इलाम / देशकै प्रमुख पर्यटकीय स्थलहरुमध्ये थुप्रै गन्तव्यहरू पूर्वी नेपालको इलाम जिल्लामा पर्दछन् ।
जिल्लाका कतिपय गन्तव्यहरू चर्चामा आएकाले पर्यटकहरुको घुँइचो लाग्ने गर्दछ भने पर्यटकीय हिसाबले उत्कृष्ट रहेर पनि कम चर्चामा रहेका स्थानहरुमा भने फाट्टफुट्ट मात्र पर्यटक पुग्ने गर्दछन् ।
यस्तै एउटा गन्तव्य हो इलामको पाटेनागी । पर्यटकिय क्षेत्रको रुपमा रहेको पाटेनागी पुग्ने मानिस कमै मात्र छन । तर एक पटक पुगेको मान्छे पटक पटक जाने गर्दछ ।
तीन हजार मिटर को उचाईमा रहेको यस क्षेत्रबाट चाँधि झै टलकिएका हिमालको आनन्द सँगै सूर्योदय र सूर्योस्थको मज्जा लिन सकिन्छ । यहाँबाट आँखैअगाडि चाँदी झै टल्किने सगरमाथा, कञ्चनजङ्घा हिमाल लगायतका हिमाललाई देख्न सकिने र यहाँबाट सूर्योदय र साविक पूर्वाञ्चलका धेरै भू भाग नियाल्न सकिन्छ ।
यस ठाउँमा पुग्नको लागि पदमार्गबाट पनि पुग्न सकिन्छ । यस क्षेत्रमा विभिन्न प्रकारका पाहा, जंगली जनावर, फूल र जडीबुटीसमेत पाइने गरेको छ । पाटेनागी आसपास कुहिभिर, नागढुङ्गालगायत रमणीय ठाउँ छन् । मेची हाइवे नखुल्दा सम्म पाँचथर र ताप्लेजुङ जाने बाटो यहीबाट रहेको इतिहास छ ।
यो क्षेत्रमा ठूलो चौर (नागी) रहेकोले यस स्थानको नाम पाटेनागी रहेको हो । यसक्षेत्रमा घना गुराँसे जंगल रहेकाले चैत बैशाखको समयमा राताम्ये हुने गरेको छ । पुवामझुवाको पाटेनागीदेखि गोर्खेको माने भञ्ज्याङसम्म गुराँसको जङ्गल छ । फरकफरक रङ्गमा फुलेका गुराँसले जता हे¥यो उतै रातम्ये देखिएपछि त्यहाँ पुग्नेहरू दंग पर्छन् । नयाँ प्रजातिको पाहा पाटेनागी नजिकैको गँगटेपानीमा छ । यो क्षेत्र सानु पुवाखोला, देउमाई खोला, ठूलो पुवा खोलालगायत खोलाहरूको उद्गम स्थलरहेको स्थानीय सोम सुनुवार बताउँछन ।
यस ठाउँमा विश्वमै दुर्लभ मानिएका रेडपान्डा (हाब्रे), थार, ध्वाँसे चितुवा, सालक, चरीबाघ, राजपंखी, कालो भालु, ओत, अजिङ्गर, व्वाँसो लगायतका वन्यजन्तु, मुनाल, काँडेभ्याकुर, गिद्ध, चिल, उल्लू, द्ध पिउरा, हुचिल, सिमकुखुरा, कालिज, लामपुछ«े, कल्चौंडे, काकाकुल, श्वेनबाज, न्याउली, राज धनेश, वनचाहा, भुँडीफोर गरुड लगायतका चराचुरुङ्गीहरु, धेरै प्रजातीका पुतली र किराहरु, पानीगोहोरो, पाहा लगायतका उभयचरहरु, विभिन्न प्रजातीका लाँली गुराँस, चाप, चिमाल, लौठ सल्ला, साल सिसौ, सुनाखरी, गलैंचे झ्याउ लगायतका वनस्पतिहरु, चिराइतो, पाँचऔले, विष, विख्मा, पदमचाल, पाखनवेत, जटामसी, ठूलो ओखती, सर्पगन्धा, खनक्पा, वनमुला, चिङफिङ लगायतका सयौं प्रजातीका जडिबुटीहरु पाइन्छन् ।
यसका अतिरिक्त थुप्रै प्रजातीका फिरन्ते प्राणी र वनस्पतिहरुका लागि इलाम उपयुक्त वासस्थानका रुपमा रहँदै आएको छ ।
चिसो हावा, हरीयाली वनजँगल र विभिन्न प्रजाती चराचुरुङ्गी र जँगली जनावरको पनि अवलोकन गर्न पाइन्छ । ये क्षेत्र सन्दकपुरको हाराहारी र सन्दकपुर भन्दा ठूलो क्षेत्र भएको कारण विकास गर्न सके पर्यटकीय गन्तव्यका लागी अव्वल मानिन्छ ।
इलामको साविकका चमैता, पुवामझुवा, माइपोखरी, पाँचथरको पौवासारताप, रानीटार र लुङरूप्पा गाविसले छोएको यस स्थान हाल इलाम नगरपालिका ३ पुवामझुवामा पर्दछ । इलामको सदरमुकामवाट ४० किलोमिटर पर्दछ भने र इलाम नगरपालिकाको बागखोर बजारबाट छ किलोमिटरको कच्चि सडकको यात्रा पछि यहाँ पुग्न सकिन्छ । यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको विकासको लागि नगरका सवै वडामा रहेका पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माणको काम गरिरहेको छ ।
यो क्षेत्र सानु पुवाखोला, देउमाई खोला, ठूलो पुवाखोला लगायत खोलाहरूको उद्गम स्थल र नाग ठुङ्गा भएकोे कारण धार्मिक हिसावले पनि अव्वल मानिन्छ । गाइ वस्तु विग्रियार दुध दिएन भने नाग ठुङ्गामा पुजा गर्दा गोठ सप्रने धार्मिक विश्वास रहेको वडाध्यक्ष तिर्थ गुरुङ बताउँछन । नाग ठुङ्गामा नाग, शंख लगाएतका विभिन्न किसिमका आकृति देख्न सकिने गुरुङको भनाई छ ।