मेहनत र लगनशीलता भए कम उमेरमै सफल व्यवसायी बन्न सकिन्छ भन्ने उदाहरण हुन् सागर पोखरेल। उनले ३१ वर्षको उमेरै ठूला सुपरमार्केटसँग प्रतिस्पर्धा गर्ने गरी 'साथी मार्ट' सञ्चालनमा ल्याएका हुन्।
ग्राहकले साथी मार्टका पसल र अनलाइन दुवैमार्फत् सामान किन्न सक्छन्। करिब डेढ वर्षको अन्तरालमै देशभर साथी मार्टका ८६ वटा फ्रेन्चाइज स्टोर खुलिसकेका छन्। एक सय वटा पुगेपछि 'सेन्चुरी केक' काट्ने योजनामा छन् सागर।
'एक महिनाभित्रमै एक सय वटा पुग्छ,' उनले खुसी हुँदै भने, 'त्यसपछि केक काटेर खुसी मनाउँछु।'
सागर सानैदेखि काम गर्ने स्वभावका थिए। विराटनगर घर भएका उनी परिवारका दोस्रो सदस्य हुन्। घरको आम्दानीको स्रोत खेतीपातीसँगै सानोतिनो व्यवसाय थियो।
उनले कक्षा दससम्म धनकुटामा पढे। त्यसपछि उनको परिवारै विराटनगर बसाइ सर्यो। त्यहाँ गएर उनी कक्षा ११ मा व्यवस्थापन संकायमा भर्ना भए। पढाइभन्दा काममा बढी मन लगाउने सागरले कक्षा १२ पढ्दै गर्दा एउटा नयाँ कम्पनीमा जागिर खुलेको थाहा पाए। मार्केटिङ कामका लागि आवेदन दिए।
'अनुभव नभएको फुच्चे केटोलाई के जागिर देला भन्ने सोचेको थिएँ,' उनी त्यो बेलाको अनुभव सुनाउँछन्, 'मभन्दा ठूला–ठूलाले आवेदन दिएका थिए। मैले नाम निस्केला भन्ने सोचेकै थिइँन।'
नाम निस्कियो। सागरको खुसीको सीमा रहेन। तर उनको जागिर खाने चाहमा परिवारको स्वीकृति भएन। त्यो बेला १८ वर्ष पनि पूरा नभएको छोरालाई पढ्ने बेलामा जागिर खान्छु भन्दा परिवारले मानेन। पढाइमै जोड दिन सुझायो।
सागरले भने निधो गरिसकेका थिए। परिवारको स्वीकृतिबिनै जागिर खान थाले।
त्यसपछि किताबकापी बोकेर कलेज जानुको साटो उनी कस्मेटिक्स (स्याम्पू, साबुन, फेसवास, मञ्जन लगायत) सामान झोलामा हालेर ग्राहकका घरघर धाउन थाले।
सामान बेच्न कहाँ सजिलो थियो र! कतिले एक घन्टा लगाएर सामान हेर्थे। अन्तिममा 'सानो मान्छे पढ्न छाडेर किन काम गरेको' भन्दै फर्काइदिन्थे।
'नयाँ कम्पनी थियो, चलेको ब्रान्ड थिएन। त्यसैले धेरै मेहनत गर्नुपर्थ्यो,' उनले सम्झे।
जागिरको संघर्ष छँदै थियो, त्यही जागिरका कारण सागर परिवारसँग पनि टाढा भएका थिए। उनी कोठा भाडा लिएर एक्लै बस्न थालेका थिए। तलब धेरै नभए पनि सामान बेचेअनुसार कमिसन राम्रो पाउने भएकाले उनलाई खर्च टार्न केही मुश्किल भएन।
'सामान धेरै बेच्ने भएकाले कमिसन राम्रो हुन्थ्यो,' उनले भने, 'अरूको भन्दा राम्रो गरेकाले मेरो बढुवा पनि भयो।'
उनले त्यहाँ एक-डेढ वर्ष काम गरे। त्यसपछि भने उनलाई जागिरमा अल्झिनुभन्दा आफैं केही गर्न मन लाग्यो। मार्केटिङको कामबाटै उनले सात/आठ लाख रूपैयाँ बचत गरिसकेका थिए। त्यही पैसा बोकेर उनी आफ्नो व्यवसायको बजार खोज्दै बुटवल पुगे। आफ्नो अनुभव भएकाले त्यहाँ मार्केटिङ कम्पनी नै खोले।
