पर्वत। घर वरिपरि मौरीका घारैघार। घरअघि ठूलो सुन्तलाको बगैँचा छ। बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी-२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो।
परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौं रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण टीकाराम बनेका छन्। विगत दुई दशकदेखि व्यावसायिकरूपमा मौरीपालन व्यावसाय गर्दै आएका कृषक तिमिल्सिनाले मह उत्पादन गरेर वार्षिक ३५ लाखसम्म आम्दानी गर्दै आएका छन्। उनको घरमा अहिले एक सयभन्दा बढी मौरीका घार छन् भने ‘सिजन’मा यसको सङ्ख्या अझै थपिने गर्दछ।
उनले ‘एपि सेरेना’ जातको मौरी पालनबाट मनग्य कमाइ गर्न सफल भएको बताए। सुरुका केही वर्ष चिसोका कारण ५० प्रतिशत घाटा व्यहोरेका किसान तिमिल्सिनाले पछिल्ला वर्ष सोचेजति नै आम्दानी हुने गरेको जानकारी दिए। उनले वर्षमा दुईपटक मह निकाल्ने गरेका छन्। विसं २०५७ बाट व्यावसायिक माहुरीपालन गर्न थालेका कृषक तिमिल्सिनाको मुख्य आम्दानी यही नै हो।
उनले उत्पादन गरेको मह धेरै मात्रामा घरबाटै बिक्री हुने गरेको छ भने काठमाडौं, चितवन, बुटवललगायत बजारमा ब्रान्ड बनिसकेको छ। तिमिल्सिना जिल्लाकै नमूना मौरीपालक किसान हुन्। गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुन्छ। उनले भने, ‘कुश्माबजार, बागलुङ, काठमाडौँ, पोखरा र बुटवललगायतका क्षेत्रबाट पनि व्यवसायी घरमै आएर लैजाने गरेका छन्।’
विभिन्न संस्थाको सहयोगमा तालिम लिएपछि तिमिल्सिना मौरीपालनमा हौसिएका थिए। उनले महमात्र बिक्री गर्दैनन्। मौरीको घार र गोलासमेत बिक्री गर्ने गर्छन्।
मौरीसहितको घार बिक्रीबाट बर्सेनि २० लाखभन्दा बढी आम्दानी हुने उनले बताए। उनको व्यवसायमा श्रीमती र छोराछोरीले समेत सहयोग गर्ने गरेका छन्। उनले वर्षमा तीन सय घारसम्म बिक्री गर्ने गरेका छन्।
मौरीसहितका घार प्रतिगोटा नौ हजार र मह प्रतिकिलो एक हजारमा बिक्री गर्दै आएको उनले बताए। विभिन्न पालिकाले अनुदानमा वितरण गर्ने घार र मौरीको स्रोतसमेत तिमिल्सिनाको फार्म बनेको छ। उनले एक सिजनामा सात क्विन्टलभन्दा बढी मह काढ्दै आएको अनुभव सुनाए।
सो जातको माहुरीको महभिर माहुरीकै जस्तै गुणस्तरीय हुने भएकाले राम्रो फाइदा हुने भनाइ कृषक तिमिल्सिनाको छ। अन्य जातको माहुरीको मह गुणस्तरीय नहुने भएकाले मूल्य कम पर्छ। त्यसमा पनि वनजङ्गलको जडीबुटी खाएका माहुरीको मह भएकाले गुणस्तर बढेको हो। मह राम्रो भएकाले बिक्रीका लागि समस्या नभएको तिमिल्सिना बताउँछन्।
मौरीपालनमा अन्य पेसा व्यवसायजस्तो एकैपटकमा लाखौँ लगानी गर्न नपर्ने तर आम्दानी उल्लेख्य हुने यस व्यवसायमा लागेकाहरू बताउँछन्। तरकारी खेती, पशुपक्षी तथा कुखुरापालनमा जस्तो निरन्तर खट्नुपनि नपर्ने भएकाले मौरीपालनमा किसानको आकर्षण बढेको अर्का अगुवा कृषक उमाकान्त शर्माले बताए।
उनका अनुसार अहिले जिल्लाका देउपुर, मल्लाज, भङ्गरा, कुर्घा, ठानामौला, पाङराङ, बाच्छा, लुङ्खुलगायत व्यावसायिक मौरीपालक किसानले बर्सेनि सय बढी मौरीसहितका घार उत्पादन गरेर बिक्री गर्दै आएका छन्। सोही अनुपातमा महसमेत उत्पादन भइरहेको छ। रासस