काठमाडौं । पोखराको मान्द्रेढुङ्गबाट प्याराग्लाइडिङको व्यवासायिक उडान हुने भएको छ ।
पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै विकल्पमा माघ १ गतेबाट प्याराग्लाइडिङको उडान मान्द्रेढुङ्गाबाट हुने भएको हो ।
विमानस्थल सञ्चालन आएपछि नेपाल नागरिक उडड्यन प्राधिकरणले सराङकोट, तोरिपानी र तामागी क्षेत्रमा प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो ।
प्राधिकरणले सराङकोट लगायतका स्थानबाट प्याराग्लाइडिङमा रोक लगाएपछि विकल्पमा मान्द्रेढुङ्गाबाट उडानको तयारी गरिएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले जानकारी दिए ।
“तालिका मिलाएर सराङ्कोटबाट उडान गर्न प्रयास गरेका थियौ”, उनले भने, “उक्त स्थानबाट सम्भव नभएपछि हवाई सुरक्षाका कारण नमिल्ने निष्र्कषसहित मान्द्रेढुङ्गाबाट उडान तयारी गरेका छौँ, प्राविधिक टोली र प्यारापाइलटको परीक्षण उडान भइरहेको छ ।”
यसअघि सराङकोटको एक हजार चार सय ५० मिटर उचाइबाट करिब सात हजार फिटको क्यापमा प्याराग्लाइडिङ उडान भइरहेकोमा मान्द्रेढुङ्ङगाबाट भने एक हजार सात सय ४० मिटर उचाइबाट छ हजार फिट क्यापमा उडान हुनेछ । यसअघि पनि मान्द्रेढुङ्गाबाट उडान भए पनि व्यावसायिक उडान नभएको भट्टराईले बताए ।
उक्त स्थानबाट पनि पोखरा र आसपासका सुन्दर हिमशृङ्खला, तालतलैया र प्राकृतिक सुन्दरतालाई अवलोकन गर्न सकिने भएकाले साहसिक खेलप्रेमीका लागि निकट भविष्यमै मान्द्रढुङ्गा उत्कृष्ट गन्तव्य भएको भट्टराईले बताए ।
हाल पोखरामा करिब ६० वटा प्याराग्लाइडिङ कम्पनी छन् भने ५० वटा अहिले सञ्चालनमा छन् । त्यसैगरी तीन सय ७६ जनाले प्यारापाइलटले उडान अनुमति लिएका छन् भने व्यावसायिक रुपमा दुई सय ५० जनाले उडान गरिरहेका छन् । पोखराको प्याराग्लाइडिङमा रू एक अर्ब बराबरको लगानी रहेको बताइएको छ ।
सराङकोटबाट करिब पाँच किलोमिटर पश्चिममा रहेको मान्द्रेढुङ्गाबाट हुने उडान पामेमा अवतरण हुनेछ ।