रुपन्देही,कोरोना महामारीका कारण थलिएको व्यापार व्यवसायको प्रवद्र्धनका लागि रुपन्देहीमा विभिन्न क्षेत्रमा मेला र महोत्सव आयोजना गरिएको छ । यस वर्ष जिल्लामा रहेका उद्योगी व्यवसायीका संस्थाले महोत्सवको आयोजना गरेका हुन् ।
जिल्लामा मेला हेर्न छिमेकी जिल्ला कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाबाट पनि सर्वसाधारण आउने गरेका छन् । अहिले भैरहवामा आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ (पर्यटन महोत्सव, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला) चलिरहेको छ । बुटवलमा पुस ७ गतेदेखि १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव सुरु हुँदैछ भने तिलोत्तमामा गत बुधबार मात्रै तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव सम्पन्न भएको छ ।
रुपन्देही उद्योग सङ्घ, रुपन्देही व्यापार सङ्घ र बुटवल उद्योग वाणिज्य सङ्घले बुटवलमा आलोपालो मेला तथा महोत्सवको आयोजना गर्दै आएका छन् । कोरोनापछि सुस्ताएको व्यापार व्यवसायमाथि उठ्न यी मेला र महोत्सव सफल हुने विश्वास आयोजकको छ ।
लामो समय कोरोनाको प्रभाव रहनु र बैंकको चर्को व्याजदरका कारण समस्यामा रहेका उद्योगी व्यवसायीलाई केही भए पनि राहत मिल्ने उद्योग बाणिज्य सङ्घ शिद्धार्थनगरका अध्यक्ष भीष्मप्रसाद न्यौपानेको विश्वास छ ।
आर्थिक मन्दीले विगतका वर्षमा जस्तो धेरै कारोबार हुन नसके पनि व्यापार व्यवसाय प्रवद्र्धन हुने र स्थानीय उत्पादनको प्रचार हुने कोषाध्यक्ष गोविन्द ज्ञवाली बताउनुहुन्छ ।
सिद्धार्थनगर नगरपालिका र लुम्बिनी विकास कोष सहआयोजक रहेको मेलाको प्रवद्र्धकमा नेपाल पर्यटक बोर्ड काठमाडौँ र पर्यटन विकास परिषद लुम्बिनी छन् ।
महोेत्सवमा कृषि, खाद्यान्न, लत्ताकपडा, घरेलु तथा साना उद्योगको उत्पादन, पर्यटन, अटोमोबाइल्ससँग सम्बन्धित २५० स्टल छन् ।
भैरहवाको महोत्सव पुस ४ गते सकिएलगत्तै बुटवलमा ‘सम्मृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूलनाराका साथ १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी गरिएको छ ।
स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को आयोजना गरिएको हो ।
रूपन्देही उद्योग सङ्घको आयोजनामा बुटवल मण्डपमा निमार्णाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा प्रदर्शनीको आयोजना गरिएको छ । सङ्घका अध्यक्ष तथा प्रदर्शनी मूलआयोजक समितिका संयोजक माधवप्रसाद पौडेल प्रदर्शनी अघिल्ला वर्षमा भन्दा पृथक बनाउने योजनाका साथ काम भइरहेको बताउनुहुन्छ ।
उहाँका अनुसार विसं २०३५ मा उद्योगीको हकहित संरक्षण र सम्वद्र्धन गर्दै देशको औद्योगिक विकासमा टेवा पु¥याउने उद्देश्यले रुपन्देही उद्योग सङ्घको स्थापना भएको थियो । सङ्घले राजधानी काठमाडौँ बाहिर प्रथम पटक विसं २०४५ मा राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गरेको थियो ।
बुटवल–१० बुटवल मण्डपमा प्रदर्शनी सुरु हुनुभन्दा अगाडि सम्पन्न गर्नुपर्ने कामका लागि गठन गरिएका उपसमितिको दैनिकजसो बैठक बस्ने, योजना बनाउने र समीक्षा गर्ने काम भइरहेको प्रदर्शनी प्रबन्धक यादवप्रसाद भण्डारी बताउनुहुन्छ ।
प्रदर्शनीमा प्रविधिलाई विशेष प्राथामिकता दिइएको छ । प्रदर्शनीस्थलमै ठूला उद्योगका उत्पादनको प्रत्यक्ष अवलोकन गर्ने अवसर दिने गरी छुट्टै स्टल क्षेत्र निर्माण गरिएको मूल समितिका सहसंयोजक एवं स्टल दर्ता उपसमितिका संयोजक दिलीप सापकोटा बताउनुहुन्छ ।
प्रदर्शनीमा औद्योगिक प्रविधि, सूचना प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, फ्लोरिकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायतका स्टल रहने छन् ।
गत बुधबार मात्रै रु १५ करोड आर्थिक कारोबार गर्दै तिलोत्तमाको मणिग्राममा आयोजना गरिएको दोस्रो तिलोत्तमा राष्ट्रिय औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव सकिएको छ ।
पाँच लाख पाँच हजार दर्शक एवं उपभोक्ताले महोत्सवको अवलोकन गरेको महोत्सव मूल आयोजक समिति संयोजक एवं आयोजक तिलोत्तमा उद्योग व्यापार सङ्गठनका अध्यक्ष प्रेम जीएम बताउनुहुन्छ । गत मङ्सिर १५ गतेदेखि सुरु भएको महोत्सवमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, मम्मी डान्स, कुस्ती प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगितासमेत सञ्चालन गरिएको थियो ।
तिलोत्तमा उद्योग व्यापार सङ्गठनको आयोजना तथा तिलोत्तमा चेम्बर अफ कमर्श र उद्योग वाणिज्य सङ्घ तिलोत्तमाको सहआयोजनामा भएको महोत्सवमा दुई सय ४१ स्टल सहभागी थिए ।
–––