कुईभीर
छिनछिनमा बदलिरहने मौसममा लुकामारी खेल्दै रमाउन सकिने कुइभिर पर्यटकीय क्षेत्र देउमाई नगरपालिका १ मा अवस्थित छ । कुईभीर पुग्न इलाम सदरमुकामबाट मेची राजमार्ग समातेर डेढ घण्टा यात्रामा पुगिने ढप्पेटारबाट उकालो लाग्नुपर्छ । शेर्पा समुदायको बस्तीमा अर्गानिक परिकारका स्वादमा रमाउँदै २ घण्टाको पदयात्रा गरेपछि कुईभीरको चुचुरो पुगिन्छ ।
कुईभीर धार्मिक, सांस्कृतिक, जैविक विविधता, वन्यजन्तु, चराचुरूङ्गी, जडीबुटी र वनैभरि फुल्ने अनेकौं प्रजातिका लालीगुराँसले सजिएको हुन्छ कुईभीर क्षेत्रमा पर्ने उर्गेन साङ्छ्योलिङ गुम्बा बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्रसँगै पर्यटकको गन्तव्य पनि हो । तत्कालीन इलामका बडाहाकिम सन्तवीर लामाको सक्रियतामा निर्माण भएको प्राकृतिक पदमार्ग समातेर बौद्ध गुम्बाबाट अगाडि बढेपछि जोरपोखरी र देउमाई पोखरी पुगिन्छ ।
जैविक विविधताले भरिपूर्ण रहेका दुई पोखरीको इतिहास रोचक छ परापूर्व कालमा घना जङ्गलको बीचमा रहेको जोरपोखरी संरक्षणको अभावमा पुरिँदै गए पनि यसको अस्तित्व अझै कायम छ लोपोन्मुख वन्यजन्तु र चराचुरूङ्गीको प्यास मेटाउने पोखरीको संरक्षण गर्न सके लोप हुँदै गएका जलचरको पनि संरक्षणमा सहयोग पुग्न देखिन्छ छेउमै रहेको देउमाई पोखरीको इतिहास झनै रोचक छ ।
प्रकृतिको उपहार देउमाई पोखरी २०४५ सालको भुकम्पसँगै क्षतबिक्षत भएपछि खुल्ला चौरमा परिणत भयो तथापि प्रकृति प्रेमी र संरक्षणकर्मी पुनः संरक्षणको अभियानमा छन् । पोखरीवरिपरि फाँटिला क्षेत्र प्रसस्त रहेकाले वनभोज स्थलको रूपमा समेत यो ठाउँलाई विकास गर्न लागिएको छ ढकमक्क फुल्ने गुराँस चाँप, चिमाल र लेकाली फूलमा रमाउँदै देउमाई पोखरीबाट १ घण्टाको यात्रामा कुईभीर पुगिन्छ । भुइँकुहिरोभित्र अजङ्ग भएर बसेको कुईभीर पहाडबाट दर्जनौं हिमालका दृश्य, सूर्योदय, नेपाल र भारतका अनेकौं क्षेत्र आँखैअगाडि देख्दा आहा कुईभीर चढ्नुको मज्जा वर्णन गरेर साध्य छैन ।
प्राकृतिकरूपमा चित्राले सजिएका गोठमा खाँदा र बस्दाको मज्जा झन बेग्लै छ कुईभीर वरपरका जङ्गलमा पाइने लोपोन्मुख वन्यजन्तु रेडपाण्डाले विश्वभरका पर्यटक र वन्यजन्तुकर्मीको मन तानेको छ देउमाई र पाँचथरको फाल्गुनन्द गाउँपालिकाको मिलनस्थल कुईभीर हुँदै पूर्वी नेपालकै प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर पदयात्रा गरिने भएकाले कुईभीर अजङ्गको भीर पहाड नभई घुमफिरको उत्कृट गन्तव्यस्थल हो कुईभीर पहाडको इलामतिर कुहिरोले छोप्ने र पाँचथरतिर कुहिरोले नछोप्ने हुँदा दुई जिल्लाको सिमाना कुहिरोबाटै छुट्टिन्छ ।
