धनकुटा/ पूर्वको पर्यटकीयस्थलको रुपमा परिचित भेडेटारमा १० औं फुड फेष्टिबल अयोजना हुने भएको छ ।
हरेक वर्ष अंग्रेज नयाँ वर्षको अवसरमा अयोजना गरिँदै आइएको फुड फेष्टिबललाई यस वर्ष पनि निरन्तरता दिएको हो ।
होटल एसोसिएसन अफ भेडेटारको आयोजनामा हुने फेष्टिबल पुस १६ गते देखी १८ गते सम्म अयोजना गरिने होटल एसोसिएसन अफ भेडेटारकी कार्यबाहक अध्यक्ष शान्ती मादेन श्रेष्ठले जानकारी दिइन् ।
अध्यक्ष शान्ती श्रेष्ठले फेष्टिवलमा २५ हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने तथा करिव १ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको उनले बताइन् ।
बाहय पर्यटकलाई मध्यनजर गरी प्रत्येक बर्ष आयोजना गरिदै आएको महोत्सवमा मुख्य गरी स्थानीय स्तरमा उत्पादन भएका आर्गनिक कृषि उत्पादनको स्वादसंगै घरेलु सामानहरुको स्थलहरुको अवलोकन गराउनु नै रहेको होटल एसोसिएसनका कावा अध्यक्ष श्रेष्ठको भनाई छ । उनले भनिन्–‘भेडेटारमा रहेका पर्यटकीय क्षेत्र, यहाँ उत्पादन भएका कृषि सामाग्री, जातीय साँस्कृतिक खानपिनका सामाग्रीको प्रवद्र्धन गर्नकै लागि यो महोत्सवको आयोजना गरिएको हो ।’
साँगुरीगढी गाउँपालिका ६ स्थित भेडेटार चोकदेखि काम्फेक, थुम्की नाम्जेसम्म र भेडेटार चोकदेखि नमस्ते झरना सिम्सुवासम्म रहने आयोजकले जनाएको छ ।
फेस्टिवलमा पर्यटकीय स्थलहरुमा चाल्र्स भ्यु टावर, पाथीभारा देवी मन्दिर, शंखेश्वर मन्दिर, भेडेटार पार्क, नाम्जेको थुम्कीस्थित आत्माघर, सुर्योदय बौद्ध पार्क, सिम्सुवा झरना, ऐतिहासिक साँगुरीगढी, नाम्जेको होम स्टे, डाँडाबजारस्थित ध्वजे डाँडा, ओख्रे भ्यु टावरलगायत स्थलहरु रहने आयोजकले जनाएको छ ।
फेस्टिवल अवधिमा मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम पनि आयोजना हुनेछ । साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले गाउँपालिकाले पर्यटनको विकास र प्रवद्र्धनमा प्राथमिकता दिएको बताए ।