हाल देशभर सामान्यदेखि पूर्ण बदली रहि अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले अहिले देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा वर्षा भइरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।
नगरकोटीका अनुसार काठमाडौंको चन्द्रागिरी, फुलचोकीलगायत उच्च स्थानमा हिमपात भइरहेको छ।
नगरकोटीका अनुसार काठमाडौंको हालको तापक्रम ८ डिग्री सेल्सियस रहेको छ।
बागमती, प्रदेश एक र प्रदेश २ मा भोलि बिहानसम्म पानी पर्ने सम्भावना रहेको छ। पश्चिम क्षेत्रमा भोलि बिहानदेखि क्रमशः पानी पर्न रोकिने हुन्छ। भोलि दिउँसोबाट अन्य प्रदेशमा पानी पर्ने क्रम रोकिनेछ।
मौसमविद् नगरकोटीका अनुसार पानी पर्न रोकिएर बादल हटेपछि तापक्रम यो वर्षकै न्यून हुनसक्छ।
अहिले सक्रिय रहेको मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई–यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
‘देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेकाले यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएको छ,’ विभागले भनेको छ, ‘त्यसैले चिसोबाट बच्न र हिमपातवाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’




