इलाम/ कुनै समय स्याल कराउने गरेको डाँडा श्री अन्तु अहिले नेपालकै एक प्रमुख पर्यटकीय स्थलहरु मध्ये एक हो ।
सूर्याेदय नगरपालिकास्थित अन्तु डाँडामा १० वर्षअघि सम्म स्याल कराउने स्थल अहिले देशकै प्रमुख पर्यटकीयस्थलको रुपमा विकास भएको हो ।
जङ्गल सँगै पातलो बस्ती र मानिसको आवत जावत कम भएको कारणले स्याल कराएको आवाज सुन्न र बेलुका दश बजे पछि त देख्न पनि पाइन्थ्यो । तर यतिबेले अन्तु पुग्ने जो कोहीको कानमा राति १२ बजे सम्म मनिसको आवाज सुन्न पाइन्छ ।
पर्यटन क्षेत्रको विकास सँगै बस्ती बाक्लिएको र मानिसको आवत जावत अत्यधिक बढे अन्तुमा रँजाई गरेका स्याल पलाएन भएका हुन ।
यहाँका स्थानीय बासिन्दाले स्यालको रक्सी बनाएर बेच्ने गरेका छन् । मिठो बोली बोल्ने यहाँका पर्यटन व्यवसायीले यसलाई रक्सी नभनी ‘स्यालहुस्कि’ भन्ने गरेका छन् । बाथ रोगीहरूले स्यालको मासु खोजीखोजी खाने गरेकाले पनि स्यालको रक्सी मज्जाले बिक्ने गर्दथ्यो । पर्यटकहरूले कोशेलीकै रुपमा स्यालको रक्सी अन्तुबाट लैजाने गरेको स्थानीय बताउँछन ।
पर्यटकको भिड
लामो समय सम्म कोरोना सङ्क्रमणको कारण पर्यटक आवत जावतमा ठप्प रहेको अन्तुमा यतिबेला थामी नसक्नु भिड लाग्ने गरेको छ ।
शुक्रबार र शनिवार त एक हप्ता अघिनै बुक गरिसकेका हुन्छन । बुक नगरी आउने पर्यटकहरूले बास नपाएर टेन्टमा समेत रमाइलो गर्दै रात बिताउने गरेका छन् ।
पहिले सम्पर्क नगरी शुक्रबार बेलुका अन्तु आउने पर्यटकलाई बास पाउन मुस्किल रहने सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष धनकुमार आले बताउँछन ।
प्रकृतिक सुन्दरताको कारण पनि अन्तुमा पर्यटक आउन थाले सँगै भिड लाग्न थालेको हो । पर्यटक आकर्षण गर्ने इलाममा धेरै गन्तव्यहरू छन् तर, श्रीअन्तुले जति अन्य पर्यटकीय स्थलले आकर्षण गर्न सकेको छैन ।
यहाँको मुख्य आकर्षण भनेको सूर्योदयको दृश्यनै हो । आकाश खुलेको बेला सूर्योदय देखिँदा टिष्टा नदी तिरको क्षितिजमा रेखा देखिन थाल्छ । त्यो रेखा चम्किलो हुँदै गएपछि रेखाको बीच भागमा टपरा, मयुर, थाल जस्तो देखिँदै देखिँदै अलिक मास्तिर गोलो रातो घाम देखिन्छ । पहिले रातो देखिएको घाम चम्किलो हुँदै केहीबेरमा अन्यत्रबाट देखिएजस्तै हुन्छ ।
यहाँ स–साना चिटिक्क परेका चिया बगान, चिया बगान भित्रका कटेज, पोखरी, लस्करै मिलेका धुपिसल्लाका रुख र विहानै उठेर हेर्ने सूर्योदय र सूर्यास्त हेर्न सकिन्छ । नेपालकै सुदुर पूर्वमा पर्ने इलामको श्री अन्तुडाँडामा सबैभन्दा पहिले घामको ज्योति पर्ने र यहाँबाट अत्यन्तै मनमोहक दृश्य देखिने भएकाले इलाम सँगै नेपालका अन्य जिल्ला, भारतको दार्जिलिङ र बङ्गालबाट सूर्योदयको दृश्यावलोकनकै लागि पर्यटक आउने गरेका छन् ।
सूर्योदयको दृश्य सँगसँगै अन्तु क्षेत्रमा लोपोन्मुख लेप्चा जातिको संस्कृति, अन्तु पोखरी, गुफा पाताल, सिंहबाहिनी क्षेत्र, मनमोहक हरियाली र चियाबारीका डाँडाकाँडाको दृश्य पनि आकर्षक भएका कारण यहाँ त्यसको मज्जा लिन पनि पर्यटक बाक्लै आउने गरेका छन् ।