काठमाडौं। माघी पर्वको अवसरमा थारु राष्ट्रिय माघी महोत्सव हुने भएको छ।
थारुहरुको पर्व माघीको अवसरमा काठमाडौंको टुँडिखेलमा पौष ३० गतेदेखि माघ १ गते सम्म ‘थारु राष्ट्रिय माघी महोत्सव २०७९’ आयोजना हुन लागेको हो।
थारु कल्याणकारिणी सभाको संयोजनमा आयोजना हुने महोत्सव माघी पर्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी थारु संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यका साथ गर्न लागिएको आयोजकले जनाएको छ।
‘थारु संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा हाम्रो अभियान, न्याय, समानता र अधिकारका लागि हाम्रो आन्दोलन’ भन्ने मुल नाराको साथमा हुन लागेको महोत्सव माघ १ गते मध्यान्ह १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने मुल आयोजक समिति सदस्य कानूनलाल चौधरीले जानकारी दिए।
उनका अनुसार महोत्सवमा थारु सांस्कृतिक झाँकी र्याली प्रदर्शन, सांस्कृतिक प्रश्तुती, थारु खानपिन प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला प्रदर्शन, पुस्तक प्रदर्शनी र बिक्री, मोटरसाइकल र्याली लगायतका विभिन्न कार्यक्रमहरु रहेको छ।
खानपिन, हस्तकला, पुस्तक प्रदर्शनी लगायतका १सय वटा स्टल राखिने सदस्य चौधरीले जानकारी दिए।
पुष ३० गते बिहान ७ बजे कोटेश्वरबाट मोटरसाइकल र्याली शुरु भई भृकुटीमण्डपमा समापन हुनेछ भने माघ १ गते बिहान १० बजे थारु संस्कृति, भेषभुसा, बाजागाजासहित वसन्तपुरमा जम्मा भएर झाँकी र्याली प्रदर्शनसहित रत्नपार्क परिक्रमा गर्ने कार्यक्रम रहेको अयोजकले जनाएको छ। महोत्सवको व्यवस्थापनका लागि करिव १५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ।