इलाम/ चियाबारी भन्ने बित्तिकै पर्यटकको दिमाग आउने स्थल हो कन्याम। इलाम जिल्लाको सूर्याेदय नगरपालिकामा पर्ने कन्याममा नेपालका आन्तिरक पर्यटक तथा भारत, भुटान लगायत अन्य तेस्रो मुलुकबाट पर्यटकहरु यहाँ आउने गर्दछन्।
यहाँ आउने पर्यटक चियाबारीको मनोरम दृश्यमा सेल्फी खिच्न टिकटक बनाउन लोभिन्छन्।
तीन वर्ष अघि सम्म कन्याम नै इलामको एकमात्र प्रख्यात चियाबारी भनेर चिनिन्थ्यो। सुगम क्षेत्र र सडक भएकोले जो कोहीको मन कन्याममा तानिन्थ्यो। अहिले भने कन्यामझैं चियाबगानका कारण उत्तिकै प्रख्यात बनेको छ, देउमाई नगरपालिकामा पर्ने पानीटार।
तीन वर्षसम्म पानीटार बारे अधिकांश जिल्लावासीलाई नै थाहा थिएन। चियाबारी भन्नेबित्तिकै कन्याम, श्रीअन्तु मात्र बुझिने भएकाले यो ठाउँ ओझेलमा थियो। केही पर्यटकले इलाम चियाबारी र जस्वीरे घुम्ने गरे पनि पानीटारको नाम कहिल्यै आउँदैनथ्यो। स्थानीय तह र पर्यटनसँग सम्बन्धित निकायले चासो नदिएकै कारण यो ठाउँ ओझेलमा पर्यो, तर अहिले यसले काँचुली फेरेको छ।
स्थानीय मात्र होइन, बाहिरी जिल्लाका पर्यटकको पनि नयाँ गन्तव्य बनेको छ, पानीटार। कतै अग्लो र कतै होचो तर मिलेको चियाबारी यहाँको मुख्य आकर्षण हो। अन्तु बिर्साउने चिसो र पर्यटक तान्ने वनभोजस्थल यहाँको अर्को विशेषता हो। पर्यटकमात्र होइन, पानीटारमा अहिले चलचित्र खिच्ने र म्युजिक भिडियो बनाउने क्रम पनि सुरु भएको छ।
हिउँदमा मनोरञ्जनका लागि आउने गतिलो गन्तव्य बनेको यहाँका पर्यटन व्यवसायी पासाङ शेर्पा बताउँछन्। शेर्पाका अनुसार मिडियाको प्रचारले नै पानीटार पर्यटकीय क्षेत्र बनेको हो। ‘कुनै निकायले यसको प्रचारका लागि चासो देखाएन। मिडियाको प्रचारले नै अहिले पानीटार पर्यटकीय क्षेत्र बन्दै छ’, शेर्पाले भने, ‘आउँदो साल माथिल्लो क्षेत्र (गाग्रे भञ्ज्याङ) बाट आउने कच्ची सडक पक्की भएपछि आवागमनका लागि झनै सहज हुन्छ।’
केही समयअघि युट्युबमा सर्वाधिक रुचाइएको म्युजिक भिडियो ‘तीनपाते’ देखि प्रियङ्का कार्की र आयुष्मान देशराज जोशी अभीनित ‘प्रेम दिवस’ चलचित्रमा समेत पानीटारको सुन्दर चियाबारीको दृश्य देख्न सकिन्छ।
प्राकृतिक छायाङ्कन स्थलका रूपमा विकास हुँदै गरेको यहाँ आकर्षक चियाबारी र शान्त क्षेत्र भएकाले चलचित्रकर्मीहरू यस क्षेत्रमा सुटिङ गर्न आउने गरेका छन्। यहाँ आउने पर्यटकहरुले चियाबारी भन्नेबित्तिकै कन्याम र अन्तु मात्रै बुझे पनि पछिल्लो समय पानीटारबाट प्रभावित बनेर आएको बताउँछन्। त्यहीँ सेल्फी खिच्न ब्यस्ती देखिएकी गाइगाघटकी आयुषा खतिवडा भन्छिन्, “इलाम त पहिले पनि आएको थिएँ तर पानीटार आएको थिइनँ, कन्यामको झल्को मेटाउने ठाउँ रहेछ म त परिवार लिएर फेरी एकपटक घुम्न आउँने सोच बनाइसके।”
श्रीअन्तु, कन्याम, माईपोखरीमा वर्षभरि नै पर्यटक घुम्छन्। यी क्षेत्रका बासिन्दाको जीविकोपार्जनको माध्यम नै पर्यटक हो। होमस्टे, होटल, लोकल परिकारका स्वाद चखाउने कारणले नै पर्यटक यहाँ पल्किन्छन् तर पानीटारमा चाहिँ अहिलेसम्म व्यवस्थित खानपान र बस्ने ठाउँको अभाव छ। भर्खरै पर्यटकीय क्षेत्र बन्दै गरेकोले पनि होमस्टे खुल्ने क्रममै छन्।
अहिले पानीटारमा हरेक शनिबार र शुक्रबार गरी सयौं पर्यटक भित्रिन्छन्। विशेषतः घुमघाम र हिउँदमा वनभोज खान आउनेको सङ्ख्या बढी हुन्छ। पानीटारको प्रवद्र्धनमा स्थानीय तहको ध्यान गएको देखिँदैन।
इलाम सदरमुकामदेखि करीव ३० किमीको दूरीमा पर्ने पुग्न इलाम सदरमुकाम–बिब्ल्याँट्टे बजार–नेपालटार र गाग्रेभञ्ज्याङ पुगेर अलिकति झर्नुपर्छ। सदरमुकामबाट गाग्रेभञ्ज्याङसम्म पक्की र गाग्रेभञ्ज्याङदेखि केही ओरोलो कच्ची सडककोयात्रा पछि पानीटार पुगिन्छ। त्यति मात्र होईन झापाको विर्तामोड–शनिशरे हुँदै मंगलबारेको बाटो पनि पानीटार पुग्न सकिन्छ। पछिल्लो समय सदरमुकामको बाटो भन्दा झापाबाट आउने बाटो छोटो भएकाले बढी पर्यटक यही बाटो आउँछन्।