लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रूकुम पूर्वको सिस्ने गाउँपालिका वडा नं. १ मा पर्ने गुप्तादह पर्यटकीय सम्भावना बोकेको ठाउँ हो।
समुन्द्र सतहबाट ३६ सय मिटर उचाईमा रहेको गुप्तादहबाट आँखै अगाडि सिस्ने हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।
ठूलो गुप्ता र सानो गुप्ता दह गरि दुई वटा दहमध्ये सिस्ने हिमललाई सानो गुप्तादहबाट छर्लङ्ग देख्न सकिन्छ। ठूलो गुप्तादह गहिरो र ठूलो हुनुका साथै ताल वरिपरि धुपीका रूखहरुले गर्दा अतिनै राम्रो देखिन्छ।
यस ठाउँ वरिपरि ठूलो सिस्ने, ओखरेनी, दत्तकुनालगायत आसपासका गाउँबाट बर्खायाममा गाई, भैंसी, भेडाबाख्राको गोठ लग्ने गर्दछन्।
पहिले पहिले साउन पूर्णिमाको दिन दहीले हानाहान गर्ने मेला लाग्ने यहाँ अहिले त्यो पर्व लोप भइसकेको रहेछ।
गाई भैंसी धेरैं पाल्ने हुँदा दही पनि प्रसस्त हुने गरेकोले गाउँबाट युवा युवतीहरू दही हान्ने पर्व मनाउन गुप्तादह पुग्ने गर्थे। तर अहिले गाई भैंसी पनि धेरैं नपाल्ने हुँदा यो पर्व पनि क्रमश लोप हुँदै गएको रहेछ।
यहाँबाट सिस्ने हिमाल लगायत आसपासका हिमाल, सुन्दर गाँउहरू सजिलै अवलोकन गर्न सकिन्छ। प्रचार प्रसारको अभावमा परयटकीय गतिविधिको प्रचुर सम्भावना रहेर पनि ओझेलमा परिरहेको छ।
कसरी पुग्ने?
रूकुमकोट बाट ३० मिनेट बाइकमा र त्यहाँबाट १ घण्टाको पैदल यात्रापछि नायगाट पुगिन्छ। त्यहाँबाट १ घण्टा उकालो लागेपछि दतकुना गाउँ आइपुग्छ। त्यहाँबाट उकालो लाग्दै फुर्का, नाङना, काल्दारहुँदै गुप्ता दह पुगिन्छ। यस्तै ओखरेना गाउँबाट पनि सजिलै पुग्न सकिन्छ।
हेर्नुहोसे तस्बिरहरू