धनुषा। तीन दशकअघि धनुषाको मुख्य खाद्यान्न बाली कोदो (मडुवा) खेती अहिले लोप हुने अवस्थामा पुगेको छ । कोदो बालीलाई माडेर झारिने भएकाले मडुवा मात्रै भनेर पनि चिनिन्छ । व्यावसायिक खेती कम हुँदै गएपछि परम्परागत मुख्य खाद्यान्न बाली कोदो लोप हुने अवस्थामा पुगेको हो ।
तीन दशकअघि धनुषाको ढल्केबर, बटेश्वर, सखुवा महेन्द्रनगर, दिगम्बरपुर, धारापानी, लवटोली, गोदार, तुलसी, भरतपुरलगायतका गाविसमा कोदो खेती गरिन्थ्यो ।
स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदो बाली अहिले धनुषाको सीमित गाउँमा मात्र खेती गरिन्छ । रोटी र ढिँडोका लागि मात्र उत्तम ठानिने भए पनि अहिले स्वस्थ रहनका लागि भन्दै सहरी क्षेत्रका मानिसले यसका विभिन्न परिकार खाने गर्दछन् ।
तत्कालीन ढल्केबर गाविस हाल मिथिला नगरपालिका–६, का दानबहादुर खड्काले भने, “पहिले मुख्य खाना नै कोदाको रोटी, ढिँडो हुन्थ्यो तर अहिले मुख्य खाना भात भएकाले कोदो खेती विस्थापित भएको छ, । अहिले कोदोको रोटी, ढिँडोभन्दा भात नै खाने चलन नै भयो ।”
अहिले सहरी क्षेत्रमा यसको अत्यधिक माग भए पनि उत्पादन घट्दै गएको क्षीरेश्वरनाथ नगरपालिकाका किसान रामदेव यादवले बताए । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत वीरेन्द्रप्रसाद सिन्हाका अनुसार विस्थापित भएको बालीलाई दुई वर्षदेखि स्थापित गर्ने लक्ष्य राखे पनि सफल हुनसकेको छैन । कोदोको माग धेरै भए पनि खेती गर्ने किसान नभएपछि माग अनुसार जिल्लामै आपूर्ति गर्न नसकेको उनले बताए ।
कोदोको महत्तवका बारेमा थाहा नहुँदा कोदो खेतीप्रतिको आकर्षण घट्दै गएको हो । कोदोलाई औषधिका रूपमा समेत प्रयोग गरिनुका साथै निकै नै पोषिलो अन्नका रूपमा समेत लिइन्छ । अहिले कोदो देख्नै मुस्किल भएको मिथिला नगरपालिका पुष्पवलपुरका किसान गङ्गा महतोले बताए ।
क्षीरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरका किसान राजेश महतो गाउँघरमा हेपिएको खाद्यान्न अहिले सहर बजारतिर खोजीखोजी खान थालिएको बताउँछन्। उनले भने, “पहिला पहिला खेतमा लटरम्म फल्ने कोदो अहिले औषधिका लागिसमेत भेटाउन मुस्किल भएको छ ।’’ धान, गहुँ र मकै जस्तै कोदोलाई किसानले महत्तव नदिएका कारण लोप हँुदै गएको जेटिए ममता बलम्पाकीको कथन छ । बलम्पाकीले उच्च पहाडी भेगमा मुड्के र डल्ले, मध्यपहाडमा डल्ले र झाँप्रे तथा तराईमा झाँप्रे जातको कोदो उत्पादन गर्न सकिने बताए । मुड्के जातको कोदो स्वादका हिसाबले अत्यन्त उत्तम मानिन्छ ।
किसानको आकर्षण घट्दै जाँदा जिल्लामै कोदो खेती लोप हुँदै गएको हो । धनुषाका अधिकांश क्षेत्रमा कोदोको उत्पादन राम्रो भए पनि किसानले हिजोआज खेती गर्न छाडेपछि विस्तारै गाउँघरमा कोदो खेती कम हुँदै गएको हो । किसानले खेती गर्न छाडेपछि अहिले बीउ पाउनसमेत मुस्किल हुन थालेको किसान बताउँछन् । केहीले फाट्टफुट्ट कोदो खेती गरेपनि घरायसी प्रायोजनका लागि मात्र गरेको पाइन्छ । पहिले जस्तो बिक्रीका लागि भनेर कोदो खेती गर्न किसानले छाड्दै गएका हुन्।
