धरान/ धरान उपमहानगरपालिकाले पौष २० गते देखी ३ दिन धरान डे मनाउने भएको छ ।
पुस २० गतेलाई स्थापना भएको दिनको रुपमा मानेर विविध कार्यक्रम गरि मनाउँदै आइएको ‘धरान डे’ ले यसपालि पनि निरन्तरता पाएको हो ।
पौष २० गते देखी धरान १२ स्थित पब्लिक हाई स्कुलको खेल मैदानमा विविध कार्यक्रम गरी ‘धरान डे’ मनाइने धरान उपमहानगरपालिकाले जानकारी दिएको छ ।
बिहीवार धरान उपमहानगरपालिकाको कार्यपालिकाको सभाहलमा पत्रकार सम्मलेन गर्दै पहिलो दिन -याली, सम्मान तथा पुरस्कार वितरण, लोक दोहोरी प्रतियोगिता हुने र दोस्रो दिन बिहान ७ बजे देखि सेवक अभियानको अगुवाइमा विभिन्न संघ संस्था परिचालन गरी सरसफाइ , मास साइक्लिङ, सुनसरी समृद्धिका लागि समन्वय र प्रयास विषयक जिल्लाभरीका प्रमुख तथा उपप्रमुखहरु विच छलफल कार्यक्रम, निबन्ध प्रतियोगिता, लोक नृत्य प्रर्दशनी तथा रस्सी तान प्रतियोगिता हुने र तेस्रो दिन जातीय संघ संस्थाहरूको सांस्कृतिक प्रस्तुति सहित धरान उत्सवको समापन हुने जनाएको छ ।
कार्यक्रम आयोजना भर स्वास्थ्य सम्बन्धी कार्यक्रम र साँझमा साँगीतिक र सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । उत्सवमा मौलिक सांस्कृतिक पहिचान र धरानको इतिहास झल्काउने वृत्तचित्र प्रर्दशन, जातिय खाना, खाजा, धरानमा उत्पादित बस्तु तथा पहिचानका सामाग्री राखिन साथै कृषि क्षेत्रलाई प्रर्वद्धन तथा प्रोत्साहन गर्न मद्दत पुग्ने नगरपालिकाले जनाएको छ ।
उत्सवमा करिव २५ लाख अनुमानित खर्च हुने तथा ८० देखि ९० वटा स्टल राखिने धरान उत्सव मूल आयोजक समितिका संयोजक तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले बताए ।