गुफाथुम्की डाँडा
देउमाई नगरपालिकाको पर्यटकीय गन्तव्य गुफाथुम्की डाँडा हो । बौद्धमार्गी भिक्षुहरूले डांडामा बसेर साधना लिने गरेकाले अग्लो डाँडालाई गुफाथुम्की नामकरण गरिएको किम्बदन्ती छ । बौद्धमार्गीहरूले विक्रम सम्बत १९८० सम्म आफनो साधना केन्द्र गुफाथुम्कीलाई बनाएको अध्ययनबाट थाहा पाइन्छ । डाँडाको बीचमा रहेको घुमाउने पोखरीको छालले चरन क्षेत्रमा पुगेका गाईबस्तु बगाएपछि घना जङ्गल मासेर पोखरी पुरिएको कथन पनि सुनिन्छ । त्यही पुरिएको पोखरीलाई संरक्षण गरी अहिले पर्यटन प्रवर्द्धनका कामहरू भैइरहेका छन् । इलामका सबै भूभाग देख्न सकिने गुफाथुम्की डाँडालाई प्रकृतिले निर्माण गरेको प्राकृतिक टावरभन्दा अत्युक्ति नहोला ।
पानीटार चिया बगान
प्रकृतिले मुठी उठाएर दिएको देउमाई नगरपालिकाको पर्यटकीय स्थल हो पानीटार ्र थुम्का थुम्कामा रोपिएको चिया बगानसँग साइनो गाँस्दै हरियालीले भरिएको पानिटारमा घण्टौंसम्म हराउन सकिन्छ पूर्वी नेपाललाई चिया क्षेत्र घोषणापछि खेती बिस्तार गर्न सरकारले प्राविधिक सेवा प्रदान गर्न रोपिएको चिया बगान नै अहिले देशी विदेशीको रोजाइमा परेको छ । साढे ४ सय रोपनी क्षेत्रफलमा फैलिएको पानीटारमा अहिले राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नमुना चिया प्रसोधनस्थलसँगै नेपाली चियाको इतिहास, प्रजाति, प्रविधि र स्वादमा रमाउन सक्ने पूर्वाधारको विकास गरिरहेको छ । नागबेली बाटोमा प्रेमलाप गर्दै स्वगीय आनन्द लिने पूर्वकै गन्तव्यको रूपमा पानीटारलाई प्रकृतिले दिएको उपहार भन्दा फरक पर्दैन । पछिल्लो समय पानीटार फिल्मका लागि सुटिङ हब बन्दै गएको छ ।
सिद्धिथुम्का चुली
देउमाईकै वडा नम्बर ७ का सिद्धिथुम्का चुली र अजम्बरे डाँडा देश विदेशका पर्यटकको गन्तव्यस्थल बनेका छन् । समुद्री सतहबाट १७ सय मिटर उचाइमा फैलिएको सिद्धिथुम्का चुली सूर्योदय र सूर्यास्तको दृश्यवलोकन गर्ने पूर्वी नेपालकै सुप्रसिद्ध स्थल हो । जिम्बु, हिगुवा जातका वनस्पतिमा रमाउँदै मोती झैँ टल्कने दर्शन ढुङ्गा र तराईका फाँटसँगै अग्ला हिमश्रृंखलाहरू देखिँदा सिद्धिथुम्का चुली पुग्ने कसको मन नलोभिएला र रु सिद्धिथुम्का चुलीबाट इलामका अधिकांश स्थान, छिमेकी जिल्ला झापा, मोरङ, सुनसरी, धनकुटा, पाँचथर मात्र हैन भारतको दार्जिलिङ, सिलिगुडी एवं करसाङका सहरहरूको दृश्य पनि हेर्न सकिन्छ ्र यहाँबाट सर्वोच्च शिखर सगरमाथासहित तेस्रो अग्लो शिखर कञ्चनजङ्घाको पनि दृश्यावलोकन गर्न सकिन्छ ।