मंगलवारे / पछिल्लो समय इलाममा एभोकाडो (घीउ फल)को व्यावसायिक खेती फस्टाएको छ। वर्षेनि उत्पादनमा वृद्धि भए पनि माग र खपतसमेत बढेको छ। जिल्लामा उत्पादित एभोकाडोले माग धान्न नसकेको किसानको भनाइ छ।
एभोकाडोे इलामका प्रायस् सबै गाउँमा उत्पादन भइरहेको छ। व्यावसायिक उत्पादन भने इलामको रोङ गाउँपालिकादेखि भएको हो। जिल्लामै पहिलोपटक उक्त गाउँपालिकाको सलकपुरमा बिरुवा रोप्न थालेको बताइएको छ। विसं २०४५ मा पहिलो पटक एभोकाडोेको बिरुवा रोपिएको थियो। शुरूशुरूमा स्वादसमेत धेरैलाई मन पर्दैनथ्यो, तर पछिल्लो समय स्वास्थ्यलाई समेत राम्रो मानिएकाले यो फल उपभोग गर्नेको संख्या बढ्दै गएको छ। हाल बोटमै आएर व्यापारीले मोलमोलाइ गरेर खरीद गर्न थालेपछि गाउँमा फुटकर रूपमा विक्री समेत हुँदैन।
यसको मागमा व्यापक वृद्धि हुँदै गएकाले छिटो सकिने गरेको सलकपुरका किसान ईश्वरी अधिकारीले बताए। उनका अनुसार गतवर्ष दुई बोटमा जेनेतेन ८० किलो उत्पादन भएको थियो। यस वर्ष सोही बोटमा करीब २५० किलो उत्पादन भएको छ।
बोटबाटै प्रतिकिलो रू. २०० मा विक्री हुने यो फल नेपालीले मात्र होइन, छिमेकी देश भारतबाट आउनेले समेत खरीद गरेर लैजाने गरेको किसानको भनाइ छ। नेपालका धेरै स्थानबाट यसको माग हुने गरेको अधिकारी एग्रो बबना कटेजका सञ्चालक याम अधिकारीले बताए।
गत वर्षभन्दा यस वर्ष उत्पादनमा वृद्धि भएको उनले बताए। साना बिरुवा रोप्ने क्रम बढिरहेकाले पनि वर्षेनि यसको उत्पादन बढ्दै गएको छ। पहिला स्थानीय समाजसेवी स्वरोमस अधिकारीको बगानमा दुईओटा मात्र बिरुवा थिए। तिनै बोटबाट गाउँमा सामान्य चाख्न पुग्थ्यो। हाल उत्पादन र मागसमेत बढेको छ। अहिले गाउँभर प्रायस् सबैको बगानमा यसको उत्पादन भइरहेको छ। तर पनि खास बजार पुर्याउन नै नपरेको किसान कल्पना भण्डारीले बताइन्। उनले पनि यसको व्यावसायिक उत्पादन गर्दै आएकी छन्। रोङ गाउँपालिका झापासँग नजिक रहेका कारण पनि यहाँबाट धेरै फलको कारोबार हुने गरेको छ।
अत्यधिक पौष्टिक र प्रोटिनयुक्त यो फल शुरूमा चाना काटेर रोटीमा दलेर खाने गरिएको भए पनि अहिले यसको अतिरिक्त जुस बनाएर समेत खाने गरिएको छ। करीब दुई वर्षअघि रोङ गाउँपालिकाले किसानको मागअनुसार अनुदानमा बिरुवा वितरण गरेको स्थानीय गोविन्द पौडेलले बताए।
उनले गाउँमा यसको व्यावसायिक उत्पादन गर्ने किसानको संख्यासमेत बढ्दै गएको बताए। दर्जनौं परिकार बनाउन सकिने एभोकाडो एउटै बोटमा ४००र५०० किलोसम्म फल्ने गरेको छ। रोङ गाउँपालिका, इलाम नगरपालिकालगायत जिल्लाभरि नै यसको उत्पादन शुरू भएको छ। व्यावसायिक उत्पादन गर्ने किसानको संख्या भने थोरै छ।
जिल्ला वन कार्यालय इलामले समेत गतवर्ष र यस वर्ष किसानलाई बिरुवा वितरण गरेको छ। यो फल पनि विभिन्न जातको हुने गरेको छ। जोखेर नै कारोबार हुने गरेको भए पनि सानो फलको कम मूल्य र ठूलो फलको उच्च मूल्य हुने गरेको छ। यो फल प्रतिकिलो रू। १५० देखि २०० सम्ममा विक्री भइरहेको छ। लाम्चो, डल्लो तथा विभिन्न आकारमा फल्ने यो फल धेरैलाई नयाँ लाग्ने गरेको छ। रासस