भैरहवा। कोरोना महामारीबाट थलिएको पर्यटन क्षेत्रमा कोरोनापछि अन्तर्राष्ट्रिय पर्यटक आउन थालेका छन् । यसबाट पर्यटन व्यवसायी उत्साहित छन् । गत वर्ष ९६ मुलुकका पर्यटक र तीर्थयात्रीले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् ।
लुम्बिनी विकास कोषको तथ्याङ्कअनुसार सन् २०२२ मा ९६ वटा मुलुकका २३ हजार ९ सय ९२ विदेशी पर्यटक लुम्बिनी आएका छन् । कोरोना महामारीको चेपुवामा परेको सन् २०२१ को तुलनामा सन् २०२२ मा ९५ प्रतिशतभन्दा बढी विदेशी पर्यटक आएका हुन् । सन् २०२१ मा ६८ मुलुकका एक हजार १ सय ९७ विदेशी पर्यटक यहाँ आएका थिए । २०२२ मा दुई लाख ३० हजार ४१३ जना भारतीय पर्यटक आएका थिए ।
चिलीबाट २३ पर्यटक, चीनबाट ४सय३२ पर्यटक यहाँ आएका छन् । रुसको आक्रमणबाट तहसनहस भएको युक्रेनका पनि २० पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । सन् २०२१ मा भियतनामबाट १५ जना आएका थिए भने २०२२ मा सबैभन्दा बढी छ हजार ६ सय ७३ जना आएका छन् । २०२१ मा थाइल्याण्डबाट १० जना आएकोमा गत वर्ष चार हजार ३ सय ८० पर्यटक यहाँ आएका छन् ।
श्रीलङ्काबाट एक हजार ८ सय ८५ र म्यानमारबाट एक हजार ४ सय ९५ पर्यटक लुम्बिनी आएका छन् । जर्मनीबाट ९ सय ५०, फ्रान्सबाट ६ सय ६१, नेदरल्याण्ड्सबाट ४ सय ७९, स्पेनबाट ३ सय ७३, इटलीबाट २सय५ र डेनमार्कबाट एक सय पर्यटक आएको लुम्बिनी विकास कोषले जानकारी दिएको छ । कोषका अनुसार क्यानाडाबाट १ सय २८, बेल्जियम १ सय ३९, अष्ट्रेलियाबाट २ सय ४०, दक्षिण कोरियाबाट ६ सय १७ र जापानबाट १ सय ९३ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।
गत जेठमा बुद्धजयन्ती समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आवागमनपछि भारतीय पर्यटक पनि बढेका छन् । अहिलेसम्मकै सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् ।
अक्टुबर, नोभेम्बर र डिसेम्बर तीन महिनामा मात्रै एक लाख एक हजार ६ सय २१ पर्यटक आए । “भारतीयहरु मोदीप्रति निक्कै आस्था र विश्वास राख्छन् । त्यसैले उहाँ जाने घुम्ने ठाउँ पछ्याउँदै पुग्न पनि भारतीय निक्कै लालायित हुन्छन्”– अधिकृत गौतमले भने ।
यसले कोभिडपछि थलिएको यहाँको पर्यटन प्रवर्धनलाई राम्रो ऊर्जा थपेको उहाँले बताए । लुम्बिनीको प्रचार भारतभर फैलिनु नेपालीको शिर विश्वभर उँचो हुने अवसर भएको उनले बताए। २०२१ मा ४३ हजार ७ सय ३२ भारतीय यहाँ आएका थिए । २०२० मा ३७ हजार २ सय ९६ भारतीय आएकाे खवर गाेरखापत्र अनलाइनमा प्रकाशित छ ।