सिन्धुपाल्चोकबाट पहिलो पटक गाङछेँपो (६,३७८ मिटर) हिमाल आरोहण हुने भएको छ।
इटालीको प्याराक्लाइम्बिङ टोलीका विश्व च्याम्पियन सिमोने साल्भानिनि र सगरमाथा आरोही तथा अन्तर्राष्ट्रिय माउन्टेन गाइड लुका मोन्टानारी र डी.एमिलिया अलेसेन्ड्रो, डेला मुरा मार्कोसहित नेपाली आरोहीको एक टोली आरोहणको लागि प्रस्थान गरेको छ।
दिगो पर्यटनद्वारा स्थानीय समुदायको भविष्यको विकास गर्ने लक्ष्यसहित उक्त हिमालको आरोहण गर्ने योजना अनुसार आरोहण दल शनिबार प्रस्थान गरेको गरिमा भोयज टुर्स एण्ड ट्राभलका संस्थापक रवीन्द्र आर्यालले जानकारी दिए।
गरिमा भोयज र न्यु भिजन नेपाल संस्थाले संयुक्त रुपमा सुरु गरेको ग्रामीण विकास र दिगो पर्यटनको परियोजनालाई विश्वसामु ध्यानाकर्षण गराउने उद्देश्यले आरोहण गर्न लागेको हो।
इटालीस्थित एसएटीको प्राविधिक सहयोगमा स्थानीय निकायले विकास गरेको मेलम्ची, पाँचपोखरी र हेलम्बु पदमार्ग क्षेत्रलाई सन् २०२४ सम्म दिगो गन्तव्यको रूपमा प्रमाणिकरण प्राप्त गर्ने संस्थाले लक्ष्य लिएको छ।
संयुक्त राष्ट्र संघका प्रवक्तासमेत रहेका दृष्टिविहीन खेलाडी साल्वाग्निनको सहभागिताले यो अभियानलाई थप अर्थपूर्ण रुपमा हेरिएको छ।
उनले हासिल गर्ने अनुभव र सफलता अन्य आरोहीभन्दा फरक दृष्टिकोणबाट अनुभव बाढ्न सक्ने आयोजकले विश्वास लिएको छ।
आरोहण दलमा इटालीयन टोलीसँग टिम लिडर रवीन्द्र आर्यल, न्यु भिजन नेपालका अध्यक्ष अशोक शर्मा भट्ट, विश्वको ८ हजार मिटरको १४ वटै हिमाल दुई पटक आरोहण गरेका विश्वप्रसिद्ध नेपाली माउन्टेन गाईड सानु शेर्पा, ह्योल्मो समुदायकी पहिलो सगरमाथा आरोही कान्छी डोल्मा ह्याल्मोलगायत नेपाली आरोही लालबहादुर वाईबा, रामकाजी तिवारी, सञ्जिव गुरुङ र अन्य सहयोगी दलको सहभागिता हुनेछ।
गाङ्छेँपो हिमाल आरोहणको अभियान गरिमा भोयजले गरेको हो भने सम्पूर्ण ग्राउन्ड ह्याण्ड्लिङ तथा आरोहण प्राविधिक सहयोग माउन्टेन गाइड एसोसिएसन अफ नेपाल (मोगन)ले गरेको छ।
आरोहण टोलीमा विश्वप्रसिद्ध र शीर्ष नेपाली पर्वतारोही गाइडहरू समावेश छन्। यो आरोहण अभियान सफल हुनेमा आफू विश्वस्त रहेको गाङछेँपो हिमाल आरोहण टोलीका संयोजकसमेत रहेका मोगनका अध्यक्ष सञ्जिव गुरुङले बताए।
गाङछेँपो हिमाल नेपालको हिमालय क्षेत्रको जुगल पर्वत शृङ्खलामा पर्छ। यो रसुवा जिल्लामा अवस्थित छ। गाङछेँपो उर्केनमाङबाट करिब ३.७ किलोमिटर पश्चिममा र गञ्जला चुलीबाट १४.४ किलोमिटर पूर्वमा पर्छ। ६,३७८ मिटरको उचाइको हिमाल लाङ्शिशारीबाट ६.६ किलोमिटर दक्षिण-पश्चिममा पर्दछ।
गाङछेँपो हिमाल काठमाडौंदेखि नजिक रहेकोले आरोहणको लागि राम्रो व्यवासयिक सम्भावना बोकेको चुली हो।
हिमालको सफल आरोहण पश्चात विश्वभर प्रचारप्रसार भई गतिलो पर्यटनमा आधारित टुरिजम प्रडक्ट हुनेसमेत आयोजकले आशा लिएका छन।
शुक्रबार नेपाल पर्वातारोहण संघको वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले आरोहण टोलीलाई शुभकामनासहित संघको झण्डा हस्तान्तरण गरेर बिदाई गरेका छन्।
गरिमा भोयजको पहल गरिएको आरोहण अभियानलाई इटालीको एक प्रतिष्ठत मोन्टुरा आउटडोर कम्पनीद्वारा सहयोग गरेको छ। त्यस्तै अभियानलाई पाँचपोखरी थाङपाल गाउँपालिका, नेपाल पर्वातोरहण संघ नेपाल, मोगानलगायत विभिन्न व्यक्ति तथा संघ संस्थाको साथ रहेको छ।
आरोहण टोलीको रुट :
काठमाडौदेखि मेलेम्चीहुँदै भोटाङसम्म गाडीमा यात्रा। त्यसपछि टुपी, डाँडा, नोस्याङपाटी, पाँचपोखरी, छ्याक्साल, ल्याङसिङ भ्याली हुँदै दक्षिण वेसक्याम्पसम्म पैदलयात्रा।
वेसक्याम्पबाट (४८०० मिटर) बाट आरोहण सुरू हुनेछ, जहाँबाट आरोहण गर्ने ११ जनाको टोलीले करिब ७ दिनमा चुचुरो टेक्ने योजना बनाएका छन्।
यसैबीच पाँचपोखरी थाङ्पाल गाँउपालिकाले पहिलो पटक गाङ्चेम्पो हिमाल आरोहण गर्न आउने ईटालियन पर्वतारोहीलाई शनिबार स्वागत गरिएको छ। गाँउपालिकाको प्रवेशद्धार खाल्डे खोलामा गाँउपालिका अध्यक्ष,उपाध्यक्ष,कार्यपालिका सदस्य, कर्मचारी र स्थानियको उपस्थितिमा स्वागत गरिएको हो।
६३७८ मिटर उचाईमा रहेको गाङ्चेम्पो हिमाल १० दिन देखि १२ दिन सम्म आरोहण गरि टोलि फर्किने पाँचपोखरी थाङ्पाल गाँउपालिका पर्यटन तथा प्रर्वद्धनका सदस्य सचिव मुकुन्द पाण्डेले बताए।
सदस्य सचिव पाण्डेले पहिलो पटक पाँचपोखरी पदमार्ग हुँदै जाने १५ जनाको टोलीमध्ये ७ जनाले हिमाल आरोहण गर्ने र बाँकी बेस क्याम्पमा रहेर पर्वतारोहीलाई सहयोग गर्ने पनि बताए ।