यात्रा भनौं, अझ गन्तब्यविहिन यात्रा, रामेछापको गोकुलगंगा र उमाकुण्ड गाँउपालिकाको सीमास्थित ताँबेडाँडाको यात्रा। दोलखा सदरमुकाम चरिकोटबाट हाम्रो यात्रा बिहान ६:३० बजे सुरू हुन्छ।
कहिल्यै नपुगेको ठाउँ, कस्तो होला भन्ने उत्सुकता, कस्ता कस्ता दृश्य कैद हुने हुन् भन्ने कौतुहलता बीच कामको थकान बिसाउन मलाई यात्रा गर्न मनपर्छ।
हामी चरिकोटबाट हिँडेको एक घन्टामा जिरी नगरपालिकाको खावा पुग्छौ। जिरी नामै सुन्दा आनन्द लाग्ने ठाउँ। झन् पुगेपछि रमाइलोको के कुरा भयो र। खावामा तातो कफी पिएर जिरी नगरपालिकाले निर्माण गर्दै गरेको भ्यूटावरबाट तस्बिर कैद गर्न थाल्छौं।
त्यहाँबाट देखिने हिमशृंखला, कालिन्चोक, चरिकोटलगायतको मनमोहक दृश्य कैद गर्दा गर्दै एक घण्टा बितेको पत्तै भएन। जीवन सरले ‘जानु पर्छ भाइ’ भनेपछि मात्र त्यहाँबाट जिरीतर्फ लाग्यौं।
भर्खर बन्दै गरेको बाटो, एकाबिहानै काम गर्ने दाजुभाइहरू काममा खटिएका थिए। बाटो फराकिलो बन्दै थियो। दायाँ बायाँको रमाइलो दृश्य नियाल्दै जिरी पुगेको पत्तै भएन।
जीवन सरले ‘भाइ सेल्फी डाँडामा एक सेल्फी हानेर जिरी प्रवेश गर्नुपर्छ है’ भनेपछि हामी बाइक रोकेर जिरीसहित आउने गरेर एक सेल्फी खिचेपछि अघि लाग्यौं।
चरिकोटबाट ५५ किमी दूरीमा रहेको जिरी एक सानो उपत्यका हो। एसियाको स्वीट्जरल्याण्डको उपनामलेसमेत चिनिने जिरी विशेषत हावापानीले एकदम राम्रो छ।
स्वीजरल्याण्डको जुरिच शहरसँग भौगोलिक दृष्टिले उस्तै रहेको जिरी गेटवे टु एभरेष्टको नामले समेत चर्चित छ।
सगरमाथा शिखरमा पहिलो पटक चुम्न सफल एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा जिरीहुँदै सगरमाथा गएकाले यसलाई सगरमाथाको प्रवेशद्वारसमेत भनिँदै आएको छ।
तर, पछिल्लो समय सगरमाथा आरोहणको लागि सिधै लुक्लाको उडान पाइने भएकाले विदेशी पर्यटकको आगमन कम भए पनि आन्तरिक पर्यटकको उत्कृष्ट गन्तब्यस्थलको रूपमा जिरी परिचित छ।
होटेल पारसमा खाना खाएपछि ताँबेडाँडा तर्फ अगाडि बढ्यौं। जिरीबाट २८ किमी दूरीमा रहेको ताँबे डाँडा पुग्दाको बयान गर्न निकै गाह्रो छ। ठाउँ ठाउँमा झुक्किने बाटो, पर्यटकीय सम्भावना बोकेको ठाउँ भए पनि बोर्ड नराखिदिँदा हामीलाई धेरै समस्या भयो।
त्यहाँका स्थानीयलाई सोध्दै बल्ल जिरीबाट हिँडेको दुई घन्टा पछि हामी ताँबेडाँडा पुग्यौं। त्यहाँ पुग्दा हाम्रो थकान सबै मेटियो। हिमालभन्दा उचाइमा पो छौ कि, जस्तो लाग्यो।
भर्खर निर्माण हुदै गरेको मन्दिर, गुम्बा , सडक देख्दा निकट भविश्यमा पर्यटकको रोजाइको केन्द्र बन्छ भन्नेमा हामी ढुक्क भयौ।
यहाँबाट शैलुङ, कालिन्चोक, खरिढुंगा, चरिकोट, दोलखा बजार, मैनापोखरी, जिरी सबै देख्न सकिन्छ। गौरीशङ्कर, गणेश, जुगल, गौरिपर्वत, नुम्बुर, रोल्वालिङ हिमशृंखला, ग्याचुङ काङ, पुमोरी र अन्नपूर्ण हिमालको लर्कनले यात्रीको मनमा कहिल्यै नमेटिने दृश्यबिम्ब कोरिदिन्छन्।
यो ठाउँबाट देखिने दृश्य बारे वर्णन गरेर कोही थाक्दैन।
करिब दुई घण्टा हामीले ताँबेडाँडामा बितायौं। हामीले यति सुन्दर दृश्य जीवनमा पहिलो पटक अनुभव गरिरहेका थियौ। त्यो दुई घण्टा समय यति छिटो बितेछ पत्तै भएन। जीवनमा एक पटक पुग्नैपर्ने ठाउँ हामीलाई ताँबेडाँडा लाग्यो। फेरि पनि एक पटक आउने बाचा गर्दै हामी चरिकोट फर्कियौं।
कसरी पुग्ने?
काठमाडौं–चरिकोट १३३ किमी, गाडीमा ५ घन्टा । चरिकोट–जिरी बजार ५५ किमि, जिपमा दुई घन्टा। जिरी -ताँबेडाँडा २८ किमी, जिपमा दुई घण्टा। मोटरसाइलमा पनि जान सकिन्छ।
हेर्नुहोस् तस्बिरहरू
सेतोपाटीका लागि प्रल्हाद आचार्यले लेखेको