'आफ्नै नाममा दर्ता गरेको त्यो मेरो पहिलो कम्पनी थियो,' सागर भन्छन्, 'कमाएको पैसा घरमा दिएको थिइनँ। मलाई सर्पोट गर्नुहुन्न भने म पनि किन गर्नुजस्तो लाग्थ्यो।'
उनको कम्पनीले विभिन्न ब्रान्डका कस्मेटिक सामान तथा घर सफा गर्न प्रयोग गर्ने रसायनहरू बेच्थ्यो। पहिले काम गर्दा देशभर सञ्जाल बनाइसकेकाले काम गाह्रो भएन। उनले १८/२० जना सहयोगी राखेर काम अगाडि बढाए।
सागर त्यो बेला भर्खर २० वर्ष पुगेका थिए।
'उमेरले सानो थिएँ तर आफूलाई ठूलो लाग्थ्यो। म पाको देखिनकै लागि कोट लगाउने, दाह्री पाल्ने गर्थेँ,' उनले हाँस्दै भने, 'सुरूसुरूमा मिटिङहरूमा साथीहरू सर कहिले आउनुहुन्छ भनेर सोध्थे। मैले म नै हुँ भन्दा पत्याउँथेनन्।'
काम गर्दै जाँदा उनले बजार बुझ्दै गए, अझ निखारिँदै गए। अरूले उत्पादन गरेका सामान बेचिरहन मन लागेन। आफैं उत्पादन गरौं भन्ने जोस आउन थाल्यो। साथीहरूले पनि बेलाबेला अब त धेरै अनुभव भइसक्यो, आफैं उत्पादनतिर लाग भनेर उक्साउँथे।
युवा जोस र केही गरौं भन्ने हुटहुटी भएका उनी पनि के कम, २०६५ सालमा काठमाडौं आए।
'तर आफैं कस्मेटिक सामान उत्पादन गर्न त विज्ञान, त्यसमा पनि रसायनशास्त्र पढेको हुनुपर्थ्यो,' उनले भने, 'कक्षा बाह्र सकेर कलेज भर्ना मात्र भएको थिएँ। त्यो छाडेर कस्मेटिक सामानमा प्रयोग हुने रसायनबारे बुझ्न दिल्ली युनिभर्सिटी गएँ। एक वर्षको कोर्स गरेँ।'
त्यसपछि उनले कोटेश्वरमा कारखाना राखे र नेसनल ड्रग एन्ड अर्गानिक्स इन्डस्ट्री दर्ता गरे। कारखानाबाट क्रिम, स्याम्पू, साबुन, फेसवास, बडिलोसन, सन लोसनलगायत सामान उत्पादन हुन थाल्यो। यसको एक वर्ष पछि लिफा ब्रान्डमा सामान उत्पादन गर्न युनाइटेड सोप एन्ड हेल्थ केयर इन्डस्ट्री दर्ता गरे।
'पैसा मात्रै भन्दा पनि कुनै आफ्नै ब्रान्ड होस् जसले आफूलाई चिनाओस् भनेर उत्पादनतर्फ लागेको हुँ,' सागर भन्छन्।
उनका अनुसार कस्मेटिक सामानमा प्रयोग हुने कच्चा पदार्थ ७० देखि ८० प्रतिशत विदेशबाट आउँछ। यसमध्ये उनलाई चाहिने आधाजसो यहीँ पाइन्थ्यो, आधा भारतबाट ल्याउनुपर्थ्यो। उनी आफैं भारत पुग्थे, अहिलेजस्तो सामान कहाँ पाइन्छ भनेर सजिलै थाहा हुन्थेन। मुश्किलले भेला गर्थे।
त्यस बीचमा उनले केही समय गाउँले दाइहरूसँग मिलेर काठमाडौं र विराटनगरमा सहकारी पनि चलाए। त्यति बेला सरकारले सहकारीको शाखा खोल्न निश्चित संख्या तोकिदिएको थियो। त्यसपछि उनलाई त्यो काम गर्न मन लागेन।
