पछिल्लो समय पर्यटकहरुको गन्तव्य बन्दै जान थालेको छ, म्याग्दीको कोप्रे झरना । नयाँ पर्यटकीय गन्तव्यका रुपमा चिनिएको यस झरनामा आन्तरिक पर्यटकहरुको चहलपहल बढेको हो । जिल्लाको बेनी नगरपालिका २, ज्यामरुककोटमा पर्ने पर्यटकीय सम्भावना बोकेको कोप्रे झरनामा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ ।
भकिम्लीको दुधेखोला नजिकै पर्ने कोप्रे झरनामा पछिल्लोपटक दैनिकजसो पर्यटकहरु पुगेर रमाउने गरेका छन् । स्थानीयबासिन्दाले ‘कोप्रे छहरा’ भनेर चिन्ने कोप्रे झरनामा खासगरी शनिबार तथा विदाको दिनमा आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि नजिकै रहेको झरनामा दैनिक झण्डै १ सयको हाराहारीमा पर्यटकहरु घुम्न आउने गरेको स्थानीय बताउँछन् ।
बेनी–बगरफाँट–भकिम्ली सडकको नजिकै अवस्थित कोप्रे झरनामा स–साना बालबालिकादेखि अधबैंसे उमेर समूहका मानिसहरु समेत पुग्छन् । यस झरनाको भ्रमण गर्न जाने पर्यटकले यसलाई लकडाउनको समयमा भेटिएको झरना पनि भनेर चिन्ने गरेका छन् ।
स्थानीयले जनाएअनुसार कोप्रे छहरामा पहिलेदेखि नै मानिसहरु जाने गर्दथे । खासगरी यहाँ भकिम्ली, ज्यामरुककोट, दुधेखोला, बगरफाँट र बेनीबजार आसपासका क्षेत्रबाट मानिसहरु पुगेर घुम्ने, फोटो खिच्ने र रमाउने गर्थे ।
कोप्रे झरना हिउँदमा केही सानो भए पनि वर्षात्को समयमा निकै ठूलो हुने गर्दछ । कोप्रे झरनालाई त्यहाँ भ्रमण गर्न जाने कतिपय पर्यटकहरुले ‘वर्षे झरना’ भनेर नामाकरण गरेका छन् । भीर तथा पहराको सहारा लिएर लडीबुडी खेल्दै खस्ने झरना हेर्दा निकै मनमोहक, आकर्षक र सुन्दर देखिन्छ । घाम लागेको समयमा इन्द्रेणी पर्ने झरनाले पर्यटकलाई खुब लोभ्याइरहन्छ ।