काठमाडौं/ नेपालमा किसानले उत्पादन गरेका कृषि सामाग्री विक्रि वितरणमा समस्या भोग्नु पर्ने नियति जस्तै बनेको छ।
यस्तै समस्या उदयपुर जिल्लाका उत्तरी पहाडी क्षेत्रमा उत्पादन हुँदै आएको बाँस उत्पादक किसानले भोग्दै आइरहेका छन्।
व्यवस्थित सडक नहुँदा यस क्षेत्रका किसानले उत्पादन गरेको बाँसले बजार पाउन नसक्दा वर्षेनी करोडौँको मूल्य बराबरको बाँस दाउरामा परिणत भएको हो।
जिल्लाको मध्य पहाडी क्षेत्रको इनामे, बर्रे, माझखर्क, नामेटार र टाट्ने तथा उत्तरी पहाडी क्षेत्रको बाँसबोटे, ठानागाउँ, बलाम्ता र ताम्लिछा जाते क्षेत्रमा उत्पादित करोडौं मूल्यका बाँस अन्यत्र बिक्री गर्न नसक्दा दाउरामा परिणत हुने गरेको बाँस उत्पादक किसानहरू बताउँछन्।
बर्रेका दानबहादुर तामाङले आफ्नो जग्गाको घरबारी तथा पाखाबारीमा बर्सेनि लाखौंको बाँस उत्पादन भए पनि सडकको अभावमा गाउँबाट अन्यत्र विक्री गर्न नपाउँदा बाँसको घाँस गाईवस्तुका लागि प्रयोग भए पनि बाँस घना बालेर नष्ट गर्नुपरेको बताए।
अहिले यो क्षेत्रमा सडक पुगेका स्थानमा गाउँलेहरूले प्रति घना बाँस न्यूनतम रू १ सय५० देखि २ सय ४० का दरले विक्री गर्ने गरेको तर आफूहरूको गाउँघरसम्म अझै व्यवस्थित सडक विस्तार नहुँदा बाँस बिक्रीमा समस्या हुने गरेको इनामेका जंगबहादुर तामाङको गुनासो छ।
यस क्षेत्रमा उत्पादित बाँस गाउँलेहरूले हस्तकलाका वस्तु उत्पादनमा समेत प्रयोग गर्ने नगरेको र दाउरा मात्र बाल्ने गरेका छन्। लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईका अनुसार यस क्षेत्रको सबै ग्रामीण भेगमा कच्ची ग्रामीण सडक व्यवस्थित बन्न बाँकी रहेका कारण किसानले उत्पादन गरेको बाँस अन्यत्र लगेर विक्री गर्न समस्या हुने गरेको छ।
अहिले गाउँपालिकाले प्रत्यक वडामा सडक व्यवस्थित तरिकाले विस्तार गर्ने कार्य गरिरहेका कारण अबका एक–दुई वर्षभित्र यसक्षेत्रको बाँस सहज तरिकाले अन्यत्र बिक्री गर्न सकिने अवस्था रहेको अध्यक्ष राई बताउँछन्।
यहाँका दुर्गम पहाडी क्षेत्रमा ठूलाठूला र अग्ला प्रजातिका बाँस उत्पादन हुने गरेको कारण यसलाई अन्यत्र बिक्री गर्न सके राम्रो मूल्य पाउन सकिने स्थानीय किसानको भनाइ छ। जिल्लाको तल्ला पहाडी भेग र सडक विस्तार भएका स्थानका गाउँको बाँस बर्सेनि करोडौं मूल्यमा बिक्री हुने गरेको किसान बताउँछन्।
जिल्लाको तल्लो पहाडी क्षेत्र मुर्कुची, नेपालटार, रौता साउने खाँबु चिलाउने क्षेत्रमा उत्पादित बाँस खरीदकर्ताले १ नम्बर प्रदेशको विराटनगर, इटहरी तथा राजधानी काठमाडौंसम्म लैजाने गरेको किसान बताउँछन्।