बर्दिबास । महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा रहेको खयरमाराका किसानले करोडौँ रुपियाँको गोलभेँडा उत्पादन गरेका छन् । यो गाउँका चार सय किसान परिवार अहिले चैते गोलभेँडा लगाउन व्यस्त छन् ।
यहाँका किसानका अनुसार खयरमारामा वार्षिक २० करोड रुपियाँको गोलभेँडा उत्पादन हुने गरेको छ । वर्षको दुई पटक उत्पादन लिन सकिने र व्यापारीले घरमै आएर खरिद गर्ने हुँदा सिङ्गो गाउँँ व्यावसायिक गोलभेँडा खेतीमा संलग्न छन् ।
बर्दिबास नगरपालिका–१० मा पर्ने खयरमारा महोत्तरी जिल्लाको एक मात्र गाउँ हो, जहाँ साउन र माघमा गरी वर्षको दुई पटक गोलभेँडा खेती लगाइन्छ । साउनको बेर्नाले असोजदेखि र माघमा रोपेको चैतदेखि फल्ने हुँदा यहाँ वर्षभरि नै गोलभेँडा उत्पादन हुँदै आएको छ ।
अन्नबालीभन्दा धेरै आम्दानी
पाँच/सात वर्षअघि विमल र देवी श्रेष्ठले गाउँमा गोलभेँडा खेती सुरु गर्नुभएकामा तीन वर्षदेखि पूरै गाउँमा गोलभेँडा लगाउन थालिएको हो ।
कृषक लक्ष्मण श्रेष्ठका अनुसार परम्परागत अन्नबालीको तुलनामा सोचेभन्दा बढी आर्थिक उपार्जन हुन थालेपछि गोलभेँडा खेतीप्रति गाउँलेको आकर्षण बढेको हो । ‘यहाँ डेढ सय बिघामा टमाटर खेती हुने गरेको छ । यस क्षेत्रका भालुजोडा, आरन डाँडा, घिसिङ टोल, मूल खोलालगायत चुरेको फेदीदेखि डाँडासम्म यो खेतीको विस्तार भएको छ,’ श्रेष्ठले भने।
अहिले सरदर प्रतिकट्ठा ६४ हजार अर्थात् प्रतिबिघा १२ लाखदेखि १३ लाख रुपियाँको गोलभेँडा उत्पादन हुने कृषक श्रेष्ठले बताए । यो हिसाबले यस क्षेत्रमा वार्षिक २० करोड रुपियाँको गोलभेँडा उत्पादन हुँदै आएको छ । गोलभेँडा खेती गर्न थालेदेखि गाउँलेको जीवनस्तर पनि फेरिन थालेको छ । आरन डाँडाकी बदमाया श्रेष्ठले १० कट्ठा जग्गामा अन्नबाली लगाउँदा एक लाख रुपियाँ पनि आम्दानी नभएकामा पोहोर साल पाँच कट्ठामा गोलभेँडा खेती गरेर तीन लाख रुपियाँ आम्दानी भएको बताए ।
सोही ठाउँका ८० वर्षीय तुलमान श्रेष्ठले यसअघि २० हजार रुपियाँको अन्नबाली उत्पादन गरिरहनुभएकामा चार कट्ठा खेतमा लगाएको गोलभेँडाबाट खर्च काटेर दुई लाख रुपियाँ बचत भएको बताए । उनि अहिले १८ कट्ठामा गोलभेँडा खेती गर्ने सोचमा छन् ।
यहाँको गोलभेँडा खेतीले तरकारी व्यापारीलाई पनि आकर्षण गरेको छ । खेतमै भेटिएका तरकारी व्यापारी कपिलदेव महतोका अनुसार गोलभेँडा स्थानीय बजारमै खपत भए पनि यहाँ उत्पादन हुने खुर्सानी भने भारतीय बजारसम्म पुग्ने बताए ।
छैन सरकारी सहयोग
दुर्गम भेगका कृषकले गरेको अनुकरणीय उद्यमशीलतालाई भने राज्यको कुनै पनि निकायले सम्बोधन नगरेको स्थानीय कृषकको गुनासो छ । नगरपालिकादेखि प्रदेश, सङ्घ, निर्देशनालय, कृषि ज्ञान केन्द्रबाट कसैले चासोसमेत नलिएको गाउँलेको दुखेसो छ । आफ्नो नगरपालिकामा गोलभँेडाको व्यावसायिक खेती भएको सम्बन्धमा नगरप्रमुख प्रह्लाद क्षेत्री र जलेश्वरस्थित कृषि ज्ञान केन्द्रका प्रमुख डा. रामचन्द्र यादवले अनभिज्ञता प्रकट गरे।
नगरप्रमुख क्षेत्रीले असारमा सम्पन्न नगर परिषद्लाई लिखित सम्बोधन गर्दै ‘अब कृषि र कृषकमैत्री योजना बनाइने’ भनी आश्वासन दिएका थिए तर, नगरपालिकाले गोलभेँडा खेतीलाई चालू आवको बजेटमा सम्बोधनसमेत गरेको छैन ।
नगरपालिकाको चालू बजेटमा मल्चिङ प्लास्टिकका लागि साढे दुई लाख र वर्षको दुई पटक तरकारीको निःशुल्क बीउबिजन वितरणका लागि भनेर पाँच लाख रुपियाँ विनियोजन गरेको छ तर स्थानीय गोलभेँडा कृषकले भने अहिलेसम्म कुनै पनि सहयोग नपाएको बताएका छन् । नगरप्रमुख क्षेत्रीले उत्तरी भेगका गोलभेँडा कृषकसँग स्थलगत भेट गरेर सहयोगको पहल गर्ने बताए ।
प्राविधिक ज्ञान नहुँदा अनुमान र अनुभवका आधारमा खेती लगाउन कृषक बाध्य छन् । सहज सिँचाइ, मल, बीउबिजन, मल्चिङ प्लास्टिकको समेत व्यवस्था नहुँदा गोलभेँडा खेती महँगो र झन्झटिलो हुँदै गएको छ । एक कट्ठा गोलभेँडा खेती गर्न १५ देखि २० हजार रुपियाँ खर्च हुने गरेको कृषकको भनाइ छ । कोल्ड स्टोर नहुँदा यहाँका कृषकले उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् । समयमै बेचेन भने फल बिग्रने डर हुँदा व्यापारीले तोकेको मूल्यमा बेच्नुपर्ने बाध्यता रहेको खवर गोरखापत्र अनलाइनमा प्रकाशित भएको छ ।