हेरिरहुँ लाग्ने ढुङ्गाको कापबाट करिब ३०० मिटरको उचाइदेखि फुङफुङ गर्दै मनमोहक तथा कञ्चन झरना झरिरहेको छ । वरिपरिका अग्ला पहाड र पहाडको काखमा रहेको हरियाली जङ्गलमा विभिन्न प्रजातिका चराचुङ्गीको चिरबिर आवाज छ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकास्थित सावाँमा पर्ने फुङफुङे झरनामा पुग्ने सबैलाई आकर्षित गर्ने वातावरण हो यो ।
अझ झरना नजिकैको सावाँ गाउँको बस्तीका लिम्बू समुदायको स्वागत सत्कार र आत्मियताले त झनै लोभ्याउँछ । त्यसैले पनि झरना क्षेत्रमा पुगेकाहरु तुरुन्तै फर्किन खोज्दैनन् । फुङफुङे झरना र स्थानीय समुदायको स्वागत र आत्मियता । यहाँको विशेषता हो यो । केही अघिसम्म गुमनाम जस्तै बनेको फुङफुङे झरनाले आजकल धेरैलाई यसैगरी आकर्षित गरिरहेको छ । आन्तरिक पर्यटकको चहलपहल एकपछि अर्को गरी दिनदिनै बढ्दै छ ।
गत वर्षसम्म यहाँ फाट्टफुट्ट मात्र पर्यटक पुग्ने गर्दथे । तर अहिले भने यस जिल्लाका मात्रै नभई काठमाडौँ, पोखरा, इटहरी, धरान, झापा, इलाम, पाँचथरलगायतका जिल्लाबाट पनि सवारी ‘बुक’ गरेरै पर्यटकहरु झरनाको अवलोकन गर्न पुगेका छन् । असोज यता दैनिक कम्तीमा ५० देखि ६० जनासम्म आन्तरिक पर्यटक पुग्न थालेका स्थानीय बताउँछन् ।
पछिल्लो समयमा फुङफुङेको प्रचार–प्रसारमा वृद्धि हुँदै गएको र यायायातको सुविधा पुगेकाले क्रमशः पर्यटकहरुको सङ्ख्या पनि बढेको छ । यस क्षेत्रमा पर्यटन प्रर्वद्धनका लागि सानोतिनो बजेट पनि आउन थालेको छ, नजिकै सामुदायिक होमस्टेसमेत खोलेका छौँ, आउन जान सडक यातायात सहज बनेको छ, दैनिकजसो गाडी रिजर्भ गरेर पनि आन्तरिक पर्यटकहरु आउन थालेका छन् ।