दुईतिर काम थाल्दा उनको उद्योग भने डुबिसकेको थियो।
'मलाई नाम चाहिएको थियो। आफ्नो उत्पादनको लागत मूल्य नहेरी सामान बेच्न थालेँ,' उनले भने, 'मलाई यति पैसाले पुग्छ भन्ने भयो, यसलाई बढाउन पर्छ भन्ने नै लागेन। व्यवसायमा ध्यान नदिई सामाजिक कार्यमा लाग्ने साथीभाइलाई समय दिन थालेँ।'
एक वर्षमा उनले त्यतिन्जेल कमाएको सबै पैसा सकियो। उनी शून्यमा मात्र आएनन्, उल्टो ५० लाख ऋण लाग्यो।
केही समय उनलाई चिन्ता पनि भयो।
'तर शून्यबाटै आएको हुँ, शून्य नै भएँ भनेर मन बुझाउन थालेँ,' उनी भन्छन्।
तैपनि उनले हार मानेनन्। केही समयपछि सात जना साथीसँगको सहकार्यमा नेसनल इनोभेटिभ कम्पनी दर्ता गरे। उक्त कम्पनीमार्फत् उनकै पहिलाको उद्योगले उत्पादन गरेका सामान बेच्न थाले। उद्योगको आपूर्ति श्रृंखला बिग्रिएकाले पुरानै उत्पादन नयाँ कम्पनीबाट बिक्री गरेको उनी बताउँछन्।
अनलाइन किनबेच विस्तार हुन थालेको थियो। उनले यसकै फाइदा उठाएर अनलाइनबाट सामान बेच्न फेसबुक पेज बनाए। अरू घरायसी प्रयोजनका र किराना सामान पनि बेच्न थाले। पेजबाटै राम्रो अर्डर आउँथ्यो। होम डेलिभरी गर्न दुई जना कर्मचारी थिए। राम्रो चल्न थालेपछि त्यसैलाई कम्पनीमा रूपमा दर्ता गरे- स्मार्ट लाइफ।
उक्त व्यवसाय सफल हुँदै गयो। त्यसलाई विस्तार गर्ने सोचे र नाम फेरेर 'सफल साथी' राखे।
उनका अनुसार २०७७ सालसम्म आइपुग्दा सफल साथी नाममा चार–पाँच वटा किराना पसल खुलिसकेका थिए, 'अहिले साथी मार्टका केही स्टोर पहिले सफल साथीका रूपमा थिए। ती सानो किराना पसलजस्तै थिए।'
किराना सामानका सानै पसलबाट पनि राम्रो प्रतिक्रिया आएपछि सागरलाई साथी मार्ट फुरेको हो। अझै धेरै सामान राख्न पाए हुन्थ्यो भनेर सफल साथीकै समूहले साथी मार्टको योजना बनाउँदै थियो। तर यसमा लगानी धेरै लाग्ने र जोखिम हुने देखेपछि साथीहरू अलग्गिएको सागर बताउँछन्।
उनी भने पछि हट्नेवाला थिएनन्। आफ्ना नजिकका केही साथीलाई आफूले गर्न लागेको कामबारे बताए, उनीहरूलाई जोडिन आग्रह गरे।
'मैले लकडाउनमा जुमबाट वेबिनार गरेर साथी मार्टबारे साथीहरूलाई बुझाएँ,' साथी मार्टका संस्थापक एवं सिइओ सागरले भने।
सागरको अवधारणा मनपरेपछि उनीसँग तीन जना साथीले सहकार्य गर्ने भए। साथीहरूबाट ११ करोड लगानी जुटेपछि २०७७ साल भदौमा साथी मार्ट एन्ड कर्पोरेट प्रालि दर्ता भयो। पहिलेको सफल साथीलाई साथी मार्ट नै बनाए।
त्यही साल भदौ ३० गते साथी मार्टको पहिलो फ्रेन्चाइज बौद्धमा खुल्यो। त्यसपछि विस्तारै काठमाडौंबाहिर फैलिन थाल्यो। अहिले झापा, मोरङ, सुनसरी, महोत्तरी, धनुषा, बाँके, पर्वत, कास्की, रूपन्देही, बझाङ, मकवानपुर, अर्घाखाँची, बारा, नवलपुर, दोलखा, दार्चुला, कैलाली, लमजुङ धादिङ, गुल्मी, कपिलवस्तु, उदयपुर, सुर्खेत, बाग्लुङ, सल्यान, दाङ, पर्सा र रौतहटमा साथी मार्ट खुलिसकेका छन्।
