जनकपुर/ जनकपुरधाममा भएका केही महत्त्वपूर्ण कुण्डहरू बिहार कुण्ड, अग्नि कुण्ड, मध्यमा सर, रत्न सागर, अङ्गराज सर, सूर्य कुण्ड, गङ्गा सागर, धनुष सागर, दसरथ तलाउ, पापमोचिनी सर, परशुराम कुण्ड, जनक सरोवर, गोपाल सर, रूक्मिनी सर, मुरली सर, विडाल सर, राम सर, कपाल मोचिनी सर, महाराज सागर, पाकवति सर, धौत–पाप सर जस्ता नामका कुण्ड रहेका छन् । जनकपुरका पवित्र ताल, सरोवर र नदीको किनार छठ पर्वमा विशेष रौनकता साथ रङ्गिइरहेको देखिन्छ ।
गङ्गा सागर
जनकपुर धाम आउने पर्यटकहरूका जनकपुरधाम लागि जानकी मन्दिर, राम मन्दिर दर्शनपछि आकर्षणको केन्द्र गङ्गा आरती हो सङ्गीतमय सो आरती हेर्नका लागि प्रत्येक साँझ जनकपुरधामको ऐतिहासिक गङ्गासागरमा श्रद्धालुहरूको भीड लाग्ने गर्छ । त्यहाँ प्रत्येक साँझ ७ बजेदेखि ८ बजेसम्म गड्गा आरती हुने गर्छ । केही वर्षअगाडिसम्म फोहोर पोखरीको रूपमा रहेको गङ्गासागरलाई सेभ हिस्टोरिकल जनकपुरका अध्यक्ष एवम् प्रदेश २ का प्रदेशसभा सदस्य रामआशिष यादवको नेतृत्वमा सरसफाई गरी पूजनीय स्थलको रूपमा परिणत गरिएको छ ।
इतिहासकारहरू रामजानकीको विवाहको बेला जानकीकै आग्रहमा भगवान् रामले आफ्नो बाणले गङ्गालाई जनकपुरमा आमन्त्रित गरेको दाबी गर्छन् भने केहीले त्रेता युगमा मिथिला नरेश निमीको श्रापबाट पुरै शरीर गलिसकेको थियो, त्यसपछि उहाँको शरीरलाई मन्थन गरियो जसबाट निधि नामको बालकको जन्म भएको थियो । सो बालकलाई पानीबाट सिख्त गर्नका लागि संसारकै प्रमुख नदी तथा सरोवरहरूबाट पानी ल्याइयो सोही पानीबाट गङ्गासागर पोखरीको निर्माण भएको हुन् सक्ने बताउँछन् । रामजानकीको विवाहको समयमा मटकोर गङ्गासागर पोखरीमै भएको मान्यता पनि छ ।
गङ्गासागरमा हुने गङ्गा आरतीले पूजाका साथै जल संरक्षण र पर्यावरण संरक्षणको सन्देश दिन सफल भएको होर्डिङ बोर्डहरू लगाइए पनि आरतीको क्रममा सङ्कलन गरिएको पानी पिउन श्रद्धालु भक्तजनहरू हच्किएको प्रष्ट देखिन्छ ।
धनुष सागर
जनकपुरका पोखरीहरूमध्ये अधिकांश पोखरीहरूको इतिहास त्रेतायुगकालीन इतिहास रहेको छ । राजा जनककी छोरी माता सीताले ा शिवजीको धनुषलाई वायाँ हातले उठाएपछि कुनै वीर पुरूषसँगै बिहे गरिदिने प्रण लिएका थिए । जनकले यो धनुषमा जुन वीर पुरूषले प्रत्यन्चा चढाउन सक्छ उही वीर पुरूषसँग छोरीको बिहे गरिदिने प्रण लिए ।
माता सीताको स्वयम्बर संसारका सबै वीर पुरूषहरूले प्रत्यन्चा चढाउने प्रयास गरे तर कोही सफल भएका थिएनन् । अन्तमा भगवान् रामले प्रत्यन्चा चढाउन खोज्दा शिवजीको धनुष ३ टुक्रा भएको थियो तीन टुक्रामध्ये एक टुक्रा पातालमा गएको थियो । सोही स्थानमा पोखरीको आकार लिएको मान्यता रहेको छ । आज सोही स्थानलाई धनुष स सागरको नामले चिनिन्छ ।
अङ्गराज सर
जानकी मन्दिरको उत्तरपट्टि रहेको पाखेरी अङ्गराज सरको महत्त्व पनि विशिष्ट रहेको छ यो पोखरीसमेत त्रेतायुगकालीन नै रहेको छ । अचेल यो पोखरीलाई अरगज्जा सरको नामले समेत चिनिन्छ ।
अङ्गराज सर पोखरीमा प्रत्येक दिन माता सीता स्नान गर्ने गरेको मान्यता रहेको छ माता सीता उबटन लगाएर यसै पोखरीमा स्नान गर्ने गर्थिन् । यो पोखरीमा स्नान गर्नाले चर्मरोगबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ ।
महाराज सागर
त्रेता युगको साक्षीहरूमध्ये महाराज सर पोखरी पनि एक रहेको छ । जानकी मन्दिरभन्दा पश्चिम र रङ्गभूमि मैदान १२ बिघाभन्दा दक्षिण अवस्थित रहेको यो पोखरी धार्मिक महत्त्व बोकेको पोखरी रहेको छ । यो पोखरीमा स्नान गर्नाले ब्रह्माहत्यादि पापबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ यो पोखरीको नाउँ भगवान् रामका पीता राजा दशरथको नाउँबाट महाराज सर राखिएको छ । पिता जमदग्नीको आज्ञाबाट परशुरामले आफ्नै माताको हत्या गरेका थिए सो पापबाट मुक्ति पाउनका लागि यसै पोखरीमा स्नान गरेको मान्यता रहेको छ । यो पोरखीको पश्चिमपट्टिको डीलमा राजा दशरथको ऐतिहासिक मन्दिर समेत छ ।
कपालमोचनी सागर
कपालमोचनी सर पोखरीको विशिष्ट धार्मिक महत्त्व रहेको छ यो पोखरीमा स्नान गर्नाले सबै प्रकारको पापबाट मुक्ति पाउन सकिन्छ । यो पोखरी दशरथ मन्दिरभन्दा उत्तर र महाराज सागरभन्दा पश्चिम उत्तरको कुनामा अवस्थित छ । यो पोखरीको विषयमा धार्मिक ग्रन्थहरूमा समेत उल्लेख पाइन्छ । एकपटक भगवान् ब्रह्मा माता सरस्वतीलाई देखेर कामान्ध भएका थिए । माता सरस्वती ब्रह्मालाई देखेर भाग्न थालिन् । सरस्वती भागेको देखेर भगवान् ब्रह्मा पनि उनकै पछि पछि भाग्न थाले । माता सरस्वतीपछि भगवानको शिवको शरणमा पुगे । ब्रम्हाजीको यो हरकत देखेर भगवान् शिवले उनको शिर नै खण्डित गरेका थिए । ब्रह्म हत्या लागेपछि भगवानको शिवको हत्केलामा ब्रह्माजीको शिर टाँसिएको थियो । सो शिरलाई जति हटाउने प्रयास गरे पनि हटेको थिएन । यो पोखरीको पश्चिम डीलमा अहिले योगाभ्याससमेत प्रत्येक बिहान हुने गर्छ ।