सुन्दरताले भरिपूर्ण मानिन्छ म्याग्दीको मालिका धुरी । प्राकृतिक सौन्दर्यका हिसाबले अब्बल छ । पहाडको टुप्पोमा पुगेर पूर्व, उत्तर र पश्चिम फर्कने हो भने सेताम्मे हिमालको दन्ते लहर देखिने । तल बेँसीतर्फ हेर्दा तरेली परेका पहाडहरुको सुन्दर दृश्य ।
मालिका मन्दिरको धुरीमा पुगेर आराम गर्दै प्राकृतिक सुन्दरतामा रमाउन पाउँदा धर्तीकै स्वर्गमा पुगे जस्तो आनन्द लाग्छ । बिहान सबेरैको सूर्योदय अनि बेलुकाको सूर्यास्त धित मरुञ्जेल हेर्न पाइन्छ ।
पुस, माघमा पर्ने हिउँ र चैत, वैशाखमा राताम्मे फूल फुल्ने लालीगुराँसले थप सुन्दरता थप्ने मालिका धुरीको शब्दमा कति बयान गर्ने ? प्राकृतिक सुन्दरता बोकेको मालिका धुरी धार्मिक आस्था राख्नेहरुका लागि पनि आफैँमा महत्त्वपूर्ण तीर्थस्थल हो । ग्रामीण बस्तीको सुन्दर दृश्य अनि हिमालको साथै वरपरका डाँडाहरुको दृश्यले त्यहाँ पुग्ने जो कोही पनि मन्त्रमुग्ध हुन्छन् । ग्रामीण बस्तीहरुको सौन्दर्यसहित तरेली परेका पहाडको सुन्दरता नियाल्न पाइने म्याग्दीको मालिका धुरीको बारेमा जानकारी सायद कमैलाई होला ।
मालिका धुरी आफैँमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-७ बिममा पर्ने मालिका धुरी धार्मिक पर्यटकीय गन्तव्य हो । पछिल्लो समय मालिका धुरी धार्मिक पर्यटकको रोजाइमा पर्दै जान थालेको छ ।
विकासका पूर्वाधारहरु सडकको पहुँच, पदमार्ग विस्तार तथा बस्नका लागि जस्तापाताको सत्तल निर्माणपछि अहिले खासगरी मालिका धुरीमा स्वदेशी पर्यटकहरुको आकर्षण बढ्दै गएको स्थानीय बताउँछन् । मालिका धुरीबाट सुन्दर दृश्यसहित ग्रामीण बस्तीहरुको मनोरम दृश्यावलोकन गर्न पाइन्छ ।
समुद्री सतहबाट ३ हजार ३ सय मिटरको उचाइमा मालिका धुरी अवस्थित छ । मालिका धुरीमा मालिका देवीको मन्दिर बनाइएको छ भने त्यही मन्दिरभित्र पूजाआजा गर्ने गरिन्छ ।
भूगोलका हिसाबले म्याग्दी जिल्लाको मध्य भागमा रहेको सबैभन्दा उच्च ठाउँको मालिका धुरी धार्मिक तथा पर्यटकीय किसिमले महत्त्वपूर्ण मानिन्छ । मालिका धुरीबाट धौलागिरि, अन्नपूर्ण, मानापाथी, निलगिरि, माछापुच्छ्रे, गुर्जा, मनास्लु, सिस्नेलगायत झण्डै दुई दर्जन बढी हिमालहरु देखिन्छन् ।