धान, मकै, कोदो लगायत सागसब्जी उब्जाउने गरेपनि कृषि सामाग्रीको उचित मूल्य नपाउँदा कृषि पेशाबाटै विस्थापित हुने अवस्थाको सिर्जना भएको गुनासो उनीहरूको छ ।
विचौलियाले भनेको मूल्यमा आफ्नो उत्पादन बिक्री गर्न बाध्य भएको धरान ५ का कृषक रोशन आचार्य बताउँछन् । विचौलियाले यतिमा बिक्री भयो भनेकै आधारमा आफूहरूले उत्पादन गरेको कृषि सामाग्री बिक्री गर्न बाध्य हुनुपरेको गुनासो उनको छ ।उनले भने हामी कृषि सामाग्री उत्पादन गर्छौ, तर मूल्य भने बिचौलियाले तोकिदिन्छ, यो भन्दा विडम्बना के छ ?’ उनले आफूहरूलाई बजार भाउ थाहा नहुँदा विचौलियाले भनेकै दाममा उत्पादन गरेका कृषि सामाग्री बिक्री गर्न बाध्य हुनु परेको बताए ।
उनीमात्र नभई यहाँका हरेक कृषको नियति उस्तै भएको अर्का कृषक टंक बहादुर न्यौपाने बताउँछन् ।
कृषकले परिश्रम गरेर उत्पादन गरेको कृषि सामाग्रीले उचित मूल्य नपाए पनि विचौलियाले फाइदा लिने उनि बताए । उनले भने आफूले मूल्य तोक्नुपर्नेमा विचौलियाले मूल्य तोकिदिनुपर्छ यो भन्दा ठूलो विडम्बना छैन, हाम्रो परिश्रम सबै विचौलियाले खाइदिएको छ ।यसैका कारण कृषि क्षेत्रमा जीवन विताएकाहरुले पनि कृषि पेशाबाट नै विस्थापित हुने अवस्था आएको उनीहरूको भनाई छ ।
उनीहरूले यही अवस्था आइरहे कृषि पेशा छोडेर अर्कै पेशा अङ्गाल्न बाध्य हुनुपर्ने अवस्था आउने बताएका छन् ।
सरकारले भूवर्गाीकरण निति अनुुसार काम गर्न नसक्दा यस्तो अवस्था आएको धरान ५ का वडाध्यक्ष मन प्रसाद लिम्बू बताउँछन् । सरकारले कृषि क्षेत्र र बसोबास गर्ने क्षेत्र नछुट्याउँदा कृषि भूमि छुट्याइदिँदा कृषकले पाउने सुविधाबाट कृषक बञ्चित हुनुपरेको उनको भनाइ छ । भूवर्गीकरण अन्तर्गत कृषि क्षेत्र र गैर कृषि क्षेत्र भनेर दुई भागमा वर्गीकरण गरेको छ, तर पानबारीलाई कृषि क्षेत्र भन्दा पनि बसोबासको क्षेत्रको रुपमा लिएको छ ।
कृषकहरुकै चाहानका कारण यो अवस्था सृजना भएको उनको भनाइ छ । पाँचकन्या गाविसबाट धरान उपमहानगरपालिकामा गाभिएपछि यहाँको जग्गाको भाउ आकासिएकोले कृषकहरूले नै पानबारीलाई कृषि क्षेत्रको रुपमा लिन नमानेको उनी बताउँछन् । उनले भने, ‘कृषि क्षेत्र घोषणा गर्दा राज्यले कृषकलाई दिने अनुदानदेखि लिएर प्राविधिक ज्ञान सबै दिने गर्छ तर यहाँकै कृषकहरू त्यो चाहँदैनन् ।’
धरान उपमहानगरपालिकामा नगाभिँदा साविक पाँचकन्या गाविस क्षेत्रका कृषकहरूको पेशा नै कृषि थियो । तर उपमहानगरपालिकामा गाभिएपछि यहाँको जग्गाको मूल्य ह्वात्तै बढेपछि कृषि क्षेत्र महँगो मूल्यमा धमाधम घडेरीमा बिक्री हुन थालेका छन् । भएका कृषि क्षेत्र र कृषकहरूलाई स्थानीय स्तरबाट नै संरक्षण गर्नुपर्नेमा त्यो गर्न सकेको छैन । धरान उपमहानगरपालिकाले पकेट क्षेत्रको रुपमा लिएको यो क्षेत्रमा पछिल्लो समय उत्पादन भएको कृषि सामाग्रीको मूल्य कृषकले नपाउने अवस्था सिर्जना हुनु र कृषियोग्य जमिन घडेरीमा बिक्री हुनुले पनि खेतियोग्य जमिन मासिदै गएका छन् भने विगतमा कृषि पेशा अँगाल्नेहरू पनि अन्य पेशातर्फ आकर्षित बन्दै गएका छन् । यसलाई रोक्नको लागि राज्यले स्पष्ट नीति ल्याउन जरुरी भइसकेको छ