ओखलढुङ्गा। ओखलढुङ्गाको मूलखर्कमा १० लाख खर्च गरेर ‘डम्फु पार्क’ निर्माण गरिएको छ। तामाङ समुदायको बाहुल्य रहेको सुनकोसी गाउँपालिका–५ मूलखर्कमा १० लाख खर्च गरेर पार्क निर्माण गरिएको हो।
सुनकोसी गाउँपालिका केन्द्रसमेत रहेको मूलखर्कमा तामाङ समुदायको जीवन्त सङ्ग्रहालय बनाउने र आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले तामाङहरूको मुख्य बाजा डम्फुको पार्क निर्माण गरिएको वडा अध्यक्ष गोविन्दराम तामाङले बताए।
गत आर्थिक वर्षमा वडा कार्यालयको बजेटबाट पार्क निर्माण गरिएको वडा अध्यक्ष तामाङको भनाइ छ। पार्कका लागि तारजाली लगाउने, सिढी निर्माण साथै डम्फुको प्रतिमा खरिद र स्थापना गर्दा १० लाख खर्च भएको उनको भनाइ छ। सडककै बीचमा निर्माण भएको तामाङ समुदायको सांस्कृतिक बाजा पहिचानको प्रतीक ‘डम्फु’ पार्कले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने अपेक्षा रहेको वडा अध्यक्ष तामाङको भनाई छ।
‘डम्फु पार्क’ ले तामाङ समुदायको सांस्कृतिक बाजालाई संरक्षणमा टेवा पुगेको नेपाल तामाङ घेदुङ ओखलढुङ्गाका अध्यक्ष सुवास तामाङले बताएको खवर गोरखापत्र अनलाइनमा प्रकाशित छ।
डम्फु तामाङ जातिको छेवार, पास्नी, विवाह, व्रतबन्धलगायत शुभकार्यमा बजाइने सांस्कृतिक बाजा रहेको तामाङको भनाइ छ। जातीय पहिचान झल्काउने झाँकी, बाजा, भाषा संस्कार र संस्कृतिको संरक्षणमा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने अध्यक्ष तामाङले बताउनुभयो।
मूलखर्कमा डम्फु पार्क नजिकै गुम्बा निर्माण गरिनुका साथै स्थानीय मनकुमार तामाङले आफ्नै खर्चमा पहरामा बुद्धको मूर्ति बनाएर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने काम भइरहेको खवर गाेरखापत्र अन्लाइनमा प्रकाशित भएकाे छ।