सर्लाही। सर्लाहीको बागमती नगरपालिका–४ मा निर्माण भएको देशकै सबैभन्दा ठूलो मानवनिर्मित भरत ताल मधेस प्रदेशकै प्रमुख पर्यटकीयस्थलको रूपमा दरिएको छ तालमा आन्तरिक एवम् बाह्य पर्यटकको चाप दिनानुदिन बढ्दो छ। यस ताल र यसको वरपरको पर्यटकीय विकासको अध्ययन र अवलोकन भ्रमणका लागि देशका विभिन्न पालिकाका जनप्रतिनिधिहरू आउने क्रम पनि बढ्दो छ। कलकल बग्ने बागमती नदी र छेउमा बन्दै गरेको रेलको लिगले समेत हरेक पर्यटकको मन लोभ्याउने गर्दछ। हावाको वेगसँगै तालमा छल्किने पानीले पर्यटक रोमाञ्चित बन्ने गरेका छन्।
देशका अन्य नगरपालिका र गाउँपालिकाले भ्यू टावरबाट आम्दानी बढाउने योजना अघि सारिरहँदा सर्लाहीको बागमती नगरपालिका मेयर भरतकुमार थापाले भने पृथक् काम गरेर देखाए, जसकारण यसपटकको स्थानीय चुनावमा पनि उनी चुनिए। औपचारिक नामकरण नभए पनि भरत ताल’ को नामले १४ वटा फुटबल मैदान जत्रो यस पोखरी चर्चित बन्न पुगेको छ।
नगरले पोखरीलाई ’बागमती माछा पोखरी बनाउने योजना तयार पारेतापनि स्थानीयले भरत ताल नामकरण गरिदिएका छन्। हाल सबैले यस ताललाई भरत ताल नै भन्ने गरेको पाइन्छ। नगरपालिकाले आम्दानीको स्रोत बढाउन माछा पाल्ने लक्ष्य राखेर २०७६ सालमा पोखरी खन्न थालेको थियो बाँझो जमिन खन्दै जाँदा ठूलो ताल बनेको हो त्यसपछि ताल घुमफिरका लागि आकर्षणको केन्द्र बन्न पुगेको हो।
नगर प्रमुख थापाको विशेष पहलमा करिब १२१ बिघा क्षेत्रफलमा निर्माण गरिएको यस तालको गहिराइ १५ देखि ४५ फिटसम्म रहेको छ। गर्मी याममा यहाँ मोटर बोट चढेर आनन्द लिन र मनोरञ्जनका लागि स्थानीय र वरपरका जिल्लाका पर्यटक यहाँ आउन थालेका छन्। बिदाको दिन परिवारसहित ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ आउने गरेको पाइन्छ तालमा हंसराज प्रजातिको हाँस पालिएको छ र आगामी दिनमा माछापालन समेत गरिने कार्ययोजना रहेको छ। तालको नजिकै सुमेरू पर्वत बनाउने, शिवमूर्ति बनाउने र मिनी नेपालको कल्पनासमेत गरिएको नगरप्रमुख थापाले बताए।
नगर उपप्रमुख लीलाकुमारी मोक्तानका अनुसार, ’ताललाई व्यवस्थित गर्दै बगैंचा, पार्क र वनभोजस्थलका रूपमा पनि विकास गरिने योजना नगरपालिकाले प्राथमिकतामा राखेको छ। तालको वरिपरि बगैंचा तथा घेराबेराको काम सम्पन्न हुने क्रममा रहेको देखिन्छ। तालको वरिपरि खाजा घरहरू धमाधम निर्माण भइरहेका छन् पानीको कमी हुन नदिन बागमती नदीबाट पानी हाल्ने व्यवस्था मिलाइएको छ। पानीको निकासको प्रबन्ध पनि छ।
चुरेकै काखमा रहेको यस तालमा ३५ सिट क्षमता भएको जेटबोट सञ्चालनमा आएको छ भने अन्य साना बोट (मिनी क्रुज ) हरूमा पनि आन्तरिक एवम् बाह्य पर्यटकको भीड लागिरहेको पाइन्छ। तालको सुन्दर दृश्य, तालपारि देखिने चुरे पर्वत, तालमा पौडिँदै गरेका हाँस र तालमा सरर हिँडिरहेका मोटर बोटले पर्यटकको मन लोभ्याउने गरेको छ। तालमा फोटो खिच्ने, टिकटक बनाउने, बोटमा यात्रा गर्ने तथा ताललाई नजिकबाट नियाल्दै खाजा खाने, साथीभाइ भेट्ने तथा रमाइलो गर्ने पर्यटकको सङ्ख्या बढिरहेको देखिन्छ।
भरत ताल मधेस प्रदेशको नयाँ तर आकर्षक पर्यटकीय गन्तव्यको रूपमा दरिएको छ तालमा घुम्न आउने आन्तरिक पर्यटकले दुई सयको टिकट काट्नुपर्दछ जोखिम रहेकाले उक्त तालमा मानिसलाई पौडी खेल्न र माछा मार्न निषेध छ।
तालको चर्चा चुलिएसँगै स्थानीयस्तरमा हुने रोजगारी, व्यवसाय विस्तारले पनि यो भेगका सर्वसाधारणको जनजीवन उकास्ने देखिन्छ। पोखरीका कारण पाँच किलोमिटरको दूरीमा रहेको रौतहटको नुनथर क्षेत्र र सर्लाहीको बागमती– ११ मा पर्ने हरिहर क्षेत्रमा घुम्ने पर्यटकसमेत बढ्दै गएका स्थानीयवासी बताउँछन् ताल र वरपरिको संरचना बनाउन नगरपालिकाले ६० करोडभन्दा बढी रकम खर्च गरिसकेको छ।
नगरपालिका ४ र १२ नम्बर वडाको बीचमा रहेको ताल सौन्दर्यकरणमा व्यापक अनियमितता भएको भन्ने खबरहरू पनि पछिल्लो समय सार्वजनिक नभएका होइनन्, तर मेयर थापाले बहुउद्देश्यीय काम गरेर देखाएका छन्। मधेसमा चुरे दोहनले पानीका मुहान दिन प्रतिदिन सुक्दै गइरहेका बेला तालले पानी रिचार्ज गरिरहेको छ। पहिले सुकेका तल्लो भेगका कुवा र इनारमा ताल निर्माणपछि पानी भरिन थालेको छ।
कसरी पुग्ने ?
यो पोखरी पुग्न पूर्व–पश्चिम लोकमार्गबाट दुईवटा बाटा छन् पूर्वबाट आउँदा बागमती पुलदेखि एक किलोमिटर वरैबाट क्षेत्रीय बाटो प्रयोग गर्न सकिन्छ भने पश्चिमबाट आउँदा बागमती पुल काट्नेबित्तिकै बागमती किनारैकिनार तीन किलोमिटर दक्षिण गएपछि पुगिन्छ। टुर न्यूज