'तर बाहिरी जिल्लामा स्टोर सञ्चालन गर्न निकै असहज भएको थियो। सुपर मार्केट र ठूला स्टोर नभएका ठाउँमा मार्ट खुल्दा सुरूमा त ग्राहकहरू जुत्ता-चप्पल खोलेरै भित्र छिर्थे। उनीहरूलाई बुझाउन धेरै समय लाग्यो,' उनले भने, 'हामीले ठूला स्टोर नभएका ठाउँमा किराना सामान किन्ने ठाउँका रूपमा मार्टको संस्कार विकास गर्यौं।'
इटहरी, मैतिदेवी र टोखामा खुलेका साथी मार्टमा कम्पनीको मात्रै लगानी छ। केही भने कम्पनी र फ्रेन्चाइज चलाउने दुवैको लगानीमा चलेका छन्।
साथी मार्टबाट सामान किन्न र के के पाइन्छ भनेर हेर्न यसको एप प्रयोग गर्न सकिन्छ। हाल एन्ड्रोइड मोबाइलमा मात्र साथी मार्टको एप उपलब्ध भए पनि छिट्टै आइओएसमा पनि ल्याउने तयारी रहेको सागर बताउँछन्।
सागरका अनुसार यो वर्ष साथी मार्टले ३०० प्रतिशतसम्म बिक्री बढाउने लक्ष्य राखेको छ। हाल साथी मार्टकै लोगो राखेर नेको र अर्गाना ब्रान्डका बीसथरी कस्मेटिक सामान उत्पादन भइरहेको छ भने केही समयपछि खाद्यान्न पनि उत्पादन गर्ने योजना कम्पनीको छ।
साथै बेरोजगार तथा नेपालमै केही गरौं भन्ने सोच भएका युवा लक्षित गरेर साथी मार्टले बिना लगानी व्यापार सुरू गर्न सकिने गरी 'साथी मार्ट एफिलिट स्टार्टअप प्लान' सञ्चालन गर्दैछ। यसमार्फत् यो वर्ष ३० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य रहेको सागर बताउँछन्।
यो योजनाअन्तर्गत साथी प्रोडक्सनका उत्पादन र साथी मार्टमा उपलब्ध अन्य सामान सिफारिस गरेर तीस प्रतिशतसम्म आम्दानी गर्न सकिने जानकारी उनले दिए।
त्यस्तै आगामी दिनमा कपडा (टिर्सट, प्यान्ट, सर्ट, एप्रोनलगायत) र विद्युतीय सामान (स्मार्टवाच, चार्जर, एयरबड लगायत) पनि उत्पादन गर्ने तयारी छ। उनी भन्छन्, 'प्रक्रिया अगाडि बढिरहेको छ। तीन-चार महिनापछि बजारमा आउँछ।'
सागरको आगामी तीन वर्षको सपना भने देशभरि एक हजार वटा साथी मार्ट खोल्ने हो। यसनिम्ति उनी तयारी पनि गरिरहेका छन्। उनका अनुसार हालसम्म कम्पनीको चुक्ता पुँजी २६ करोड पुगिसक्यो। आगामी वर्षको सुरूसम्ममा एक अर्ब पुँजी बनाउने लक्ष्य छ। अहिले कम्पनीबाट वार्षिक दुई सय करोडको कारोबार भइरहेको छ भने प्रत्यक्ष रूपमा सात सयले रोजगारी पाएका छन्।
आफ्नो नवौं व्यवसायका रूपमा साथी मार्ट फैलाइरहेका सागर भन्छन्, 'हामी ऋणमा छैनौं, आम्दानीलाई नै लगानी गर्दैछौं। छिट्टै आइपिओ पनि खोल्छौं।'
सुनिता सिटौला/सेतोपाटी