काठमाडौं । सन् २०२२ मा नेपाल ६ लाख भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार गत वर्ष ६ लाख १४ हजार १ सय ४८ पर्यटक नेपाल भित्रिएका हुन् । यो कोरना महामारी पछि कै सबैभन्दा धेरै संख्या हो ।
कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र विस्तारै जुर्मुराउन थालेको छ । पर्यटन बोर्डका अनुसार नेपाल भित्रिने पर्यटक मध्ये सबैभन्दा बढी सार्क राष्ट्रका पर्यटककहरु रहेका छन् । र्बोडले दिएको जाकारी अनुसार सार्क राष्ट्र पर्यटकको संख्या २ लाख ४६ हजार रहेका छ भने युरोपेली मुलुकबाट एक लाख ३३ हजार जना र अमेरिकी मुलुकका ८६ हजार पर्यटक नेपाल आएका छन् ।
बोर्डको तथ्याङ्कअनुसार सन् २०२२ को जनवरीमा १६ हजार ९ सय ७५ जना विदेशी नेपाल भित्रिएका थिए । त्यस्तै फेब्रुअरीमा १९ हजार ७ सय ६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५ सय ८९, मेमा ५३ हजार ६ सय ८, जुनमा ४६ हजार ९सय ५७, जुलाईमा ४४ हजार ४ सय ६२, अगस्टमा ४१ हजार ३ सय ४, सेप्टेम्बरमा ५८ हजार ३ सय१४, अक्टोबरमा ८८ हजार ५ सय ८२, नोभेम्बरमा ७२ हजार ६ सय ३५ जना र डिसेम्बरमा ६७ हजार ९सय २३ पर्यटक नेपाल भित्रिएका थिए ।
कोरोना महामारी पछि नेपालको पर्यटन क्षेत्र थप चलायमान बन्दै गएको र्बोडका कार्यकारी निर्देशक धनञ्जय रेग्मी बताउँछन् । नेपालमा पर्यटनको दोस्रो ठूलो बजार मानिएको चीनबाट पर्यटक आउन नसक्दा एक लाख १५ हजारको हाराहारीमा चिनियाँ पर्यटक घटे पनि गत वर्षको तुलनामा ६५ प्रतिशत सुधार भएको उनले बताए ।
पछिल्लो समय भारतीय पर्यटकको आगमन थप सुधार देखिएको छ । कोरोनाका कारण लामो समय घरभित्रै सीमित रहेकाहरू बिस्तारै भ्रमणमा निस्कन लागेकाले पर्यटन आगमनमा थप सुधार हुँदै जाने रेग्मीको विश्वास छ ।
भारतसँगका २१ वटै नाकामा सडक मार्गबाट आउने पर्यटक धेरै रहेको र तथ्याङ्कमा नआएपछि सडक मार्गबाट आउने पर्यटकको सङ्ख्यासमेत गणनामा ल्याउन गृह मन्त्रालयसँग तथ्याङ्क राख्ने तयारी भइरहेको उनले जानकारी दिए ।
नेपाल प्रवद्र्धनको अभियान अन्तर्गत भारतीय पर्यटक बढाउन भारतका सबै राज्यका ट्राभल एसोसिएसन अफ इन्डियाका ७० जना एजेन्टलाई यही जनवरी २८ देखि नेपाल भ्रमणमा बोलाउने र काठमाडौँ, पोखरालगायतका प्रमुख पर्यटकीय गन्तव्यको अवलोकन गराउने बोर्डको तयारी रहेको छ ।
पर्यटकको संख्या तुलानात्म रुपमा बढे पनि खर्चालु पर्यटकहरुलाई आकर्षित गर्न योजना बनाएर अगाडी बढ्ने तयारीमा बोर्ड रहेको छ ।