खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा छितातालमा टाढाबाटै सेताम्मे टनेल लहरै देखिन्छन् ।
समथल भू–भाग रहेको छितातालमा निर्माण गरिएका दर्जन बढी टनेलभित्र अकबरे खुर्सानी, क्यारिलोना (पिरो खुर्सानी), गोलभेँडा, तितेकरेला, काँक्रा, मुला, गाँजर, प्याज, बन्दा, काउलीलगायत विभिन्न जातका तरकारी तथा फलफूल लटरम्म फलिरहेका छन् ।
मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डबाट करिब २० मिनेट तल पर्ने छितातालमा ‘सालपा–छिता बहुउद्देश्यीय कृषि फार्म’ सञ्चालनमा छ । पर्यटकीय दृष्टिले रमणीय ठाउँ छितातालमा स्थानीय केशोर गुरुङ ‘युवराज’ले बहुउद्देश्यीय व्यावसायिक कृषि व्यवसाय सञ्चालन गरेका छन् ।
मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डबाट करिब २० मिनेट तल पर्ने छितातालमा ‘सालपा–छिता बहुउद्देश्यीय कृषि फार्म’ सञ्चालनमा छ । पर्यटकीय दृष्टिले रमणीय ठाउँ छितातालमा स्थानीय केशोर गुरुङ ‘युवराज’ले बहुउद्देश्यीय व्यावसायिक कृषि व्यवसाय सञ्चालन गरेका छन् ।
किसान युवराजले उत्पादन गर्नुभएको तरकारी तथा फलफूल विशेषगरी जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा खपत हुने गरेको छ । बेमौसमी खुर्सानी प्रतिकेजी रु चार सय ५० र गोलभेँडा प्रतिकेजी रु ७५ मा दिक्तेल बजारस्थित विभिन्न बिक्री केन्द्रमा आफैँले लगेर ठेगाउने (ठेक्कामा लिएर बेच्ने व्यक्तिलाई आफ्नो मूल्य लिएर दिने) गरेका छन् ।
विज्ञान विषयमा आइएस्सी तथा आइटी इञ्जीनियर अध्ययन गरेका ३६ वर्षीय उनलाई श्रीमती सरिता गुरुङले समेत सहयोग गर्दै आएकी छिन् । सरिता बिहान–बेलुका घरधन्दा गरेर बचेको दिउँसोको समय कृषि फार्ममा काम गर्छिन् ।
श्रीमान्–श्रीमती मिलेर सञ्चालन गरेको कृषि फार्मको आम्दानी देखेर छिमेकीहरू पनि उनीहरूको सिको गर्न थालेका छन् । गुरुङ दम्पतीको बहुउद्देश्यीय कृषि फार्म २४ रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको छ ।
बहुउद्देश्यीय कृषि फार्ममा अकबरे खुर्सानी दुई हजार दुई सय बोट र क्यारोलिना नौ सय बोट रहेको जनाइएको छ । बजारमा क्यारोलिनाभन्दा अकबरेको बढी माग रहेको युवराज बताउछन्। “बजारको मागलाई मध्यनजर गर्दै अफसिजन ९बेमौसममा उत्पादन हुने०का लागि अकबरे र क्यारोलिना एक–एक टनेल लगाइएको जनाइएको छ”, उनले भने, “अकबरेको माग धान्न नसकिने भएपछि टनेल थप्ने तयारी गरेका छौँ ।”
सो कृषि फार्ममा स्थानीय युवाले समेत आफ्नै गाउँमा रोजगारी पाएका छन् । फार्ममा आइपर्ने काममा सहयोग गर्न–गराउन ज्यालादारीमा दैनिक पाँच–छ जना युवालाई लगाउने गरिएको गुरुङ दम्पतीले बताएका छन् ।
यस वर्ष थप स्तरोन्नति गर्ने योजना रहेको फार्ममा यस वर्षबाट कर्मचारीका रूपमा पूर्णकालीन कामदार राख्ने तयारी गरिएको युवराजले बताए ।
गुरुङ दम्पतीले सोही कृषि फार्ममा तरकारी र फलफूलसँगै माछा र बाख्राखसीसमेत पालेका छन् । उनीहरुको बहुउद्देश्यीय कृषि फार्ममा अहिले दुईवटा पोखरीमा माछा तथा ३२ खसीबाख्रा रहेका छन् । कृषि फार्मबाट माछाका भुरासमेत ग्रडिङ गरेर (बढाएर) बिक्री गर्दै आएका गुरुङ दम्पतीले वार्षिक छ सय केजीभन्दा बढी माछा बिक्री गर्दै आएका छन् । ग्रास र कमनकार्प प्रजातिका माछा उत्पादन गर्दै आएका गुरुङ दम्पतीले गाउँघर तथा दिक्तेल बजारमा बिक्री गर्दै आएका छन् ।
बहुउद्देश्यीय कृषि फार्मबाट खसी वार्षिक सात–आठवटा तथा मसिनो पाठापाठी १०–१५ वटा बिक्री गर्ने गरिएको बताइएको छ । बैंकको ऋण लिएर व्यावसायिक कृषि फार्म सञ्चालन गरेका गुरुङ दम्पतीको एक छोरी छन् ।
कृषि व्यवसाय गर्ने कृषकका लागि बजारको समस्या भए पनि आफ्नै गाउँमा केही गरौँ भन्ने उद्देश्यले कृषि पेसा अङ्गालेको युवराजले बताए । “विदेशको मोह लागेन । ठूलो देश जानु बढी खर्च हुने । आफ्नै गाउँमा केही गरुम भन्ने उद्देश्यले कृषि व्यवसाय सुरु गरियो”, उनले भने, “अरुको खटनमा बस्नु परेन, सिर्जनशील हुनसके र मेहेनत गर्न सकेमा आफ्नै ठाउँमा पनि मनग्य आम्दानी गर्न सकिने रहेछ ।”
गुरुङ दम्पतीको बहुउद्देश्यीय कृषि फार्मलाई कृषि ज्ञान केन्द्र खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले टनेल सहयोग गरेको जनाइएको छ । दुई एमएस टनेलका लागि कृषि ज्ञान केन्द्र र दुई प्लास्टिक टनेलका लागि नगरपालिकाले आर्थिक सहयोग गरेको युवराजले बताए । रासस