बीस वर्षअघिसम्म पुष्पवलपुरका किसान श्याम गोलेले आफ्ना गाउँका सबै खेतबारीमा कोदो लगाउने गर्दथे । कोदोको उत्पादन पनि राम्रै हुन्थ्यो तर पछिल्ला समयमा उनले कोदोको व्यावसायिक खेती विस्तारै छाड्दै गएका छन् । “कोदो खेतीमै निर्भर भएर खेती गर्न किसानले छाडिसकेका छन्, हिजोआज बरु बाख्रापालन, तरकारीलगायतका नगदे बाली, फलफूल खेतीतर्फ किसान आकर्षित हुन थालेका छन्”, उनले भने ।
कम मेहनतमा उत्पादन बढी हुने र पोषणयुक्त खाद्यान्न बालीभित्र पर्ने भए पनि कोदो खेती लोप हुने अवस्थामा पुगेको वटेश्वर गाउँपालिका–५, शान्तिपुरका किसान अमरबहादुर थिङ बताउछन्। उनले पहिलेपहिले पाँच मुरीसम्म कोदो उत्पादन गरेको स्मरण गर्दै अहिले लगाउनै छाडेको बताउछन् । “धेरै दुःख गर्न नपर्ने कोदो पाकेपछि घरमै खरिद गर्न व्यापारी आउँथे, दुई÷चार पैसा पनि हुन्थ्यो अहिले त कोदो लगाउने जमिन वनमाराले भरिन थालेको छ”, उनले भने ।
परम्परागत रूपमै कोदोको ढिँडो, रोटी, पुवा र खोले बनाएर खाने चलन छ । सहर बजारमा कोदोको सुप बनाएर खाने गरिन्छ । कोदोबाट बिस्कुट, पाउरोटी जस्ता बेकरी बनाइन्छ । जाडोयाममा मरमसला वा मासु मिसाएर खोले खाने चलन छ । कोदो बालबालिकाका लागि सबैभन्दा उत्तम मानिन्छ । प्राथमिक स्वास्थ्य केन्द्र महेन्द्रनगरका सिनियर अहेव अशोक साहले कोदो पोष्टिक आहारको रूपमा सबैभन्दा राम्रो बाली भएको बताउछन् । उनले भने, “कोदोको महत्तवका बारेमा थाहा नहुँदा कोदो खेती गर्ने चलन हराएको हो । उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि कोदो उत्तम मानिन्छ ।”
कोदो खानाले यसमा भएको क्याल्सियमले गर्दा वृद्ध र बालकलाई चाहिने प्राकृतिक क्याल्सियमले गर्दा हाड मजबुत बन्न मद्दत पुग्छ । कोदोमा पाइने क्याल्सियम, फलाम, प्रोटिन रेशाको धनीको रूपमा लिइन्छ । यसले बोसोको मात्रा कम गराउँछ । मुटु, कलेजो र उच्च रक्तचाप भएका मानिसका लागि यो राम्रो खानाको रूपमा लिइन्छ । कम सिँचाइ, मल, मेहनतको प्रयोगले उत्पादन बढी लिन सकिने भए पनि कोदो खेतीको संरक्षण र जगेर्ना गर्नेतर्फ सम्बन्धित निकायले पहल गर्नुपर्ने देखिन्छ ।
कृषिविज्ञ डा. श्रीभगवान् ठाकुरका अनुसार कोदो नेपालमा अन्न बालीमा धान, गहुँ, मकै पछिको चौथो स्थानमा पर्छ । यो बाली प्राचीन समयदेखि खाद्यान्नको रूपमा देखिँदै आएको छ । कोदो खेती घट्दै गए पनि यसमा पाइने क्याल्सियमलगायत हाम्रो शरीरलाई चहिने महत्तवपूर्ण तत्वहरू पाइने हुनाले यसको माग सहरमा बढ्दो छ । कोदो उत्पादनमा नेपाल विश्वको १५औँ स्थानमा पर्छ । कोदो उत्पादन गर्ने देशमा भारत, चीन, युगान्डा, नेपाललगायत पर्छन् । विश्वको कुल उत्पादनको एक प्रतिशतमात्र नेपालले उत्पादन गर्ने खवर गाेरखापत्र अनलाइनमा प्रकाशित छ।