म्याग्दीको एउटै वडामा करिब १ करोडको सुन्तला उत्पादन भएको छ । बेनी नगरपालिका–४, एकै किसानले यसबर्ष साढे चार लाखको सुन्तला बिक्री गरेका छन् । विगत तीनबर्षदेखि लगातार सुन्तला बिक्री गरिरहेका किसानले गतबर्ष २ लाख ५५ हजारको सुन्तला बिक्री गरेका थिए तर, यसबर्ष उत्पादन बढेपछि दोब्बर आम्दानी गरेका छन् ।
यसपटक सुन्तलाले दाना राम्रो हालेको र ब्यापारीको समेत रोजाईमा परेपछि बेनपा वडा नं ४ अन्तरगत पर्ने सुर्केमेला, बास्कुना र थामडाँडाबाट मात्रै १ करोडको सुन्तला निर्यात हुने वडा अध्यक्ष अणबहादुर खड्काले बताउनुभयो। ‘अहिलेसम्मकै धेरै सुन्तला बिक्री भएको छ,‘अर्को बर्ष वडाभित्रको सुन्तला प्रर्वधनमा नयाँ योजना ल्याउँदै छौ’ वडा अध्यक्ष खड्काले भन्नुभयो ।
सुन्तला उत्पादनका लागि पकेट क्षेत्र मानिने बास्कुना बाहेक वडाभित्र सुर्केमेला र थामडाँडाका किसानले समेत सुन्तला खेतीमा आर्कषित भएपछि यसबर्ष विगतको तुलनामा दोब्बर आम्दानी भएको स्थानीयको दाबी छ ।
गाउँमा आएका ब्यापारीहरुले बोटै खरिद गरी टिप्न, बोक्न, ग्रेडिङ गर्न, क्यारेटमा मिलाउन र बजार पठाउने आवश्यक सवारीसाधन समेत ल्याउन थालेपछि अहिले चहलपहल भएको छ ।
सुन्तलाको गोडमेल, मल तथा स्याहारसुसारमा कृषकहरुले ध्यान दिने गरेकाले सुन्तलाका दाना राम्रा, रसिला र मीठा भएकाले काठमाडौं, पोखरा लगायतका ठाउँबाट ब्यापारी नै आउने गरेका छन् ।