पहाडको टुप्पोमा एउटा ढुङ्गा छ । दायाँ बायाँ भिरालो जमिन । सिरसिर बतास चलिरहन्छ । चिरबिर–चिरबिर चराचुरुङ्गीको आवाज सुन्न पाइने । टुप्पोमा पुगेर चारैतिरको मनोरम दृश्य नियाल्न सकिने ।
एकाबिहानैको सूर्योदय अनि बेलुकाको सूर्यास्त देखिन्छ । तलतिर बेसीका फाँट र ग्रामीण सौन्दर्यताको आकर्षक दृश्य । आँखै अगाडि दन्ते लहर जस्तै देखिने हिमालको दृश्यले मनलाई थप रोमाञ्चक बनाउँछ । जहाँ पुगेपछि घण्टौँसम्म बसिरहन मन लाग्छ । साथीभाइ मिलेर त्यहाँ घुम्न जाँदा रमाइलोको सीमा नै हुँदैन।
म्याग्दी र बाग्लुङका लेकाली बस्तीको ग्रामीण सौन्दर्यतासँगै मनोरम दृश्यावलोकन गर्न पाइने ठाउँ भकिम्लीको बेलढुङ्गा । जहाँबाट देखिन्छन्, मनोरम हिमश्रृङ्खलासहितको दृश्य । हिमाली जिल्ला म्याग्दी आफैँमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक छ । यहाँका प्रायजसो डाँडापाखा, कुनाकन्दरा र भन्ज्याङ, चौतारी पर्यटकहरुका लागि आकर्षक गन्तव्यका रुपमा छन्। जुनसुकै डाँडामा पुगे पनि हिमालको दृश्य मज्जाले हेर्न पाइन्छ ।
यस्तैमध्येको एउटा ठाउँ म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीको गाउँभन्दा माथि म्याग्दी र बाग्लुङको सिमानामा बेलढुङ्गा पर्दछ । वरिपरिबाट सप्तरङ्गी डाँडाकाँडाले घेरिएको बेलढुङ्गाबाट मनोरम हिमश्रृङ्खलासहित धित मरुन्जेल दृश्यावलोकन गर्न पाइन्छ ।
समुद्री सतहदेखि २ हजार ७ सय मिटरको उचाइमा अवस्थित बेलढुङ्गाबाट संसारको सातौँ अग्लो चुचुरो धौलागिरि तथा मानापाथी, निलगिरि, दशौंँ अग्लो चुचुरो अन्नपूर्ण, माछापुच्छ्रे, गूर्जा, चुरेन, बेहुला–बेहुली नामाकरण गरिएका हिमालहरु प्रत्यक्ष देखिन्छन् ।
धौलागिरि हिमालमा मात्रै विभिन्न ६ ओटा चुचुराहरु रहेका छन भने अन्नपूर्णमा प्रथम, दोस्रो, उत्तर र दक्षिण गरी चारवटा चुचुराहरु पर्दछन् । बेलको जस्तो आकारको रुप लिएर बसेको हुँदा बेलढुङ्गाबाट धौलागिरि र अन्नपूर्ण रेन्जका सबै हिमश्रृङ्खलाहरु स्पष्टसँग देखिन्छन् । यस ठाउँबाट डेढ दर्जन भन्दाबढी हिमालहरुको अवलोकन गर्न सकिन्छ ।
बेलढुङ्गाबाट बाग्लुङकै काठेखोला गाउँपालिकाको धम्जा तथा घुम्टेको लेक, गाजाको धुरी र म्याग्दीको प्रायजसो भू–भागहरु देखिन्छन् । पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको बेलढुङ्गाबाट साविकको धौलागिरि अञ्चलका चार ओटा जिल्लासहित गुल्मी, अर्घाखाँची, पाल्पाको डाँडाकाँडा समेत देखिन्छ ।
भकिम्ली गाउँको सिरानमा रहेको बेलढुङ्गा र आसपासको ठाउँबाट म्याग्दीको सदरमुकाम बेनीबजार, गलेश्वर, पुलहाश्रम, केभहिल, जगन्नाथधाम, डढेकोट, टोड्के, मालिका धुरी, सोलेडाँडासहित धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गर्न पाइन्छ । भकिम्ली गाउँमा कार्यक्रम लिएर जानेहरु र भ्रमणमा जाने पर्यटक स्वर्गाश्रम तथा बेलढुङ्गाको भ्रमणमा पुग्छन् ।
म्याग्दी सदरमुकामदेखि ३ कोष टाढा दक्षिणमा रहेको भकिम्ली गाउँदेखि १ घण्टाको दूरीमा अवस्थित बेलढुङ्गाले पर्यटकहरुलाई बोलाइरहन्छ, लोभ्याइरहन्छ र पछ्याइरहन्छ । सदरमुकाम बेनीबाट गाडीमार्फत १ घण्टा ३० मिनेट र १० मिनेटको पैदलयात्रा गरेपछि सजिलै पुग्न सकिने बेलढुङ्गाबाट विभिन्न दृश्यहरु आकर्षक र मनमोहक देखिन्छन् ।
बेलढुङ्गादेखि केही तल स्वर्गाश्रम पर्दछ । प्राकृतिक हिसाबले आफैँमा सुन्दर रहेको बेलढुङ्गाको प्रचारप्रसार, विकास र प्रवर्द्धन गर्नसके गाउँमा पर्यटन प्रवर्द्धन हुने स्थानीयकाे भनाइ छ।