पूर्व र उत्तरतर्फ फर्किएर हेर्ने हो भने सेताम्य हिमशृङ्खला । हिमालयको काखमा पारिलो घाम ताप्न लमतन्न परेका ग्रामीण बस्ती । एकाबिहानैको सूर्योदय अनि बेलुकाको सूर्यास्त मज्जाले हेर्न पाइने म्याग्दीको पर्यटकीयस्थल केभहिलको बारेमा कतिलाई होला !
आकाश खुलेको बेला वरदेखि परसम्मका हिमालहरु छर्लङ्गै देखिन्छन् । नागबेली डाँडाकाँडाको दृश्य साथै मनोरम हिमशृङ्खलालाई जति हेरे पनि थाक्दैनन् परेला । जसरी आफ्नी प्रेमिकालाई जति हेरे पनि अघाउन्नन् आँखा । साँच्चै यी डाँडाकाँडाले मायालुलाई पनि केही छिन भुलाइदिन्छ ।
पुस, माघमा पर्ने हिउँ र फागुनदेखि जेठसम्म ढकमक्क फुल्ने लालीगुराँस । डाँडाकाँडामा ठोक्किएर गुराँसको खुस्बुसँगै फिर्ता आउने हावाको झोक्का । एक भेटको सम्झना दिलाइरहन केभहिलले अचेल पर्यटकहरुसँग सुसेली मार्छ । जिल्लाको बेनी नगरपालिका–५, पुलाचौरमा पर्ने गाजने गाउँ नजिकै छ केभहिल । तरेली परेका सुन्दर पहाडहरु हेर्न पाइनु र म्याग्दीका सबै स्थानीय तहसहित बागलुङ, पर्वतसमेत देखिनु केभहिलको अर्को विशेषता हो ।
गाजने गाउँ र ऐतिहासिक महत्वको जगन्नाथ मन्दिरभन्दा केही माथि रहेको केभहिल अर्थात् गुफाको डाँडामा पछिल्लोपटक स्वदेशी पर्यटकहरु पुग्ने गरेका छन् । गुफाको डाँडाको सम्बन्ध पर्यटन र अध्यात्मसँग जोडिएको छ । परापूर्वकालमा ऋषिमुनिहरु आएर तपस्या गरेको किम्बदन्ती रहेकाले यसको नाम गुफाको डाँडा भएको हो। यहाँबाट चारैतिर हेर्न पाइने र हिमालको अगाडि पर्ने भएकाले तपस्या गरेको ठाउँलाई अहिले केभहिल भन्न थालिएको हो ।
बेनी नगरपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यहरुमध्ये केभहिल पनि एक हो । यहाँ पुगेर मनोरम दृश्यहरु हेर्न पाउँदा धर्तीकै स्वर्गमा पुगे जस्तो आनन्दको अनुभूति गर्न पाइने त्यहाँ पुग्ने पर्यटकहरुको भनाइ छ । केभहिलमा पुगेर लालीगुराँसको सुगन्ध सुँघ्दै हिमाललाई पृष्ठभूमिमा पारेर फोटो, भिडियो र सेल्फी लिन सकिन्छ । त्यहाँ पुग्दा केभहिलले साँच्चिकै मोहनी लगाउँछ, मोहित बनाउँछ र घण्टौंसम्म त्यो ठाउँलाई नछोडीकन त्यहीँ बसौं–बसौं लाग्ने हुन्छ । प्रसिद्ध जगन्नाथ मन्दिरको दर्शन तथा पूजाआजा गर्न गएका पर्यटकहरु एकैछिन भए पनि केभहिलमा पुगेर रमाउँछन् ।
समुद्री सतहदेखि २ हजार २ सय मिटरको उचाइमा अवस्थित केभहिलको डिलबाट चारैतिरको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट संसारको सातौं अग्लो चुचुरो धौलागिरि हिमालसहित अन्नपूर्ण, नीलगिरी, माछापुच्छ्रे , मानापाथी, गणेश, गुर्जा लगायतका दर्जन बढी हिमालहरुको प्रत्यक्ष अवलोकन गर्न पाइन्छ ।
म्याग्दीको बेनी नगरपालिकासहित ६ वटै स्थानीय तह र जिल्लाको साविक ४१ मध्ये ३६ वटा गाविसहरु देख्न सकिन्छ । यसैगरी छिेमकी जिल्ला पर्वतको उत्तरी जलजला गाउँपालिकासहित बागलुङ र अन्य जिल्लाको डाँडाकाँडाहरु समेत देखिन्छन् ।