चितवन / सन् २०२३ को पूर्वसन्ध्यामा चितवनको पर्यटकीय क्षेत्रका होटल भरिन शुरू भएको छ। चितवन राष्ट्रिय निकुञ्जको सौराहा, पटिहानी, मेघौलीलगायत क्षेत्रका ठूला होटल भरिएका छन्। साना होटल पनि साँझसम्म भरिने व्यवसायीहरू बताउँछन्।
अंग्रेजी नयाँ वर्षका अघिल्ला दुई दिन सार्वजनिक बिदा परेकाले घुम्न रुचाउनेका लागि उपयुक्त समय बनेको छ। नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो बन्द हुँदा केही प्रभावित भए पनि बिहान–बेलुकाको समयमा आन्तरिक पर्यटक धेरै आएको व्यवसायी बताउँछन्।
सौराहाका निजी हात्ती सञ्चालन गर्ने सामूहिक सहकारी युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले दुई दिनयता हात्ती र जीप भरिएको जानकारी दिए। साँझसम्म सबै होटल भरिने उनको अनुमान छ। उनले भने, ‘यो नयाँ वर्षमा पर्यटकको राम्रो उपस्थिति रहेको छ।’
सौराहामा दुईओटा होटल सञ्चालन गर्दै आएका माधव दुवाडी दुई दिनयता दुवै होटल भरिएको बताउँछन्। होटल सेभेन स्टारमा आज सांगीतिक कार्यक्रम रहेको भन्दै उनले अर्को होटेल पनि भरिएको बताए। उनले भने, ‘नयाँ वर्षमा आन्तरिक पर्यटकको राम्रो उपस्थिति रहेको छ।’
क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलिया अधिकांश होटल भरिएको बताउँछन्। उनले भने, ‘नयाँ वर्ष मनाउन आउने पर्यटकको संख्या राम्रो छ।’ विगत वर्षमा जस्तो सडकमा पर्यटक नभरिए पनि होटलमा राम्रो भएको उनको भनाइ छ।
पटिहानी र मेघौलीका होटल पनि पर्यटकले भरिएका छन्। मेघौलीको वाइल्ड लाइफ सेञ्चुरीका सुबोध प्रधानले दुई दिनयता होटल भरिएको सुनाए। उनले भने, ‘यो नयाँ वर्षमा पर्यटकको उपस्थिति राम्रो छ।’ जंगल भिल्ला पटिहानीका सञ्चालक गणेश पौडेलले दुई दिनयता भारतीय र नेपाली पर्यटकले होटल भरिएको जानकारी दिए।
‘क्रमशः पर्यटक बढ्दै गएकाले साँझसम्ममा होटल भरिने अपेक्षा छ,’ क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराईले भने। सौराहाका सबै होटललाई समग्रमा हेर्दा शुक्रबार झण्डै आधा भरिएको उनको भनाइ छ। घुम्न आउनेले पाएसम्म राम्रा होटल खोज्छन्। संघको सदस्यमा साना होटल धेरै छन्। क्रमशः ती होटल पनि भरिने क्रममा रहेका छन्।
पर्यटक बढेपछि निकुञ्ज आसपासका रेष्टुराँ पनि भरिएका छन्। सौराहामा १२० होटल क्षेत्रीय होटल संघमा आबद्ध छन्। संघमा दर्ता नभएका अरू साना होटल पनि रहेका छन्। भट्टराईका अनुसार सौराहामा ८ हजार पर्यटक अट्न सक्ने क्षमता छ।
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा हात्ती सफारी, जीप सफारी, डुंगा सयर, पैदल यात्रा गरेर दुर्लभ बाघ, गैंडाजस्ता वन्यजन्तु हेर्न यहाँ पर्यटक आउने गर्छन्। थारू संस्कृति हेर्न पर्यटक रुचाउँछन्। कोभिडका कारण थला परेको पर्यटन व्यवसाय उठ्ने अपेक्षामा व्यवसायी रहेका छन्। -रासस